विराटनगरको इतिहासमा ऐतिहासिक कालीपुजा देखि चर्चामा आएका अप्पन ब्राह्मण समज विराटनगरको नव निर्वाचित कार्यकारिणी समितिको भावी योजना ? कार्य प्रणाली, बाहुनवादी सोंच तथा कोरोना महामारी बीच संस्थालाई कसरी अगाडी बढाउने ? विषयमा समितिका अध्यक्ष कुमुद मोहन झा संग हिपमतकर्मी प्रकाश प्रेमीले गरेको कुराकानीको संपादित अंश ।
सर्वसम्मतले अप्पन ब्राह्मण समाजको अध्यक्ष हुनुभएकोमा कस्तो अनुभव गर्नुभएको छ ?
एउटा बुद्घिजीवी समाजको नेतृत्व ग्रहण गर्नु कुनै पनि व्यक्तिकोलागि ठुलो अवसर हो तर यसमा थुप्रै चुनौतिहरु पनि छन् । म अप्पन ब्राह्मण समाजका सम्पूर्ण सदस्यहरु प्रति आभार प्रकट गर्दछु । वहाहरु सर्वसम्मतले मलाई अध्यक्षको रुपमा चयन गरी मभित्र उत्तरदायित्वको ज्ञान अभिबृद्घि गर्नुभएको छ । यस समाजको अध्यक्षको काम, कत्र्तव्य र उत्तरदायित्व प्रति समर्पित रही समितिका पदाधिकारीहरु, सदस्यहरु, एवं विभिन्न वर्गका आदरणीय व्यक्तित्वहरुको उचित राय सलाह, सहयोग एवं सहकार्यको माध्यमले समाजको सर्वोत्तम हितको लागि सदैव क्रियाशील रहनेछु ।
अप्पन ब्राह्मण समाज जाति विशेष कार्य गर्ने हो कि अन्य सामाजिक कार्य पनि गर्ने हो ?
वास्तवमा ब्राह्मण जाति विशेष मात्र नभई सर्वोत्तम सामाजिक संस्कारको संकलन हो । पौराणिक कालदेखि ब्राह्मणले बहुजन हिताय बहुजन सुखाय कार्य गरेको प्रशस्त प्रमाणहरु छन् । परापूर्व कालदेखि सामाजिक उन्नति, मानवीय नैतिकता तथा आदर्शको स्थापना, सत्य, अहिंसा, शान्ति र राष्ट्रिय हितका लागि अग्रपंक्तिका प्रहरी ब्राह्मण नै बनेका छन । तसर्थ अप्पन ब्राह्मण समाज आफ्नो नैतिक, समाजिक र राष्ट्रिय दायित्व पूरा गर्नको लागि यस समुदायलाई संगठित गर्ने कार्य गरि रहेको छ । हामी सामाजिक साँस्कृतिक उन्नति र आर्थिक शैक्षिक प्रगतिका लागि प्रतिबद्घ छौं । यस समाजको स्थापना जातीय उन्माद फैलाउनको लागि भएको होइन, हामी सवै जाति वर्ग र समुदाय संग सहयोग र सहकार्यको अपेक्षा राख्दछौं ।
तपाईहरुको आगामी योजनाहरु के कस्ता छन् ?
