बिहिबार, मंसिर ०४, २०७७ || 1326  पटक पढिएको

‘सर्वजनहिताय सर्वजनसुखाय’ जहाँ आस्था हुन्छ त्यहाँ विश्वास हुन्छ । संशय र आशंका हुँदैन । छठका सन्दर्भमा यो दृष्टिकोण स्पष्टतः दृष्टिगोचर हुन्छ । नकारात्मक सोचलाई छोडेर सकारात्मकता तिर अग्रसर हुनु छ्ठपर्वको विशेषता हो, जो हाम्रो संस्कारको प्रतिक बनेको छ । पहिले अस्ताउँदो र पछि उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउनु मिथिलाञ्चलको साँस्कृतिक परम्परा रहि आएको छ । यस पर्वमा अस्ताउँदो सूर्यले विगतको स्मरण गर्दै आत्म मूल्यांकन गर्न र उदाउँदो सूर्यले सुन्दर र स्वस्थ्य भविष्यको निर्माणमा जुट्न अभिप्रेरित गर्ने विश्वास गरिन्छ । यो पर्वलाई स्वास्थ्य, निरोगिता, सन्तान प्राप्ति, कल्याण तथा परिवारको उन्नति र रक्षाको लागि श्रद्धापूर्वक मनाइन्छ ।

बहु साँस्कृतिक, बहु भाषिक हाम्रो देशमा विविध साँस्कृतिक अवयवहरुले समग्र देशलाई एकताको सूत्रमा आबद्ध गर्नुका साथै राष्ट्रियता प्रवद्र्धनमा पनि निर्णायक भूमिका खेल्न सक्ने छन । त्यस मध्ये एउटा प्रतीकको रुपमा छठलाई पनि लिन सकिन्छ । कुनैबेलासम्म छठ तराईक्षेत्रका वा मधेसीहरुको मात्र पर्व हो, भन्ने कुरा अब पुरानो भै सकेको छ । छठ पर्व पछिल्लो कालखण्डमा एउटा भूगोलमा मात्र सीमित नरही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको भइ सकेको छ । पछिल्लो दिनमा आफ्नो महत्वका करण यो पर्व विश्वका प्रायः सबै क्षेत्रमा विस्तारित भइरहेको छ । नेपालकै कुरा गर्ने हो भने छठ पर्व जाति समुदाय वा भौगोलीक क्षेत्रमा मात्र सीमित नरही सम्पूर्ण नेपालीको आस्थाको पर्व भई सकेको छ । अहिले कुनै त्यस्तो नेपाली भु–भाग वा नेपाली छैन, जो छठ पर्वबाट अछुतोहोस् । त्यसैले अब यो पर्व राष्ट्रिय पर्वमा रूपान्तरित भइ सक्यो भन्दा फरक पर्दैन ।

शास्त्रीय मान्यता अनुसार चार दिवसीय अनुष्ठानको रुपमा मनाइने यो पर्व प्रत्येक वर्ष शुक्लषष्ठी (प्रदोषषष्ठी) को साँझ र सप्तमीको बिहान सूर्यलाई अर्घ दिएर मनाइन छ । सधैँ जस्तै यस वर्ष पनि यो पर्व बुधवार नुहाई धुवाई अर्थात शारीरिक मानसिक वा वैचारीक रुपले (शुद्ध) चोखो हुनुबाट प्रारम्भ भएको छ । विहिवार वेलुकी व्रतालु महिलहरुद्वारा छठ व्रतको अनुष्ठान स्वारुप विशेष पुजा अर्चना गरी प्रसाद ग्रहण गरेर व्रत प्रारम्भ हुन्छ । शुक्लषष्ठी (प्रदोषषष्ठी) अर्थात यस वर्ष मङसिर पाँच गते शुक्रवार अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिइन्छ भने शनिवार विहान उदाउँदो सूर्यलाई प्रातःकालीन अर्घ दिई, छठीमईयाको कथा पश्चात व्रतको समापन हुन्छ ।

