नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज शनिबार बस्दैछ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रस्ताव ल्याउँदैछन् । ओली ल्याउने प्रस्तावलाई यसअघि कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनको ‘काउन्टर प्रस्ताव’का रूपमा समेत हेरिएको छ । पार्टी विवाद उत्कर्षमा पुगेका बेला बस्न लागेको बैठक र दुई अध्यक्षका फरक प्रस्तावका कारण शनिबारको बैठकलाई यसका नेता कार्यकर्ताले विशेष चासोका साथ हेरेका छन् ।
चासो यसअर्थमा कि ओलीले ल्याउने प्रस्ताव कस्तो होला र त्यो प्रस्तावले पार्टीको विभाजनको रेखा कोरिएला या मेटाउला ? यसअघिको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनलाई ‘आरोप पत्र’को संज्ञा दिँदै ओलीले फिर्ता गर्नुपर्ने बताएका थिए । त्यति मात्रै होइन उनले आफूमाथि आफ्नो राजनीतिक जीवनकालमै गम्भीर आँच आउनेगरी प्रतिवेदन आएको भन्दै यदि ती आरोप पुष्टि भए एकैठाउँ बस्न नसक्ने मङ्सिर ३ गतेको बैठकमै बताइसकेका छन् ।