जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा विभिन्न माग राख्दै २८ दिनदेखि आमरण अनसनमा बसेका कर्मचारीले शनिबार ३ बुँदे सहमतिपछि अनशन तोडेका छन् ।
आमरण अनसनमा बसेका मेडिकल कलेजका कर्मचारीद्वय जानकीशरण यादव र कुलदीप साहलाई जुस खुवाएर अनशन अन्त्य गराइएको हो । अनशन तोडिएसँगै आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादवले जानकारी दिए ।
जानकी मेडिकल कलेज र कर्मचारीहरुबीच भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय धनुषामा भएको दुईपक्षीय सम्झौता पालना नभएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए ।
आन्दोलन अवधिमा गरिएको सम्पूर्ण कारवाही, निलम्बन आदि फुकुवा गर्ने सहमतिसमेत भएको यादवले जानकारी दिए । त्यस्तै कलेज र कर्मचारीबीचको समस्या समाधान गर्न दुबै पक्षबाट २–२ जना प्रतिनिधि र धनुषा जिल्लाका स्वास्थ्यकर्मीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्षहरु सम्मिलित कार्यदल मंसिर १७ गतेभित्र गठन गरी सम्पूर्ण समस्याबारे छलफल गरी निराकरण गर्ने समेत सहमति भएको उनले जनाए ।
कलेजका कर्मचारीको विगत ६ वर्षदेखिको सञ्चय कोष, ५ वर्षको दसैँ खर्च र नियमित तलबभत्ता दिनुपर्ने लगायतका मागहरु राख्दै एक महिनासम्म आन्दोलनस्वरुप अस्पतालमा धर्ना दिएका थिए । यसअघि भदौ १५ गते उनीहरुले कलेजको शैक्षिक प्रशासनमा तालाबन्दी र आकस्मिक सेवासमेत ठप्प पारेका थिए ।
माग पूरा गर्नेतर्फ अस्पताल प्रशासनले चासो नदिएको र आन्दोलनरत कर्मचारीमाथि उल्टै कारवाही गर्न थालेको भन्दै यादव र साह आमरण अनशनमा बसेका थिए ।