बुधबार, आश्विन २१, २०७७ || 580  पटक पढिएको

छिनछिनमा आँसु पुछ्दै प्रहरीकै बीच बस्दा पनि तर्सिर्रहेकी छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय चौताराको महिला सेलमा रहेकी उनी मौन थिइन् तर बेलाबेला झस्किरहेकी देखिन्थिन् । गत असोज १५ को घटनाले उनी सम्हालिन सकेकी छैनन् । एक छोरा र एक छोरीकी आमा उनी सामूहिक बलात्कारको सिकार भएकी हुन् । जिल्ला प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार जुगल गाउँपालिका–३, तेम्बाथानकी ती महिलामाथि असोज १५ मा जुगलकै मन्जेमा राति चार जना पुरुषले बोलेरो जिपभित्र सामूहिक बलात्कार गरेको खुल्न आएको छ । बलात्कारअघि उनलाई अपहरण गरिएको थियो । बलात्कृत महिलाले आफन्तको आड पाएपछि मात्रै सोमबार प्रहरीमा जाहेरी दिएकी छन् । त्यस दिन उनी परिवार नियोजनको सुई लगाएर जलबिरेबाट घर फर्किंदै थिइन् । साँझको समय पैदल हिँड्दै गरेकी उनले जसोतसो कात्तिकेमै पुगेपछि बास पाइन्छ भनेर सबैतिर सोधपुछ गरिन् । सबैले कोरोना संक्रमणको त्रासमा बास दिन नमानेपछि उनी मन्जेगाउँ पुगिन् । कुचुती भेगस्थित बाटोमा हिँड्दै थिइन्, एउटा मोटरसाइकल तीव्र वेगमा आयो । मोटरसाइकललाई बाटो छोडिदिएर कुना लागेकी उनलाई दुई युवाले जबर्जस्ती मोटरसाइकलमा राखे । ‘साँझ छिप्पिसकेको थियो । मुख थुनेकाले आफूलाई फुत्काउनै सकिनँ । दुई जनाले मुख थुनेको थुनै गरेपछि बेहोस भएछु,’ उनले भनिन्, ‘होसमा आउँदा मध्यरात भइसकेको रहेछ । एउटा बोलेरो जिपभित्र आफूलाई नाङ्गै पाएँ ।’ होसमा आउँदा उनका अघि गाउँकै चिनजानका दुई पुरुष थिए । उनले आफूलाई छोडिदिन अनुनय–विनय गरिन् । मध्यरात बोलेरोको सिसा लगाएकाले उनको चित्कार कसैले सुनेनन् । मुख थुनेर चारै जनाले पालैपालो बलात्कार गरे, उनी रोइरहिन् । ‘डेढ घण्टापछि बलात्कार गरेको कुरा कसैलाई भनेमा मारेर खोलामा फालिदिने धम्की दिएर बोलेरोबाट कपडासहित फालिदिए,’ उनले भनिन् । बलात्कृत उनी फालिएको झाडीबाट बिस्तारै उठिन् । सकसमै कपडा लगाएर बिस्तारै गाउँतर्फको बाटो लागिन् । उनीहरू पछि लागेर माफी मागेजस्तो पनि गर्दै थिए, तर उनी रुँदै उकालो लागिरहिन् । उनले चिनेका दुई पुरुष गोन्जे र गोन्डे गाउँका हुन् । पीडित महिलाका आफन्तका अनुसार बलात्कारमा संलग्न दुईमध्ये एक जना केही महिनाअघि मात्रै दुबईबाट गाउँ आएका थिए भने अर्का गाउँमै बस्थे । प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार आरोपितमध्ये एक जनालाई पक्राउ गरी सोधपुछ थालिएको छ । बोलेरो र मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । ‘अन्य आरोपितहरू फरार छन्, खोजी भइरहेको छ । अनुसन्धानलाई तीव्र बनाएका छौं,’ उनले भने । महिलाको अवस्था भने विक्षिप्त रहेको उनले बताए । पीडितलाई सुरक्षित वातावरणमा महिला सेल्टरमा राखिएको उनले जनाए । यसैबीच, पीडित महिलाका आफन्तका अनुसार बलात्कार आरोपितका आफन्त र बुबाले १० लाख रुपैयाँमा घटना मिलाउन प्रलोभन दिएका छन् । मुद्दा दायर नगर्नसमेत दबाब दिइएको छ । ‘आरोपितले सजाय पाउनुपर्छ भन्दा रकमको प्रलोभन लिएर आइरहेका छन् । यसले पीडितलाई थप पीडा दिएको छ,’ ती आफन्तले भने ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!