हिपमत डटकम

शुक्रबार, मंसिर १९, २०७७ || 582  पटक पढिएको

कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा तीन करोड रुपैयाँको चलखेल भएको पाइएको छ ।

अस्पतालमा एचडीयू (हाई डिपेन्डेन्सी युनिट) सञ्चालन तथा जडानका लागि सामग्री खरिदको ठेक्का सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट सप्लायर्सलाई पार्न तीन करोड रुपैयाँ बढी कबोल गरेको प्रस्ताव स्वीकृत गरिएको छ ।

देशभर ३५०० एचडीयू सञ्चालन गर्न भन्दै संघीय सरकारले अस्पतालहरु तोकेको थियो । जसमध्ये विराटनगरको कोशीमा एचडीयू सञ्चालनका लागि संघीय सरकारले ९ करोड बजेट विनियोजन भएको छ ।

बजेट आएलगतै प्रदेश १, सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालय, धनकुटाले मेडिकल उपकरण खरिदका लागि कात्तिक २८ गते सूचना निकालेको थियो । इलेक्ट्रोनिक बिडिङमार्फत तीन सप्लायर्स छनोट भएका छन् ।

तर स्वास्थ्य निर्देशनालयले सबैभन्दा धेरै कबोल गर्ने सप्लायर्स ‘हस्पिटेक इन्टरप्राइजेज’सँग रातारात सम्झौता गरेको पाइएको छ । हस्पिटेक इन्टरप्राइजेज नेकपा निकट मेडिकल सप्लायर्स विशाल पण्डित समूहको कम्पनी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राजनीतिक नेतृत्वसँग पहुँचका भएको यो समूहले कोभिड कालका स्वास्थ्य सामग्री आपूर्तिमा ठेक्का हात पार्दै आएको छ ।

कोशी अस्पतालमा दुईवटा कम मूल्य प्रस्ताव गर्ने कम्पनी छाडेर ३ करोड रुपैयाँ बढी कबोल गरेको हस्पिटेकलाई ठेक्का दिइएको छ । अनलाइनखबरलाई प्राप्त कागजपत्र अनुसार टेण्डर प्रतिस्पर्धामा सहभागी निक्की फर्मा डिस्टिब्युटरले ५ करोड १ लाख ८७ हजार ७६३ र जिआईएच हेल्थ केयर प्रालीले ५ करोड ४६ लाख ८० हजार ७०० रुपैयाँ कबोल गरेको थियो ।

तर त्यही कामका लागि ८ करोड २९ लाख १९ हजार ४०० रुपैयाँ कबोल गरेको हस्पिटेक इन्टरप्राइजेज, तीनकुने काठमाडौंलाई छनोट गरेर सम्झौता गरेको पाइएको छ । ‘हामीले त सम्झौता गर्‍यौं, अब सामान आउँछ’ स्वास्थ्य निर्देशक चन्द्रदेव मेहताले भने, ‘प्राविधिक समितिको सिफारिस अनुसार सप्लायर्स छनोट भएको छ ।’

सार्वजनिक खरिद ऐनअनुसार पनि न्यूनतम मुल्य कबोल गर्ने कम्पनीले ठेक्का पाउनुपर्ने हो । कुनै कारणले त्यो कम्पनीको प्रस्ताव अस्वीकृत भयो भने दोस्रो कम मूल्य कबोल गर्ने कम्पनीमा जानुपर्छ । तर स्वास्थ्य निर्देशनालयले ३ करोड २८ लाख रुपैयाँ बढीको बोलपत्र पेश गरेको हस्पिटेकसँग सम्झौता गरेको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय का अधिकारीहरु पनि ‘टेन्डर प्रक्रिया र छनोटमा हतार हतार गरेर चलखेल गरिएको बताउँछन् । ‘स्वास्थ्य सामाग्री खरिदमा सिधै तीन करोड रुपैयाँ चलखेल भएको प्रष्ट देखिन्छ’ एक अधिकारीले भने ।

क्षेत्रीय निर्देशक मेहता भने प्राविधिक समितिमार्फत आएको रिपोर्टका आधारमा बढी शुल्क पेस गर्नेलाई जिम्मा दिएको तर्क गर्र्छन् । सामाग्रीको स्पेसिफिकेसनका आधारमा महंगो मूल्य पेश गर्ने छनोटमा परेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!