चितवनका एम्बुलेन्स चालकहरू यतिबेला बिस्कुट र पानीको भरमा कोरोना भाइरस (कोभिड–१९)को आशङ्का गरिएकाको सेवामा दिनरात खटिरहेका छन् । भरतपुर महानगरपालिका–१२ का एम्बुलेन्स चालक महेश गुरुङ कोभिड–१९ का बिरामी बोकेर चितवनदेखि पूर्वमा सर्लाही र पश्चिममा धनगढीसम्म पुगिरहनुभएको छ । यति लामो यात्रामा समेत उहाँले सुक्खा खानाको भरमा एम्बुलेन्स चलाउनु परिरहेको छ । उहाँका अनुसार आफ्नो सुरक्षाका लागि पीपीई लगाउनुपर्ने, पीपीई लगाएको मानिस देखेपछि सबै भाग्ने गरेको अवस्थाले समस्या परेको हो । सर्लाही जाँदा आफूले सञ्चित गरेको बिस्कुट, चाउचाउ र पानीको भरमा पुग्नुभएका उहाँ धनगढी जाँदा भने बाटोमा एक ठाउँमा एम्बुलेन्स रोकेर अर्को ठाउँमा पुगेर खानेकुरा किनेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गाडी एकातिर रोकेर पीपीई खोलेर अर्कोतिर गएर रोटी तरकारी किनेँ । त्यही खाएर धनगढी पुगेँ । ”
भरतपुर क्षेत्रमा एम्बुलेन्स चलाउँदै आउनुभएका भुवन सिलवाल र सुदीप विसङ्कुको अवस्था पनि उस्तै छ । एम्बुलेन्स चलाउने भनेको सेवा दिनुको साथै रोजगारीको पाटो पनि भएकाले यस पेसामा लागेको बताउँदै उहाँ पछिल्लो समय अपहेलना र तिरस्कार झेल्नुपरेको गुनासो गर्नुहुन्छ ।
भरतपुर महानगरपालिकाका वारुणयन्त्र चालक अविरल पोखरेल कोरोना त्रासका कारण एम्बुलेन्स चालकले एम्बुलेन्स नचलाएपछि आफूले एम्बुलेन्स चलाएको बताउनुहुन्छ । जहाँ जे गरे पनि सेवा गर्ने हो । यो मानवीय सेवामा किन पछि पर्ने भनेर आफूले त्यो जिम्मेवारी लिएको उहाँको भनाइ छ । उहाँ यतिबेला महानगरका २९ वटा वडाका क्वारेन्टाइन र आइसोलेसन सेन्टरमा पुगेर त्यहाँका सङ्क्रमित र कन्ट्याक्ट टे«सिङमा रहेकाहरूको स्वाब सङ्कलन गरी ल्याबसम्म लैजाने गर्दै आउनुभएको छ । विगत झन्डै छ महिनादेखि घरपरिवारबाट छुट्टिएर होटलको क्वारेन्टाइनमा बस्दै आउनुभएको उहाँको दिनचर्या बिहानै उठ्यो, वडा–वडामा पुग्नु र स्वाब सङ्कलन गर्नु बनेको छ । उहाँले सङ्क्रमितलाई घरदेखि आइसोलेसन सेन्टर, आइसोलेसन सेन्टरदेखि अस्पताल र अस्पतालबाट डिस्चार्ज भएकालाई घरसम्म पु¥याउने काम गर्दै आउनुभएको छ ।
संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल, ट्रेड युनियन सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार देशभर चार हजार पाँच सयदेखि पाँच हजार जनासम्म एम्बुलेन्स चालक सङ्घमा आबद्ध छन् । तीमध्ये केही स्थानीयले आफ्नो क्षेत्रमा चल्ने एम्बुलेन्स चालकलाई आवश्यकीय सहयोग गरेको भए पनि अधिकांश एम्बुलेन्स चालकले राज्यबाट कुनै थप सेवा सुविधा पाएका छैनन् । एम्बुलेन्स चालक स्वास्थ्यकर्मीजस्तै जोखिममा रहेका भए पनि उनीहरूले स्वास्थ्यकर्मीसरह थप सेवा सुविधा नपाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!