जर्मन बुन्डेस लिगाका चिरपरिचित प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्ड र वायर्न म्युनिखबीचको खेलमा वायर्न विजयी भएको छ।
शनिबार राति भएको लिगको खेलमा वायर्नले ३-२ गोलको जित निकालेको हो।
खेलमा अग्रता भने डर्टमन्डले लियो। पहिलो हाफको अन्तिम मिनेटमा रेउसले गोल गर्दै घरेलु टिम डर्टमन्डलाई अग्रता दिलाए। उनलाई गोल गर्न राफाएल गुरेरोले पास उपलब्ध गराएका थिए।
तर पहिलो हाफको इन्जुरी टाइममै वायर्नले बराबरी गोल गर्न सफल भयो। वायर्नका अलाबाले इन्जुरी टाइमको चौथो मिनेटमा बराबरी गोल गरेका थिए।
दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा वायर्नले खेलमा अग्रता लियो। वायर्नका लागि रोबर्ट लेवान्डोस्कीले ४८ मिनेटमा गोल गरेका थिए।
८० मिनेटमा लिरोए सानेले गोल गरेपछि वायर्न ३-१ गोलले अघि बढ्यो। उनलाई गोल गर्न लेवान्डोस्कीले पास दिए।
८३ मिनेटमा डर्टमन्डका इर्लिङ हाल्यान्डले गोल गर्दै टिमलाई खेलमा फर्काउन कोशिस गरे। तर त्यसपछि कुनै गोल गर्न सकेन।
जितसँगै वायर्न अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। वायर्नले ७ खेलबाट १८ अंक जोडेको छ। १६ अंक जोडेको लाइपजिग दोस्रो स्थानमा झरेको छ। हारसँगै शीर्ष स्थानमा उक्लने मौका गुमाएको डर्टमन्ड १५ अंकसहित तेस्रो स्थानमा छ।