ईरानका शीर्ष परमाणु वैज्ञानिकको हत्यामा रिमोट कन्ट्रोलबाट चल्ने मेसिन गन प्रयोग भएको अर्धसरकारी फार्स न्युज एजेन्सीले आइतबार दाबी गरेको छ । मोहसिन फख्रीजादेहको शुक्रबार तेहरानको पूर्वी भागमा हत्या गरिएको थियो ।
ईरानका शीर्ष अधिकारीहरुले उनको हत्यामा इजरालको हात रहेको आरोप लगाएका छन् । शीर्ष नेता आयातोल्लाह सैयेद अली खामेनीले उनको हत्याको बदला लिने चेतावनी दिएका छन् ।
मोहसिनको हत्याबारे फरक–फरक विवरणहरु आइरहेका छन् । आइतबार फार्स न्यूजमा प्रकाशित रिपोर्टका अनुसार उनी आफ्नो पत्नीसँग बुलेटप्रुफ कारमा तीन सुरक्षाकर्मीका साथमा यात्रा गरिरहेका थिए । उनको कारमा गोली लागेको आवाज आएपछि उनी कारबाट त्यसको जाँच गर्न उत्रेका थिए ।
उनी कारबाट उत्रिने बित्तिकै त्यहाँबाट १५० मिटर टाढा रहेको निसान कारबाट रिमोटबाट नियन्त्रित मेसिन गनबाट उनीमाथि गोल प्रहार भएको थियो । उनलाई कम्तिमा तीन वटा गोली लागेको बताइएको छ । त्यस्तै, उनको बडीगार्डलाई पनि गोली लागेको छ । समाचार एजेन्सीका अनुसार गोलीबारी लगत्तै निसानकार विष्फोट भएको थियो । उक्त हमला तीन मिनेटसम्म चलेको थियो ।