बुधबार, आश्विन १४, २०७७ || 708  पटक पढिएको

। विराटनगर महानगरपालिका १५ मा रहेको ग्यालेक्सी डेन्टल एण्ड सर्जिकल सप्लायर्सले उत्पादन गरेको स्यानीटाइजर बिक्री वितरणमा मंगलबारबाट रोक लगाइएको छ। उत्पादित स्यानीटाइजर गुणस्तरहीन र मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने खालको भएको हुन सक्ने आशंकामा बजारमा लैजान र उपभोक्तालाई बिक्री गर्न बन्देज लगाइएको हो।

जिल्ला प्रशासन कार्यालय मोरङ, प्रहरी, औषधि व्यवस्था विभाग र उपभोक्ता अधिकारवादी संस्था पब्लिक फोरमको संयुक्त अनुगमन टोलीले अनिल चौधरीले ग्यालेक्सी ह्याण्ड स्यानीटाइजर नाम दिएर उत्पादन गरिरहेको स्यानीटाइजर बिक्रीमा रोक लगाएको हो।

विभागका विराटनगरका प्रमुख सञ्जीव कट्टेलले तत्कालका लागि बजारमा लैजान र बेचबिखन गर्न बन्देज लगाइएको बताउँदै परीक्षणका लागि नमुना संकलन पनि गरिएको जानकारी दिए। उनले नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका लागि पठाइने र रिपोर्ट आइसकेपछि थप निर्णय लिइने बताए। परीक्षणबाट गुणस्तरहीन र प्रयोग गर्न अयोग्य रहेको पाइएमा कारबाही अघि बढाइने उनको भनाइ छ।

कट्टेलका अनुसार स्यानीटाइजर उत्पादन गर्ने उक्त उद्योग विभागमा सूचीकृत छैन र उत्पादनको जानकारी पनि दिइएको छैन। ‘बिना जानकारी आफूखुसी र जथाभावी रुपमा घरको कोठामा उद्योग खोलेर उत्पादन गरिरहेको पाइयो,’ उनले भने, ‘उद्योग सञ्चालन र त्यहाँबाट उत्पादित स्यानीटाइजर बिक्री गर्न सबै मापदण्ड पूरा गर्नुपर्छ।’

उनका अनुसार कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहँदा स्यानीटाइजरको बिक्री र प्रयोग पनि बढेको छ। तर स्यानीटाइजर उत्पादनका नाममा बिकृति बढ्न थालेपछि अनुगमन गर्दै नियमन गर्न थालिएको कट्टेलले बताए।

टोलीले मंगलबार विराटनगरका पाँचवटा स्यानीटाइजर उद्योगको अनुगमन गर्‍यो। त्यस अक्रममा रिजालको, हिमगिरी, कस्यव ऋषि आयुर्वेदको उत्पादन नियमसंगत रुपमै भइरहेको पाइएको उनको भनाइ छ। प्रयोग गर्न अयोग्य स्यानीटाइजर उत्पादन गरिरहेको पाइएपछि एक महिनाअघि बन्द गरिएको पपुलर उद्योगको पनि अनुगमन गरिएको छ। त्यस क्रममा उद्योग बन्दनै रहेको र संरचना सुधारको काम भइरहेको पाइएको जानकारी कट्टेलले दिए।

आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरि उद्योग सञ्चालन गरेर गुणस्तरहीन उत्पादन गरिरहेका कारण त्यतिबेला बन्द गरिएको थियो। संरचना सुधार गर्दै गुणस्तरीय स्यानीटाइजर उत्पादन गर्ने सबै प्रक्रिया पूरा गरेपछि मात्रै पपुलरलाई सञ्चालन अनुमति दिइने विभागले जनाएको खबर अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!