काठमाडौं / सत्तारुढ नेकपामा सबैभन्दा अस्थिर पात्र उपाध्यक्ष वामदेव गौतम हुन् । २०५४ सालमा तत्कालीन एमाले फुटाएर माले गठन गरेका उनी अहिले केन्द्रविन्दुमा छन् ।
कहिले खुमलटार त कहिले बालुवाटारको पक्षमा अभिव्यक्ति दिँदै आएका गौतम पछिल्लो समय प्रचण्ड माधव नेपाल समूहमा थिए । तर, शनिबारदेखि उनले आफूलाई एकाएक तठस्थ बनाएका छन् ।
जबजब वामदेवले आफूलाई तठस्थ बनाउने गर्छन् तबतब बालुवाटारमा खुसीको माहोल सुरु हुन्छ । किनभने गत असारमा उनले तठस्थता नदेखाएको भए प्रधानमन्त्री केपी ओलीको कुर्सी ढलिसक्थ्यो ।
त्यसबेला पनि ओली सचिवालयमा अल्पमतमा परेका थिए । अहिले पनि ओली अल्पमतमा छन् । मंसिर १३ गते बस्ने सचिवालय बैठकअघिसम्म ओलीले आफूलाई विन विन पोजिसनमा लगिसक्ने आकलन गरिएकै बेला वामदेवले शनिबार दाङ पुगेर आफू कुनै गुटमा नरहेको, सधैं एकताको पक्षमा रहेको र पार्टी नफुट्ने अभिव्यक्ति दिए ।
वामदेवको यो अभिव्यक्तिले खुमलटार र कोटेश्वर रिसाएको छ भने बालुवाटारमा खुसीको माहोल छाएको छ । वामदेव फेरि पनि ओलीको ललिपपमा फस्ने अनुमान गरिएको छ । शनिबार रातिदेखि नै ओली पक्षका नेताले वामदेवले बोलेका कुरालाई समर्थन गर्न थालिसकेका छन् ।
धेरैले वामदेव उपप्रधानमन्त्री बन्न सक्ने आकलन पनि गरेका छन् । किनभने सर्वोच्च अदालतले उनलाई मन्त्री बन्न बाटो खुला गरिदिएको छ । यदि वामदेव फेरि ओली गुटमा लागे भने नेकपा फुट्दैन नै महाधिवेशनसम्म ओली पक्षले प्रचण्ड र माधव नेपाल समूहलाई पेलेरै जाने निश्चित छ ।