छठ पर्व अन्य धार्मिक कार्य भन्दा पृथक महत्वको रहेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने यो पर्व आज एउटा खास भूगोलमा सीमित नरही देशभरी तराई–मधेस देखि पहाड, हिमाल सम्म मनाउनेहरुको संख्या बढ्दो छ । विगतमा विभिन्न दायित्व, पेसा, रोजगारीका सन्दर्भमा देशका विभिन्न ठाउँमा पुगेका मैथिली, भोजपुरी, अवधी भाषीले आफ्नो सुविधा अनुकूल यथा स्थानमा रहि यो पर्व मनाउन थाले देखि यो पर्व बिस्तारित हुँदै गएको हो ।

वि.सं २०२०—३० को दशक तिर उपत्यकाको कीर्तिपुर, बल्खु, कालिमाटी, कुलेश्वर क्षेत्रमा सामान्य ढंगले मनाउने गरिएको यो पर्व पछिल्ला वर्षमा पूरै उपत्यकामा विस्तार हुन पुगे । यो पर्व प्रतिको स्वीकारोक्ति र यसको साँस्कृतिक एकीकरणको क्षमता स्वतः स्पष्ट हुन आउँछ । यसै आधारमा पछिल्लो समयमा यो पर्व राष्ट्रिय एकता निर्माणको एक महत्वपूर्ण प्रतीक बन्न पुगेको छ भन्दा अतियुक्ति हुँदैन ।

वस्तुतः यसलाई ग्रामीण र कृषि पर्व पनि भन्न सकिन्छ । यसमा प्रसादको रुपमा चढाइने सामग्रीहरुको संख्या सत्तरी पु¥याउन सकिएन भने गम्हरी धानको चामल चढाउँदा पुग्छ भन्ने गरिन्छ । यसमा चढाइने प्रत्येक सामग्रीहरु कृषक कर्मशीलताको प्रदर्शन गरिरहेको हुन्छ । एउटै पोखरी वा जलाशयको चारैतिर विभिन्न जात–जाती धर्म समुदायका व्यक्तिले घाट बनाई अर्घ दिने भएकोले यो पर्व छुवा–छुतबाट टाढा रहेको पनि सन्देश दिन्छ । आफुले गरेको भाकल अनुरुप कतिपय इस्लाम, बौद्ध, इस्साई धर्मावलम्बीले प्रकृति पूजका रुपमा छठ पूजामा सहभागी भै अर्घ दिने गरेको पाइन्छ । यसको पूजा र उपासनामा कसैलाई निषेध गर्दैन, कसैलाई भेदभाव गर्दैन । छठ घाटमा मधेसी मात्रको उपस्थित हुँदैनन् । हिन्दू मात्रको उपस्थित हुँदैनन् । सम्पन्न, धनी वा हुने खाने मात्रको सहभागीता हुँदैनन् । जातपातका आधारमा छुवाछुत पनि कतै देखिँदैनन् । छठ पर्वप्रतिको आस्थामा कसैमा विभेदको अनुभूति हुँदैन । यस अर्थमा हेर्ने हो भने यस पर्वमा सबैले आत्म सम्मान र प्रतिष्ठा सहित जीवनयापन गर्न सकून भन्ने सन्देश रहेको बुझिन्छ । छठ पर्वको सबै पक्षलाई अध्ययन र विश्लेषण गर्ने हो भने सारमा यही कुरा बुझ्न सकिन्छ कि छठ विभेद रहित अनेकतामा एकताको पर्व हो । छठ व्रतको उल्लेख्य पक्ष यसको समय शैली र रमझम पनि हो । तर, हालका दिनमा अनावश्यक तडक–भडक थपिनाले यो पर्व महगो हुँदै गएको छ । दशै देखि नै धन्काईने लोकगीत मिथिला र मधेस क्षेत्रका गाउँ शहर गुञ्जायमान हुने मात्र होइन, छठको महत्व र गीतको व्यापार पनि बढाउने गर्छन । यहाँ सन्दर्भ छठको छ, यसैमा केन्द्रित हुनु उचित हुन्छ ।

