मंगलबार, भाद्र ३०, २०७७

तारकेश्वर नगरपालिका काभ्रेस्थली–२ बस्ने अजय अधिकारी (शुशील) आजभोलि भोकाहरूको अभिभावकजस्तै बनेका छन्। उनी बाटोमा बस्ने भोकाहरूको पेट भरिदिने काम गर्छन्।कोरोना फैलिएको ठाउँमा अहिले धेरै मान्छेहरू जाँदैनन्। उनी त्यहीँ पुगेर खाना बाँड्छन्। उनी एक्लै स्वयम्भू, सोह्रखुट्टे, कालिमाटीको टङ्केश्वर र ललितपुरमा गएर दैनिक ३० जनालाई खाना बाँड्ने गरेका छन्।

अजयले खाना बाँड्न थालेको न कुनै संस्थाको सहयोगमा हो न कसैले गरिदेऊन भनेर। यो उनले आफ्नै व्यक्तिगत खर्चमा गरिरहेको बताउँछन्।’खाद्यान्नका लागि आवश्यक सामग्री सबै आफैं किन्छु,’ अजय भन्छन्, ‘तरकारी भने सधैं किन्न पर्दैन। केही तरकारी घरमै फलाएको छु।’कुनै संस्थाको सहयोग नलिए पनि साथीभाइ तथा छरछिमेकले दिएको चामल, दाल तरकारी चाहिँ लिने गरेको उनले बताए। कतिपय चिनेजानेकाले फेसबुकमा फोटो देखेर उनलाई पैसा दिन्छु पनि भन्छन्। तर उनी लिँदैनन् रे। सामान दिए वा आफैंले घरमा पकाए भने सँगै बाँड्न चाहिँ जान्छन्।

‘मैले कसैसँग पनि आर्थिक सहयोग लिन्नँ। तर कसैले यति सामान म दिन्छु, यो पनि पकाएर बाँड्देन भन्यो भने लिन्छु। यो मेरो पारिवारिक सहयोग हो, लिन्नँ, सक्दिनँ चाहिँ भन्दिनँ। आखिर मैले पनि किन्नै पर्ने हो। कसैले सेवा भावले दिन्छ भने लिँदा के नै हुन्छ र,’ उनले भने।

छरछिमेक, साथीभाइ र आफूले खाद्यान्न ल्याउने पसलले पनि कहिलेकाहीँ केही सामान दिने उनले बताए।’घरमा मैले गरेको देखेर अरूलाई पनि त्यो किसिमको भाव आउँदो रहेछ। मैले सामान ल्याइरहने पसलका मान्छेले बोलाएर मलाई कहिलेकाहीँ सामान दिनु हुन्छ,’ उनले भने, ‘मैले उहाँको पसलबाट सामान किनेर लगेर बाँडिराछु भनेपछि उहाँलाई पनि उसले मेरै पसलबाट सामान किनेर लगरे बाँडिरहेको छ, मैले चाहिँ दिन सकिरहेको छैन भन्ने लाग्दो रहेछ क्यार।’सुरूआती लकडाउनमा उनी नवजीवन परोपकार आश्रममा त्यहीँ खाना पकाएर बेलुकी बाँड्न जान्थे। आश्रममा केही संस्थाबाट सहयोग पनि आउँथ्यो। बिहान आश्रम आउ, खाना बनाउ, बेलुका बाँड्न जाउ अनि घर फर्किनुभन्दा उनले आफैं घरबाटै पकाएर बाँड्न सहज देखे।

अनि भदौ ४ गतेदेखि घरमै पकाएर बाँड्न थालेको बताउँछन्। कसैले सहयोग गरेको कुरा लगेर बाँड्नु मात्र भन्दा आफैंले खर्च गरेर पनि बाँड्नु पर्छ भन्ने सोच उनको छ। यसरी सहयोग गर्दा उनलाई अझै बढी आनन्द महशुस भएको छ।’अरूले दिएको सामाान लिएर गएर मैले बाँडे भन्नु र आफ्नै खर्चमा बाँड्नुमा फरक रहेछ। बढी आनन्द आउँदो रहेछ,’ उनी भन्छन्।उनको घरमा दिउँसो २-३ बजेबाट खाना बनाउन सुरू हुन्छ। चार बजेबाट खाना बाँड्न जान्छन्। घरमा गोबर ग्यास पनि भएकाले खाना बनाउन सजह भएको उनी बताउँछन्।

