सुडानको संक्रमणकालीन सरकार र विद्रोही गठबन्धनबीच दक्षिण सुडानमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले एक सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताबाट देशमा जारी दशकौं लामो गृहयुद्ध अन्त्य हुने दुबै पक्षले विश्वास लिएका छन् । प्रधानमन्त्री अब्दल्ला हम्डोकले दक्षिण सुडानको राजधानी जुबा पुगेलगत्तै ट्वीट गर्दै भने– “अब देशका अघिल्तिरका सबैभन्दा ठूलो चुनौती भनेको स्थानीय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्झौताहरू गर्नु हो ।”

सुडानका विशाल प्रान्तहरुमा कब्जा जमाएर बसेका विद्रोहीहरूसँग वार्तामार्फत् समस्या सुल्झाउनु पनि संक्रमणकालीन सरकारसामु अर्को चुनौती छ । सत्ता विद्रोहपछि सेनाले सन् २०१९ को अप्रिलमा तत्कालीन राष्ट्रपति ओमर अल बशीरलाई सत्ताच्युत गरेको थियो । सुडानी नागरिक नेताहरूले पछिल्लो सम्झौताका कारण देशको सैन्य खर्चमा व्यापक कटौती हुने विश्वास व्यक्त गरेका छन् । उनीहरुको भनाईमा देशको अर्थव्यवस्था पुनर्जीवित हुनेछ किनभने अहिलेसम्म सैन्य व्यवस्थामै सबैभन्दा बढी खर्च हुने गरेको छ ।

सुडानी सरकार र केही सशस्त्र समूहको गठबन्धन सुडान क्रान्तिकारी मोर्चाबीच गत अगस्टको अन्तमा भएको सहमतिलाई जुबामा शनिबार आयोजित समारोहमा औपचारिकता दिइएको हो । शिखर सम्मेलनमा दक्षिण सुडानका राष्ट्रपति साल्वा कीरको सहभागिता थियो । दशकौं लामो गृहयुद्ध पछि सन् २०११ मा सुडानबाट दक्षिण सुडानले स्वतन्त्रता पाएको थियो । सुडानको सार्वभौम परिषदका प्रमुख जनरल अब्देल–फत्ताह बुरहान र उनका सहायक जनरल मोहम्मद हमादान डागालो पनि उक्त समारोहमा उपस्थित रहेका थिए । अर्धसैनिक बलका कमाण्डर डागालोले विद्रोही नेताहरूसँग सम्झौतामा हस्ताक्षर गरेका थिए ।

उक्त समारोहमा सुडानका लागि अमेरिकी विशेषदूत डोनाल्ड बूथ, अफ्रिकी युनियनका अध्यक्ष मौसा फाकी र इजिप्टका प्रधानमन्त्री मुस्तफा माडबौली लगायत अन्य अफ्रिकी र अरब अधिकारीहरु उपस्थित रहेका थिए । सम्झौताअनुसार विद्रोही सेनाहरूलाई सुडानको सशस्त्र बलमा एकीकृत गरिनेछ । पश्चिमी डार्फर, दक्षिण कोर्डोफान र ब्लू नाइलमा केन्द्रित सुडान क्रान्तिकारी मोर्चा लोकतन्त्र समर्थक आन्दोलनको मुख्य हिस्सा रहेको छ जसले अल बशीरको बिरूद्ध विद्रोहको नेतृत्व गरेको थियो ।

सुडानमा अब्देल–अजिल अल–हिलुले नेतृत्व गरेको सबभन्दा ठूलो एकल विद्रोही समूह सुडान लिबरेशन मुभमेन्ट–नर्थ पनि वार्तामा सहभागी थियो तर यससँग सरकारको सम्झौता हुन सकेको छैन । अल–हिलुले मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र बनाउन, अल बशीरका मिलिशियाको विघटन र देशको सेनाको पुनः सुधारको माग गरिरहनु भएको छ । यो समूहले आफ्ना माग पूरा नभए ब्लू नाइल र दक्षिणी कोर्डोफान प्रान्तमा आत्मनिर्णयको घोषणा गर्ने बताएको छ ।–एपी \Photo: Reuters

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!