सृष्टिको उषाकाल देखि नै भगवान सूर्यको पुजा–आजा गर्ने गरिन्छ । यो पर्व कहिले देखि मनाउन सुरु गरियो त्यसको यकिन गर्न नसकिए पनि व्यवहारमा मैथिल सभ्यताको प्रारम्भ सँगै यो पर्व प्रचलनमा रहेको विश्वास गरिन्छ । सृष्टिका सबै जीवजन्तु, र वनस्पति संरक्षक तथा प्रतिपालक सूर्य नै हुन् । सृष्टि चक्रको संचालन सूर्यबाट नै हुन्छ । तसर्थ सूर्यको पुजा संसारका प्रायः सबै देशमा प्राचिनकाल देखि नै हुँदै आएको छ । वेद, उपनिषद, पुराणहरुमा बिस्तृत रुपमा सूर्यको माहत्तमको वर्णन गरिएको पाईन्छ । उर्जाका मुल स्रोतका रुपमा रहेको सूर्य ज्योतिषी तथा चिकित्सकहरुले आफ्नो अनुसंधानमा यसको उपयोग मानव कल्याणको लागि धेरै भन्दा धेरै गर्ने प्रयासमा निरन्तर लागिरहेका छ्न । मत्स्यपूराणमा ‘आरोग्यआस्क्ररोदिच्छते’ अर्थात सूर्यबाट आरोग्यताको मनोकामना पुरा हुने उल्लेख छ । स्कन्दपूराणका अनुसार श्रध्दा–भक्ति पुर्वक भगवान सूर्यको पुजा गर्ने व्यक्ति निरोगी रहन्छ । पदमपूराणमा सूर्य उपासनाबाट प्रायः सबै बिमारीहरु नास हुने जिकिर गरिएको छ । त्यस्तै ऋग्वेदमा उदयकालीन र अपराह्नकालीन सूर्यको उपासनाले सु–स्वास्थ्य, दीर्घ जीवन र सम्पन्नताका लागि छ्ठ पर्व मनाइने परम्परा रहदै आएको छ । आज छठ पर्वले राष्ट्रिय पर्वको मान्यता प्राप्त गरि सकेको छ । साम्बा पुराणका अनुसार सूर्यको उपासना र अराधनाको फलस्वरूप साम्बाले पिता कृष्ण तथा महर्षी दुर्वासाको श्रापबाट मुक्त भएर कुष्ट रोग रहित कञ्चन शरीर प्राप्त गरेको मिथक संग छठ पर्वको प्रारम्भिक कथा जोडिदै आएको छ । श्रापबाट पीडित कवि मयुरभट्टले पनि सूर्यको उपासनाबाट स्वस्थ र सुन्दर शरीर पुनः प्राप्त गरेको कथा संग जोडिएर छठ पर्व प्रारम्भ भयेको जनविश्वास पनि छ । महाभारतकालमा द्रौपदी सहित पाण्डवहरु अज्ञात वासमा रहँदा गुप्तवास निर्विघ्न सम्पन्नहोस् तथा आफ्नो राज्य पुनः प्राप्तहोस् भनी सूर्यदेवलाई अर्घ दिएका थिए । तसर्थ यसको उत्पती स्थल बिराटनरेशको राजधानी बिराटनगर हो भन्ने उक्ति रहेको छ । यसैगरि अग्नी मुनिको पत्नी अनुसुईयाले आफ्ना पतिको प्रेम तथा अटल सौभाग्यको लागि यो व्रत गरेकी थिइन । ब्रह्मववैर्त पुराणमा सूर्य संग षष्ठी तिथिको सम्बन्धको उल्लेख छ । षष्ठी अपभ्रंस भएर छठ भएको हुनाले यस पुजाको नाम छ्ठ हुन गएको मानिन्छ । ब्रह्म पुराण अनुसार प्रकृति देवीले दुर्गा, लक्ष्मी, सरस्वती, राधा र सावित्री गरि आफूलाई पाँच भागमा बाडेकी छिन । प्रकृतिको छठौ अंश षष्ठीलाई मानिएको छ । मैथिल कोकिलकवि विद्यापतिको वर्षकृत्यमा सूर्यष्ठीको चर्चा प्रतिहार षष्ठीको रुपमा गरिएको छ ।

