हिपमत डटकम

मंगलबार, मंसिर १६, २०७७ || 648  पटक पढिएको

ललितपुर महानगरपालिकाले काठमाडौँ भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुखसँगको सल्लाह र सुझावपछि मात्र विद्यालय खोल्न उपयुक्त हुने जनाएको हो ।

जाडो समयमा कोभिड भाइरस बढी समय बाँच्छ भन्ने भनाइ रहँदा यसको असर विद्यार्थीमा नपरोस् भनी सो बैठकको छलफलपछि कसरी र कहिले विद्यालय खोल्न उपयुक्त हुन्छ, त्यसै गरिने महानगर प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, “काठमाडौँ उपत्यकाका नगरप्रमुखसँग छलफल गरेर विद्यालय खोल्दा सबैमा एकरूपता पनि आउनेछ ।”

अभिभावक र सम्बन्धित विज्ञको सकारात्मक सुझावपछि सही समयमा विद्यालय खोलिने भएको महानगरपालिकाका शिक्षा शाखा उपसचिव महेन्द्रबहादुर क्षेत्रीको भनाइ छ । महालक्ष्मी नगरपालिकामा कोरोना जोखिम अझै रहँदा तत्काल विद्यालय खोल्ने अवस्था नरहेको शिक्षा शाखा प्रमुख सुनिता योङहाङले बताइन्।

गोदावरी नगरपालिकाले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत कात्तिक २० गते निर्णय गरेको विद्यालय सञ्चालन कार्याढाँचा, २०७७ मा उल्लेखित प्रावधानलाई पूर्णपालना गर्दै तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी पठनपाठन गर्ने र गराउने भनी अनुरोध गरिसकेको शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्यायले बताए । उनले भने, “कम विद्यार्थी भएका विद्यालयमा मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गर्न लगाउने, सम्भव भएका विद्यालयमा वैकल्पिक प्रणाली अपनाउने र सम्भव नभएका विद्यालयमा उपयुक्त सिकाइ विधि पालना गर्नेछाँै ।”

दक्षिण ललितपुर वाग्मती गाउँपालिका शिक्षा समिति बैठकले सम्भव भएका कुरालाई पालना गरेर अघि बढ्न आग्रह गरिसकेको शिक्षा शाखा प्रमुख शेषकान्त पौडेलले बताए। महाँकाल गाउँपालिकामा विद्यालय खोल्ने निर्णय भइसकेको छैन । मन्त्रालयले जारी गरेको निर्देशिकाबमोजिम आफ्नो अनुकूलताअनुसार विद्यालय खोलिने भएको शिक्षा शाखा प्रमुख ओमप्रसाद जोशीले बताए ।

कोञ्ज्योसोम गाउँपालिकामा विद्यार्थी सङ्ख्या र कक्षाकोठाअनुसार अध्ययन र अध्यापनलाई अघि बढाइरहेको शिक्षा शाखा प्रमुख विष्णुप्रसाद आचार्यले बताए । उनले भने, “हामीले सम्भव भएका विद्यालय कहीँ बिहान, कहीँ दिउँसो र कुनै स्थानका विद्यार्थीलाई दुईदेखि तीन घण्टा मात्र भए पनि सिकाइरहेका छौँ ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!