शुक्रबार, आश्विन ०२, २०७७ || 881  पटक पढिएको

गोरखा । विवाह भएको १ वर्ष नपुग्दै आफ्नो श्रीमान गुमाउदाको पिडा कसलाई नहोला र ? त्यो पनि परदेशमा, जिन्दगीको यात्रासँगै हिँड्ने बाचा गरेर गत असोजमा विवाह बन्धनमा बाँधिएकी शुशिला कुँवरको आँसु अझै ओभाएको छैन।

गत भदौं १५ गते काम गरिरहेको ठाउँमा ग्याँस सिलिण्डर बिस्फोट हुँदा उनको श्रीमान शरण कुँवरको युएईमा ज्यान गएको थियो । विवाह भएको केही महिनामा नै काममा फर्किएका आफ्ना श्रीमानको मृत्युको खबर सुनेसँगै उनको आँखा ओभाएको छैन।

युएईको आबुधावीस्थित एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस सिलिण्डर लिक भएर पड्किँदा त्यहाँ कार्यरत शरण कुँवरको ज्यान गएको भनिएपनि घटनाबारे अनुसन्धान भईरहेको छ। उक्त दुर्घटनामा परि कुँवरसहित अन्य ५ जनाको ज्यान गएको थियो।

गोरखाको शहिद लखन गाउँपालिका–६ स्थित घैरुङ, अँधेरीमा आमा यानुमाया र बुवा बुद्धिमान कुँवरका काइला छोरा २६ वर्षीय शरण कुँवरले गएको असोज २५ गते चितवनकी शुशिलासँग विवाह गरेका थिए। विहेगरी म‌ङ्सिरमा आमाको तिथि (काम) सकेर युएई फर्केका कुँवर पाँच वर्षदेखि युएईमा कार्यरत थिए।

उनका ७४ वर्षीय बुवा बुद्धिमान कुँवर मलिन अनुहार लिएर छोराको शव आउने बाटो कुरेर बसिरहेका छन्। घटनाबारे थाहा पाएपछि चितवनमा रहेका दाइ भाउजु घर आइसेका छन्। उनको जेठो दाई कतारमा रोजगारीको क्रममा छन्।चार वर्षअघि दश सन्तानकी आमा यानुमायाले संसार छाडेपछि ठूली भाउजुले परिवारको हेरचाह गर्दै आएकी थिईन्।

दशजना छोराछोरी रहेको कुँवर परिवारमा ६ जना छोरा र चार छोरी मध्ये काइला छोरा हुन् शरण, उनी दिनहुँ जसो नै घर परिवारमा सम्पर्क गर्थे। विवाह गरेर केही दिनमै काममा फर्किनु पर्दाको पिडा दैनिक फोन,भिडियो कलमा घण्टौ कुरा गर्द बिर्सिन्थे कुँवर जोडीले ।

परिवारमा सधै खुशी हुने शरण एक्कासि अस्पतालमा रहेको खबर उनका परिवारले पाए। समान्य बिमारीले अस्पताल पुगेको र निको भएर पुन काममा फर्कने आसमा थिए शरणका परिवार, तर गत भदौ २० गते सम्बन्धित कम्पनीले शरणकी भाउजुलाई फोन गरि उनको मृत्यु भएको जानकारी गराएको थियो।भाउजुले केही दिन त शरणको बुवा र श्रीमतीलाई मृत्यु भएको थाहा दिईनन् ।अन्ततः परिवार सबैलाई थाहा भयो । नराम्रो खबर पाएको दिनदेखि ७४ वर्षीय बुवा बुद्धिमान र श्रीमती शुसिलाको न आँखा ओभानो रहन सक्यो न दिन नै उज्यालो ।

शरणका बुवा बुद्धिमान छोराको अवस्थाबारे जानकारी लिन सदरमुकाम झरेको आज १२ दिन भैसक्यो। छोराको शवलाई कसले ल्याइदिन्छ भन्ने बारेमा बेखबर रहेका उनी आज आउँछ कि भोलि भनेर सदरमुकाम गोरखामा पर्खिरहेका छन्। विक्षिप्त हुँदै उनले भने, ‘छोरालाई नदेखेसम्म अरुले भनेका भरमा कसरी विश्वास गर्नु ? देख्न पाए गाउँमा लिएर जानहुन्थ्यो। उनी भावुक हुँदै भन्छन्ः ‘मेरो छोरा दशैँमा बा भन्दै घर आउँछ की !’

परिवारका अन्य सदस्यहरुलाई विश्वास लागेको छैन, शरणलाई केही भएको छ भन्ने । हामीले नदेखी कसरी विश्वास मान्ने, उनको अवस्था देख्न पाए त्यही हेरेर चित्त बुझ्थ्यो । गहभरी आँसु लिँदै उनकी श्रीमतीले शुसिलाले भनिन्ः ‘दशैँमा आउँछु भन्नु भएको थियो खै कहिले आउनु हुन्छ ? अब दिन हो कि रात हो केही छुट्याउन सकेको छैन।

शरणकी श्रीमती सुशिला र बुवा बुद्धिमान पछिल्लो समय गोरखा नगरपलिका–९ को शिखरमा बसोबास गर्दै आइरहेका छन् । अँधेरी गाउँमा बुद्धिमान बाख्रा पाल्ने र खेतीपाती काम गरेर बस्दै आएका छन् ।

घटनामा ज्यान गुमाएका शरणको शव दुर्घटना भएको तीन दिनपछि मात्रै रेस्टुरेन्टको बेसमेन्टमा पुरिएको अवस्थामा भेटिएको थियो । यता युएईस्थित नेपाली दूतावासले घटनाबारे अनुसन्धान चलिरहेकाले कानुनी प्रकृया पूरा गरेर मृतकको शव छिट्टै नेपाल पठाउने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!