मंगलबार, भाद्र १६, २०७७ || 430  पटक पढिएको

कोभिड–१९ सङ्क्रमित गर्भवतीका लागि भरतपुर अस्पतालले छुट्टै कक्षको निर्माण थालेको छ । व्यथा लागेका गर्भवतीलाई राख्ने, साधारण बच्चा जन्माउने, शल्यक्रिया र शिशु कक्ष अलग्गै बनाउन शुरु गरेको अस्पतालले जनाएको छ । चितवनसहित १९ जिल्लाका बिरामी आउने यस अस्पतालमा कोभिड भएकाको राम्रो उपचार र अन्यलाई सुरक्षित बनाउन अलग्गै कक्ष बनाउन थालिएको हो ।

यस अस्पतालमा वार्षिक १३ हजारभन्दा बढी गर्भवती सुत्केरी हुने गर्दछन् । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार हाल दैनिक ३० जनाभन्दा बढी गर्भवतीले यहाँ बच्चा जन्माउने गरेका छन् । अन्यत्रभन्दा सुरक्षित ठानेर नै यहाँ बढी गर्भवती सुत्केरी हुन आउने गरेको उहाँको भनाइ छ । हालसम्म अस्पतालले चार जना कोरोना सङ्क्रिमण भएका महिलाको प्रसूति गराइसकेको छ । एक जना महिला आइसोलेसनमा रहेको सापकोटाको भनाइ छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार यही शुक्रबारसम्ममा ती कक्ष तयार हुने गरी काम भइरहेको छ । कोभिडको आइसोलेसन बनाइएको अस्पतालको ‘ए’ ब्लकको भुइँतलामा यसअघिको सर्जिकल क्याबिनका १० कोठामध्ये चार कोठामा छुट्टै कक्ष बनाउन थालिएको छ । तिवारीको भनाइमा कोभिड आइसोलेसन रहेकै ठाउँमा प्रसूति कक्ष निर्माण गरिँदै छ । कोभिड सङ्क्रमित आमाबाट जन्मिएका बच्चा राख्ने ठाउँमा भेन्टिलेटरसमेत जडान गरिने तिवारीले जानकारी दिए ।

कोभिडका बिरामी आउने छुट्टै प्रवेश क्षेत्र भएकाले उनीहरुबाट अन्य सुत्केरी र बिरामीलाई कुनै समस्या हुने छैन । अस्पतालको “ए” व्लकको भुई तलाको सर्जिकल बिभागका छ कोठा र अर्थोपेडिक कक्षलाई हाल कोभिड आइसोलेसन बनाइएको छ । सोही ठाउँमा कोभिड प्रसूति कक्ष बनाउन लागिएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले परोपकार प्रसूतिगृह पछि देशमै सबैभन्दा बढी सुत्केरी हुने अस्पताल भएकाले आवश्यक सम्पूर्ण तयारी गरेको बताए । उनले भने, “निजी झै हामी तर्किन पाउँदैनौँ । कोभिड भएका गर्भवतीको प्रसूति गराउनु पर्ने भएकाले छुट्टै व्यवस्था गर्न लागेका छौँ ।”

भरतपुर अस्पतालले १० श्ययाको कोभिड सघन उपचार कक्ष पनि सञ्चालन गरिरहेको छ । यस अस्पतालले जिल्लामा कोभिड उपचारको नेतृत्व गरिरहेको छ । मेडिकल कलेज, निजी अस्पताल सबैको सहकार्यमा कोभिड उपचार गराइएको अधिकारीको भनाइ छ । भरतपुर अस्पतालले गएको वैशाख महिनाबाट कोभिड उपचार गरिरहेको छ । कोभिडका बिरामीलाई छुट्टै ठाउँमा उच्च सावधानी अपनाएर उपचार भइरहेकाले अन्य बिरामी पूर्ण सुरक्षित रहेको उनले बताए । कोभिड शल्यक्रिया कक्षमा प्रसूति बाहेककाको शल्यक्रियासमेत गर्न सकिने उनले जानकारी दिए । भरतपुर अस्पतालले कोरोना परीक्षण प्रयोगशाला पनि सञ्चालन गर्दै आएको छ ।

कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु

चितवन मेडिकल कलेजमा उपचारत थप एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१५ का ५२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार ज्वरो र खोकी आएका कारण यही भदौ १४ गते अस्पतालमा भर्ना भएका उनको १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज बिहान २ः५२ बजे उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । चितवनका नौ, मकवानपुरका चार, बारा, गोर्खा, कैलाली र नवलपरासी सुस्तापूर्वका एक-एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । जिल्लामा ७३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।-रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!