घातक कोरोनाभाइरसले संसारको लगभग हरेक कुनामा विध्वंस मच्चाएको छ । हालसम्म भ्याक्सिन उपलब्ध नभएका कारण जोकोही तनावमा छ । संसारभरी यो भाइरसबाट बच्नका लागि लकडाउन गरियो । यस्तो कदमले यो भाइरसको संक्रमण दरमा कमी त आयो तर यसका कारण हज्जारौंको रोजीरोटी गुम्यो । सर्वसाधारण झैं क्रिकेटरमा पनि यो महामारीको भारी असर पर्यो ।
अष्ट्रेलिया, बेलायतलगायतका ठूला देशका क्रिकेटरले त यस्ता समस्याको सामना गर्नुपरेन तर केही साना देशका क्रिकेटर यो महामारीका कारण खेल बन्द भएपछि सडकमा आएका छन् । आज यी देशका खेलाडी क्रिकेट खेल नभएका कारण अन्य काम गर्न बाध्य भएका छन् ।
यस्तै एक घटना नेदरल्याण्डबाट आएको छ । नेदरल्याण्ड क्रिकेट टिमका एक खेलाडी क्रिकेट बन्द भएका कारण डेलिभरी ब्वई बनेका छन् । खेलाडीको नाम पल भ्यान मिकेन हो । पल आफैंले क्रिकेट बन्द भएका कारण आफू उबर इट नामको कम्पनीमा डेलिभरी ब्वईको रुपमा काम गरिरहेको बताए ।
Should’ve been playing cricket today 😏😢 now I’m delivering Uber eats to get through the winter months!! Funny how things change hahaha keep smiling people 😁 https://t.co/kwVEIo6We9
— Paul van Meekeren (@paulvanmeekeren) November 15, 2020
पल भ्यान मिकेनले एक भावुक ट्वीट गरेर आफ्नो समस्या साझा गरेका छन् । उनले ट्वीट गरेर भने, ‘आज क्रिकेट खेल्नुपर्ने थियो । अब म यो जाडोमा उबर इटको डेलिभरी गरिरहेको छु । स्थिती यसरी परिवर्तन हुँदा ठट्टा लाग्छ । हाँसिरहनुहोस् साथीहरु ।’
स्मरण रहोस्, यदि कोरोना नभएको भए १४ नोभेम्बरमा मेलबर्न क्रिकेट ग्राउन्डमा २०२० आइसीसी टी२० वर्ल्ड कपको फाइनल खेलिन्थ्यो । यो टुर्नामेन्टमा नेदरल्याण्डको समूहले पनि भाग लिन्थ्यो । यद्यपि, कोरोना महामारीका कारण यो टुर्नामेन्टलाई स्थगित गरिएको थियो ।