यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविकको विजेता मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।
शेख जायद स्टेडियममा दिल्लीले दिएको १६३ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो ।
मुम्बईको जितमा क्वीन्टन डी कक र सूर्यकुमार यादवले अर्धशतकीय इनिङ्स खेले । दुवैले समान ५३ रन जोडे ।
यस्तै इशान किशनले २८ रन बनाउँदा क्रुनाल पाण्ड्याले नटआउट १२ तथा किरोन पोलार्डले अजिवित ११ रन जोडे । कप्तान रोहित शर्मा ५ रनमै आउट भए ।
दिल्लीका कागिसो रबडाले दुई विकेट लिँदा अक्षर पटेल, रवीचन्द्रन आश्विन र मार्कुस स्टोइनिसले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभर खेल्दा ४ विकेटको क्षतिमा १६२ रन बनाएको थियो ।
दिल्लीका लागि शिखर धवनले अर्धशतकीय पारी खेले । ५२ बल खेलेका उनले ६ चौका र एक छक्कको मद्धतले ६९ रन बनाए । धवनले आईपीएलमा सयौं छक्का पनि पूरा गरे ।
यस्तै कप्तान श्रेयस अय्यरले ४२ रन बनाउँदा अजिन्क्या रहानेले १५ तथा एलेक्स क्यारीले अजिवति १४ रन जोडे । मार्कुस स्टोइनिसले १३ रन जोड्दा पृथ्वी श ५ रनमा आउट भए ।
मुम्बईका क्रुनाल पाण्ड्याले दुई विकेट लिँदा ट्रेन्ट बल्टले एक विकेट लिए ।
जितसँगै मुम्बईले ७ खेलमा १० अंक जोड्दै तालिकाको शीर्ष स्थान बनाएको छ । ७ खेलबाट १० अंक नै जोडेको दिल्ली दोस्रो स्थानमा रहेको छ ।