न्यूरो अस्पताल विराटनगरले कोरोना जाँचका लागि पीसीआर ल्याब सञ्चालनमा ल्याएको छ ।समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा निजीस्तरबाट पहिलो पटक न्यूरोले पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।न्यूरो अस्पतालले कोरोना संक्रमितको उपचारका लागि छुट्टै कोभिड-१९ अस्पताल सञ्चालन गरिरहेको छ । कोभिड १९ अस्पतालमा आधुनिक पीसीआर ल्याब सञ्चालनमा ल्याएको हो ।
पीसीआर ल्याबमा दैनिक एक हजारभन्दा माथि नमूनाको परीक्षण गर्न सकिने न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए । उनले कोभिडविरुद्धको लडाइँमा कोभिड अस्पतालको सञ्चालनपछि पीसीआर ल्याबको सञ्चालनमा ल्याइएको बताए ।पीसीआर ल्याबको सञ्चालनले कोरोना संक्रमितको उपचारमा मात्र नभइ अन्य बिरामीको उपचारमा पनि सहज हुने अस्पताल निर्देशक तथा कोभिड-१९ म्यानेजमेन्ट एण्ड रेस्पोन्स कमिटिका संयोजन रञ्जितराज बस्नेतले जानकारी दिए ।कोरोना जाँचका लागि अस्पतालले घरमै पुगेर स्वाब संकलन गर्ने व्यवस्था पनि मिलाएको छ ।