मंगलबार, आश्विन २७, २०७७ || 608  पटक पढिएको

संयुक्त अरब इमिरेट्स (यूएई) सरकारलाई जरिवाना तिर्न नसकेर रोकिएका १७ जना नेपाली श्रमिकलाई नेपाली दूतावासले आइतबार उद्धार गरी स्वदेश पठाएको छ । यूएईको फेल्क्सी फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीबाट जागिर गुमाएर बसेका ३ सय ५८ मध्ये १७ जना आवासीय भिसा समाप्त भएर लागेको जरिवाना मिनाहा भएपछि स्वदेश फर्किन पाएका हुन् ।

नेपाली दूतावासको प्रयासमा यूएई सरकारले ६० हजार दिराम (झन्डै १९ लाख रुपैयाँ) मिनाहा गरिदिएको थियो । ‘जरिवाना तिर्न नसकेर स्वदेश फिर्न सकेका थिएनन् । जरिवाना मिनाहा गरिदिने हाम्रो प्रयास सफल भयो,’ श्रम काउन्सिलर निर्मला थापाले भनिन्, ‘धेरै जरिवाना मिनाहा भयो ।’ ती श्रमिकको जुलाई १२ देखि ‘ओभर स्टे’ बापत दैनिक जरिवाना थपिएको थियो । कम्पनीसँगको सम्झौताअनुसार तलब नपाएपछि उनीहरू गत चैतको पहिलो साता नै फर्किन टिकट काटिसकेका थिए । लकडाउन सुरु भएपछि उनीहरू स्वदेश फर्किन पाएका थिएनन् । सरकारले उद्धार उडानमार्फत स्वदेश पठाउने प्रबन्ध गरेपछि ती कम्पनीमा अलपत्र श्रमिकलाई पालैपालो पठाउन थालिएको थियो । पालो पर्खेर अन्तिम चरणमा आइपुगेका उनीहरूको भने ओभरस्टेबापतको जरिवाना लाग्न थालेको थियो । टिकट प्रबन्ध गरी गत अगस्ट १० मा विमानस्थल पुगेपछि यूएईको अध्यागमन विभागले जरिवाना रकम तिरेपछि मात्रै फर्किन पाइने भन्दै फिर्ता पठाइदिएको थियो ।

उनीहरू जनही १ लाख ३५ हजार रुपैयाँ तिरेर फेल्क्सी म्यानेजमेन्ट कम्पनीमा मजदुरी गर्न यूएई पुगेका थिए । २१ डिसेम्बर २०१९ मा पुगेका प्रेम पुनले दुई महिना २० दिन मात्रै काम गर्न पाए । उनलाई एमबी ह्युमन रिसोर्सेसले क्लिनर कामको लागि मासिक ८ सय दिराम न्यूनतम तलब पाउने गरी यूएई पठाएको थियो । ‘यहाँ त बेसिक तलब ६ सय ५० दिराम रहेछ । पहिलो महिनामा इमिरेट्स कार्डको लागि भन्दै ३५० दिराम काटिदियो । मार्च १५ देखि ड्युटी नै बन्द भयो,’ उनले भने, ‘भर्ना शुल्कको खर्च उठाउन मात्रै ५ महिना लाग्ने स्थिति थियो । दुई महिना २० दिन काम गर्दा ३५ हजार रुपैयाँ आम्दानी भयो । त्यसैबाट खाना रकम जुटाउन पर्‍यो । मेरो टाउकोमा एक लाख २० हजार रुपैयाँ ऋण बाँकी नै छ ।’

विमानस्थलबाट फिर्ता भएपछि सवै कामदारलाई गैरआवासीय नेपाली संघ, यूएईले बसोबासको प्रबन्ध गरेको थियो । यूएई सरकारले ओभरेस्टेबापत लाग्ने जरिवाना रकम सुरुमा छुट दिँदै आएको थियो । पछिल्लोपटक भने छुट दिन रोकेको थियो । साथमा रकम हुने श्रमिकले विमानस्थलमै जरिवाना तिरेर स्वदेश फर्किएका पनि थिए । दूतावासमा पुगेको केसमा मात्रै जरिवाना मिनाहा हुन थालेको हो । रोजगारी गुमेका र करार अवधि सकिएकामध्ये ५० हजार जनाले स्वदेश फर्किन दूतावासमा आवेदन दिएका छन् । हाल मार्च १ भन्दा अगाडि रोजगारी भिसा सकिएकाहरूले नोभेम्बर १७ अघि नै यूएई छोडिसक्नुपर्ने बाध्यकारी नियम छ । उक्त समयसीमाभित्र नफर्के जरिवाना तिर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!