उनलाई खाना बनाउन उनकी आमा र श्रीमतीले सघाउँछन् भने प्याकिङ गर्न बुवाले सघाउँछन्। प्याकिङ भाँडोमा खानामाथि तरकारी राखिएको हुन्छ भने दाल प्लाष्टिकमा प्याक गरिन्छ। खाना बाँड्न उनी कहिले आमाबुवा, कहिले श्रीमती त कहिले साथीभाइ लिएर जान्छन्।

आफू अझै पनि वास्तविक पीडित भएसम्म खाना लिएर पुग्न नसकेको भने उनको गुनासो छ।’यतिखेर चाहिँ खाना आउँछ भनेर बाटोमा बस्नेलाई मात्र खाना बाँडेका छौं,’ उनले भने, ‘घरमा भोकले छट्पटाइरहेकासम्म पुग्न सकेको छैन।’उनीहरू बाटोमा कोही हिँडिरहेका छन् भने पनि खाना खानुहुन्छ भनेर सोध्छन्। खान्छु भन्नेलाई दिन्छन् पनि।’कोही भने खानामा मासु छ कि छैन भनेर हेर्छन्। सादा खाना देखेपछि एकछिन पछि खान्छु भनेर राख्छन्। फर्केर आउँदा कुकुरलाई दिइरहेको देख्छु,’ उनी खाना बाँड्दाको अनुभव सुनाउँछन्, ‘कुकुरले खाएर पनि केही त हुँदैन, तर बाँड्दै गर्दा एउटा भोको मान्छेलाई नपुग्दा दुःख लाग्छ।’उनको सामाजिक कामले घरमा सबै खुसी छन्। तर कहिलेसम्म पुर्‍याउन वा गरिरहन पर्ने हो भन्ने कुराले उनलाई सताउँछ।

‘केही आम्दानी भइरहेको भए त्यसबाट अलिअलि कटाएर बाँड्नु राम्रै हो भन्ठालान्,’ उनले भने, ‘तर आफ्नो कमाइ राम्रो छैन। घरमै उब्जेका सामान बाँड्दा एक मन त परिवारलाई सधैं यसरी बाँड्न हाम्रो नि स्थिति होइन भन्ने लाग्दो हो।’३० वर्षे छोराले कमाएर घर खर्च गर्नुपर्ने ठाउँमा आफैं खर्च गरेर सामाजिक कार्यमा मात्र लाग्दा परिवारले के सोच्ने हुन् भन्ने लाग्नु स्वभाविक हो। तर आफूले दिन जानेपछि फर्किन्छ भन्नेमा अजय विश्वास राख्छन्।’कसैलाई बाँडेर गरिब भइँदैन। आफूले दिएपछि त्यो कुनै माध्यमबाट आफैंलाई फर्किन्छ,’ उनले भने।उनको अनुभवमा, ‘समाज सेवा भनेको नसा नै हो। अरूलाई दिएर मान्छे खुसी हुन्छ भन्ने नसा मान्छेमा छिर्‍यो। बाँडेको बाँड्यै गर्न मन लाग्ने हुँदो रहेछ,’ उनी सुनाउँछन्।यो महामारीभरि धेरैलाई नसके पनि केहीलाई खाना दिने उनको योजना छ।

उनी बौद्ध, जोरपाटीमा रहेको समता स्कुलका प्रधानाध्यापक पनि हुन्। त्यहाँ अन्य निजी स्कुलमा जस्ता विद्यार्थी पढ्ने होइनन्। आर्थिकस्थिति कमजोर भएकाहरू पढ्छन्। स्कुल बन्द भएपछि अजय खाना बाँड्ने काममा लागेका हुन्।सामाजिक काममा लाग्ने उनको सानैदेखिको रहर भने होइन। स्कुलमा कसैले त के बन्छस् भनेर सोध्दा गायक बन्छु भन्थे। पहिले उनी वर्षको एउटा गीत पनि निकाल्थे। ‘भनौं नभनौं’ बोलको पछिल्लो गीत लकडाउनअघि सार्वजनिक भएको थियो। लकडाउनपछि घरकै परिवारलाई पात्रका रूपमा लिएर सन्देशमूलक छोटो फिल्म पनि बनाएका छन्।तर अचेल उनी आफूलाई गायकभन्दा सामाजिक अभियन्ता भन्न रूचाउँछन्।
साभार -सेतोपाटि अनलाईनमा सुनिता सिटौलाले लेख्नु भएको खबर।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया