नेपालमा कोभिड– १९ को संक्रमण समुदाय (कम्युनिटी) ट्रान्समिसन जिल्ला र स्थानीय तहमा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकारसँगको भर्चुअल बैठकमा नेपालमा संक्रमण समुदायस्तरमा फैलिएसकेको र अहिले त्यो जिल्ला र स्थानीय तहमा रहेको बताइएको छ ।

मन्त्रालयका कोभिड– १९ का स्थानीय स्रोत व्यक्ति महेन्द्र श्रेष्ठले संक्रमण मुलुकभरि नै समुदाय (कम्युनिटी) ट्रान्समिसन फैलिनसकेको र खासखास क्षेत्र (कलस्टर) तथा तहमा फैलिएको बताए ।

“नेपालमा संक्रमण समुदायमा ट्रान्समिसन फैलिएको छ, यसमा कुनै दुई मत नै छैन, समुदायमा ट्रान्समिसनमा पनि जिल्ला र स्थानीय तहमा रहेका छौँ”, उनले भने, “मुलुकभरि नै समुदाय ट्रान्समिसन भएको छैन, अहिले हामी कलस्टर तहमा रहेका छौँ, भोलि यो फैलिन सक्ला ।”

नेपालमा अहिले ४४ हजार २३६ जना संक्रमित भइसकेका छन् । तीमध्ये २५ हजार ५६१ जना निको र २७१ जना संक्रमणका कारणले मृत्यु भइसकेको छ । बैठकमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले वीरगञ्ज, सर्लाही, काठमाडौँ ललितपुरलगायत जिल्लामा कलस्टर तहमा नै संक्रमण देखिएको बताए । उनले ती ठाउँमा समुदायमा नै संक्रमण देखिएको हो वा होइन एन्टिबडी परीक्षणसमेत गरिने भएकाले यकिन तथ्यांक आएपछि जानकारी गराउने बताए ।

संक्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाएको छ । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दहीलगायतका १२ जिल्लामा ५०० भन्दाबढी संक्रमित रहेका छन् ।

कोभिड– १९ को संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगनठको सहयोगमा समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न थालेको हो । महाशाखाले सात प्रदेशमा रगत नमूना लिएर एन्टिबडी परीक्षण गरी संक्रमण समुदायस्तरमा फैलिएकोबारे अध्ययन शुरु गर्दैछ ।

संक्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सरेपछि दोस्रो चरणमा गएको हुन्छ । नेपाल यसअघि नै दोस्रो चरणमा प्रवेश गरिसकेको छ ।

संक्रमित हेरेर मोडालिटी

कोभिड– १९ स्थानीय स्रोत व्यक्ति श्रेष्ठले मुलुकभरि संक्रमणका अवस्था हेरेर मापदण्डको मोडालिटी लागू गरिने जानकारी दिए । “सबै ठाउँमा एउटै मापदण्डको लागू गर्न सकिँदैन, काठमाडौँ र प्रदेश नंं २ मा धेरै संक्रमति रहेका छन्, त्यहाँ छुट्टै मापदण्ड र कम संक्रमित भएका जिल्लामा छुट्टै मापदण्ड लागू हुन्छ”, उनले भने, “निषेधाज्ञा र बन्दाबन्दी संक्रमित संख्या हेरेर हुन्छ, संक्रमितको अवस्थाअनुसार निषेधाज्ञा र बन्दाबन्दीको मोडालिटी परिवर्तन हुन्छ ।”

मन्त्रालयले ५०० भन्दाबढी संक्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दाबढी संक्रमितमा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ ।

सबै परीक्षण नमूना

उनले अहिलेसम्म गरिएको सबै पिसिआर परीक्षण नमूना परीक्षण मात्र भएको बताए । अहिलेसम्म सात लाख ३१ हजार ७५२ जनामा पिसिआर परीक्षण गरिएको छ । “ती नमूना परीक्षण गरिएकामध्ये दोहरिएको परीक्षण कति छन् भनेर छुट्याउने काम भइरेको छ”, उनले भने, “संक्रमितमध्ये दुईदेखि चार प्रतिशत मानिसको परीक्षण दोहरिएको छ, यस्तै कतिपयको कन्याक्ट ट्रेसिङ गर्दा दोहरिएको छ ।”

स्थानीय स्रोत व्यक्ति श्रेष्ठले केहीमा पुनःसंक्रमण देखिएकाले त्यो पनि संख्या पत्ता लगाउने कार्यसमेत भइरहेको बताए ।

उनले प्रत्येक स्थानीय तहमा स्थानीय स्रोत व्यक्ति तोकेर कन्याक्ट ट्रेसिङलाई व्यवस्थित बनाउन थालेको जानकारी दिए । मन्त्रालयले संक्रमित बिरामीलाई निजी अस्पताललाई भर्ना नगर्ने पाइएकाले त्यस्ता अस्तपालको अनुगमन गरेर पहिलो चरणमा सचेत र त्यसपछि पनि नगरे कारवाही गर्नेसम्मको तयारी गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!