छ्ठ व्रत साँस्कृतिक पर्व हो । यो पर्व सामुहिक रुपमा सार्वजनिक नदि, तलाउमा मनाउने गरिन्छ । जसमा महिलाको मुख्य र पुरुषको सहयोगी भुमिका हुन्छ । सूर्यको आराधना र अर्घ दिई पूजा सम्पन्न गरिने भएतापनी ‘छ्ठपरमेश्वरी’ का रुपमा यसको महिमा गान गरिन्छ । यो व्रत गर्दा विशेष रुपले ध्यान दिइन्छ । षष्ठिको दिनलाई ‘सझीयाघाट, डालापूजा, सन्ध्याअर्घ, सझुका अर्घको संज्ञा दिइएको छ । विशेष धुमधाम सँग मनाइने यस पर्वमा युवा–युवती, बाल–बालिका, बुढापाका सबै विशेष उत्साहका साथ सहभागी हुने गर्छ्न । पुजाका लागि ठकुवा (सखर र पिठोबाट निर्मित विशेष पकवान), भुसवा (कसार) लगायतका प्रसाद सामग्री बनाउन व्रतालु स्वयमको संलग्नता हुन्छ, भने उनलाई सघाउनेहरुले पनि पवित्रा र शुद्धताको यथेष्ठ ध्यान राख्ने गर्छन् । यति सम्म कि छठका लागि बजारमा बेचन राखिएका वस्तुमा व्यापारीहरुले समेत शुद्धतामा पर्याप्त ध्यान दिने गर्छ्न । छठमा चढाउने प्रसाद ठकुवा, कसार, मिठाइ, ज्यामिर, पिँडालु, सुन्तला, केरा, उखु, नरिवल, पान–सुपारी, गेडा–गुडि, सुकमेल, काजु, किसमिस, छोहोडा, मखान, हरियोपात सहितको अदुवा, बेसार, गाजर, मुला, भान्टा, लौकी आदि सामग्रीको जोहो गरिन्छ । उल्लेखित सामग्री नयाँ बासको नाग्लो, कनसुपती (कोनिया), ढक्की, डालो, माटोको भाँडो सरबा, ढकनामा राखिन्छ । संगै कलश, हात्ती, दियो, फूल–पात, सिन्दुर, पिठार राखेर विशेष रुपले सरसफाइ गरि रंगिचंगी ध्वजा पताखा, बिजुलीबत्तिले सजाईएको घाटमा अर्पण गरिन्छ ।

