मुलुकका शक्तिपीठमा कोभिड–१९ कारण यस पटक पशुबलि निकै कम हुने भएको छ । कोरोनाको महामारी जोखिमलाई ध्यानमा राखी शक्तिपीठमा परम्परा धान्नबाहेक पशुबलि नहुने भएको हो ।
कोभिड–१९ महामारीका कारण मुलुकका अधिकांश मन्दिरमा नित्यपूजा बाहेक मन्दिरमा नजान सर्वसाधारणलाई अनुरोध गरिएको छ । दशैँ तथा अन्य चाडबाडमा शक्तिपीठ तथा मन्दिरमा गएर पूजाअर्चना गर्ने तथा भाकलअनुसारको बलि चढाउने विभिन्न समुदायमा प्रचलन रहिआएको छ ।
कोभिड–१९ का कारण शक्तिपीठमा घुइँचो र भीडभाड कम गर्ने हेतुले शक्तिपीठमा पशुबलि घटाइएको हो । पशुबलि घटाइएपछि शक्तिपीठमा विकल्पमा कुभिण्डो र नरिवल चढाइने छ । काठमाडौँको हनुमान ढोका र भक्तपुरपुरमा अष्टमी र नवमीका दिन ठूलो सङ्ख्यामा हुँदै आएको पशुवली यसवर्ष परम्परा धान्नमा मात्र सीमित गरिदैँछ ।
हनुमानढोकाभित्रको मूलचोकमा महाअष्टमी र नवमीका दिन ५४ बोका र ५४ राँगाको बली दिने गरिन्थ्यो । दशैँमा पशुबलिको साटो कतिपय स्थानमा कुभिण्डो र घिरौँला चढाउने चलन छ ।
धर्म र संस्कृतिका नाममा महामारी फैलिन गई जनताले दुःखकष्ट भोग्न नपरोस् भन्नका लागि विकल्पमा कुभिण्डो र नरिवल चढाइने हनुमानढोका हेरचाह अड्डाका पुरोहित देवराज अर्यालले जानकारी दिनुभयो । परम्परा र संस्कृतिका रुपमा चलिआएको तलेजुलगायत शक्तिपीठमा पशुबलिकै लागि पनि सरकारले बजेट विनियोजन गर्दै आएको छ ।
यसैबीच, नेपाली सेनाले निशान भगवतीलाई शक्तिस्वरुपाका रुपमा मान्ने हुँदा भगवती र कोतमा बाहेक यस पटक अन्यत्र पशुबलि नदिइने जनाएको छ । त्यस्ता शक्तिपीठ र अन्यस्थानमा पशुबलिको सट्टा नरिवल र कुभिण्डो चढाउने व्यवस्था गर्न लागिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताउनुभयो ।
बडादशैँका अवसरमा आ–आफ्ना घरमा स्थापना गरिएका नवदुर्गा स्थलका अतिरिक्त मुलुकका ठूला शक्तिपीठ भद्रकाली, रक्तकाली, दक्षिणकाली, दन्तकाली,मनकामना, बाग्लुङ कालिकालगायत मन्दिर परिसरमा ठूलो सङ्ख्यामा खसी, बोका, राँगा, हाँस, परेवा तथा कुखुराको बलि दिने परम्परा छ ।