यो पर्वको उपासना विधिको विश्लेषण गर्दैगएमा यो पर्व मूलतः प्रकृति पूजनसँग सम्बन्धित रहेको पाइन्छ । पर्वमनाउने क्रममा जलस्रोत र सम्बन्धित क्षेत्रको शुद्धता र सफाइमा विशेष ध्यान दिइन्छ । यो शुद्धता र सफाइ कार्यले जल जीवन दायिनी हो र यसको संरक्षण र शुद्धता सृष्टिको कल्याणका लागि अपरिहार्य छ भन्ने सन्देश दिन्छ । यस पर्वमा चढाइने वस्तुहरू पनि प्रकृतिमै आधारित हुने गर्छ । यसै गरी यो पर्वको केन्द्रीय पूज्यतत्त्व हो सूर्य । सूर्य शक्ति र उर्जाको स्रोत हो । यस आधारमा यो पर्व शक्तिपर्व पनि हो । यसै ऊर्जाले प्रकृति तथा सृष्टि संचालित हुने गर्छ । ऊर्जा बिना जीवन सञ्चालन हुनै सक्तैन । सूर्य र प्रकृतिले कसै प्रति भेदभाव गर्दैन । यस आधारमा सूर्य प्रति अनुग्रहित हुने पर्वका रूपमा पनि छठपर्वको विशेष महत्व छ । यही कारण हो, यो पर्वले आज झन्डै अन्तर्राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । पछिल्लो समयमा राज्यले यस पर्वको सामाजिक महत्वबोध गरेको छ र एक दिनको बिदा दिने गरेको छ । तर, यो चार दिने पर्व हो र निकै कष्टसाध्य पर्व हो । सरकारले साँझको सूर्य अर्घकालिन बिदा गरेको छ तर यो अपर्याप्त छ, यसमा सहजीकरण गर्दै भावी दिनमा विहानको अर्घका दिन पनि सार्वजनिक विदा हुनु पर्ने आवश्यकता देखिन्छ । नेपालीका सबै चाँडपर्व सहनशीलता र मेलमिलापको वाकालत गर्छ । धार्मिक आस्थाले कसैको कुभलो नगर्ने ज्ञान दिन्छ । त्यसैले खास गरी सूर्य भगवानको उपासना गरिने छठ पर्वको उद्देश्य पनि पृथक छैन । यसले देखाउँछ कि नेपालीका समान उद्देश्यका सबै चाँड–पर्वले सुख, समृद्धि र उज्ज्वल भविष्यको कामना गर्छन् । छठको रौनकले को मधेसी, को पहाडी, सबैलाई छोइ सकेको छ । पहाडीले छठको शुभकामना दिने र प्रति उत्तरमा प्रसादका लागि आमन्त्रण गर्ने चलन गरिने जता सुकै छाइ सकेको छ । छठ यहि अर्थमा पनि बढी भन्दा बढी नेपाली माझ भिज्दै जानसकेको हो । सबै नेपालीले छठ प्रती अपनत्व महसुस गर्न सक्नुको कारण पनि यही हो भन्दा फरक पर्दैन । मानिस–मानिस बिच सेतुको काम गर्ने विभिन्न माध्यम हुन्छन् । धर्म यस्तै एउटा माध्यम हो जसले एक अर्का प्रति आस्था दिलाउँछ । अनि सबैको अस्तित्व स्विकार गर्न सिकाउछ ।

राष्ट्रिय पर्व छ्ठको सन्दर्भमा हामीले जोड दिनु पर्ने मुख्य सन्देश मानवीय एकता र सद्भावको सबाल नै हो । छठ पर्वका लागि जलाशय किनारमा बनाईएका घाटमा लोकगीतको धुनसगै, लहरै बलिरहेको दियो, पानीमा पराबर्तित मनमोहक प्रकाशले सबै धर्म समुदायका मानिसलाई यसरि नै मिलेर, उज्यालो छर्दै समाज नव निर्माणमा लाग्न प्रेरित र आग्रह गरिरहेको छ । जेहोस धर्म, सँस्कृती, रितिरिवाज हाम्रा सम्पदा हुन् । समाज नियन्त्रणका लागि पनि यो अपरिहार्य छन् । यस्ता गहना बचाउँदै तिनको सक्कलिपन विस्तार गर्नु सँस्कृति प्रती सच्चा सम्मान पनि हो । यसले हामीलाई नै समुन्नत बनाउँछ । त्यसैले एक आपसमा मिलाउने, सद्भाव कायाम गराउने, अपराध प्रवृतिलाई निरुत्साहित गराई दयाभाव उत्पन्न गराउने यस्ता धार्मिक पर्वको दिलोजानले संरक्षण र सदुपयोग गर्नै पर्छ । महान पर्व छठको अवसरमा सम्पुर्ण नेपाली जनलाई शुभकामना ।

सुबोध चन्द्र दास ( एस.सी. सुमन)

पुर्ब प्राज्ञ नेपाल ललित कला प्रज्ञा प्रतिस्ठान,

लोक कला विभाग।

[email protected]

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!