संस्था दर्ता भएको ६ महिना भित्र साधारण सभा गराउने कानूनी बाध्यताले गर्दा यस्तो बिषम परिस्थितिमा सभाले मेरो नेतृत्वमा समिति चयन गरेको छ । हामी समितिको बैठक पनि निर्बाध रुपमा राखी धेरै छलपल गर्नको लागि स्वतंत्र छैनौ । जबसम्म कोरोनाको संत्रास समाजमा छ सामाजिक क्रियाकलापहरु उत्साहजनक रुपमा गर्न सकिदैन तथापि हामी निष्कृय भएर पनि बस्दैनौ । समाजका लागि दीर्घकालीन र अल्पकालीन योजना निर्माण गर्ने गृहकार्य भइरहेको छ । हिन्दू धर्म रक्षार्थ बर्षभरिको चाड पर्व, तिथि, शुभ साइत आदि संकलन गरी सर्वसाधारणलाई सुगम हुने गरी भित्ते पात्रोको रुपमा संक्षिप्त पञ्चाङ्ग हामी प्रकाशित गरी सकेका छौ जुन सर्वजनोपयोगी हुनेछ ।
समाजका विपन्न तर मेधावी विद्यार्थीहरुलाई थोरै संख्यामा भएपनि विराटनगरका प्रतिष्ठित विद्यालयहरुमा निःशुल्क अध्यय्नकालागि पहल गर्ने निर्णय समितिको पहिलो बैठकवाट गरिएको छ । म विश्वस्त छु यस पुनीत कार्यको लागि विभिन्न विद्यालयहरुवाट आवश्यक सहयोग प्राप्त हुनेछ ।
अधिराज्यका विभिन्न भागहरु वाट आएर विभिन्न कारणले विराटनगरमा वसोवास गरीरहेका ब्राह्मण समुदायलाई सामाजिक सहकार्य एवं सुमधुर सम्बन्ध विकसित गर्ने साझा मञ्चको रुपमा यस समाजलाई विकसित गर्ने हाम्रो योजना छ । यस समाजमा रहेको वैवाहिक जटिलतालाई सरलीकरण गर्ने, परम्परागत सीप तथा कलाको संरक्षण एवं संवर्धन, अनावश्यक सामाजिक साँस्कृतिक खर्चमा न्यूनीकरण, हिन्दू धर्मको रक्षार्थ ब्राह्मणेचित क्रियाकलापको प्रवर्धन, सामाजिक कुरीति एवं कुसंस्कार बिरुद्घ जनचेतना अभिबृद्घि, आर्थिक उन्नति शैक्षिक प्रगतिका लागि आवश्यक राय सलाहको संप्रेषण आदिलाई संसथागत रुपमा निरन्तर समाजमा प्रवाहित गर्ने हाम्रो योजना छ । यसकालागि आवश्यक रणनीतिहरु हामी बनाउने क्रममा छौं । विभिन्न सामाजिक, साँस्कृतिक, धार्मिक, साहित्यिक कार्यक्रमहरुका माध्यमले समाजका सबै व्यक्तिलाई एक मञ्चमा एकत्रित गरी सुमधुर सम्बन्ध विकसित गर्ने कार्यका लागि विभिन्न योजना निर्माण गरिरहेका छौं । अन्य जातिका समान प्रकृतिका संगठनहरु संग समानताका आधारमा समन्वय एवं सहकार्य गरि सुन्दर, समृद्घ एवं शांत समाज निर्माण गर्ने हाम्रो लक्ष्य रहेको छ ।
कोरोना महामारीको यस्तो विषम परिस्थितिमा कसरी गर्नु हुन्छ ?
वास्तवमा मानवीय इतिहासको जटिलतम परिस्थितिवाट हामी गुज्रिरहेका छौं । कोरोना महामारीवाट सामाजिक तथा आर्थिक क्रियाकलापहरुमा परेको प्रतिकूल असरवाट कोई पनि अछुतो छैन । तर, जीवन पनि रुकेको छैन । मानिसले हरेक कालखण्डमा आएका चुनौतिहरुको सामना गरेकै हो । यसको पनि समाधान हुन्छ नै । सकारात्मक बनौं । सामाजिक दूरी कायम गरेर पनि धेरै कार्यहरु हुन सक्छन् र भईरहेका पनि छन् । त्यस्ता कार्यहरुको प्राथमिकता तय गरी कार्यान्वयन गर्ने र अन्य कार्यहरु अनुकुल समयमा गर्नको लागि प्रतिक्षा गर्नुको विकल्प तत्काल छैन । सबैको जीवन रक्षा सर्वोच्च प्राथमिकतामा राखेर नै कुनै कार्य हुन्छ ।
मैथिल ब्राह्मणहरुको अन्य संस्था हुदाहुदै अर्को संस्था नै किन खाल्नु पर्यो ?
मैथिल ब्राह्मणहरु लाई आफु प्रति समर्पित, संगठित र सक्रिय संस्थाको आवश्यकता थियो । जसको परिणामस्वरुप अप्पन ब्राह्मण समाजको गठन भएको हो । हाल विराटनगरमा वसोवास गर्ने अस्सी प्रतिशत भन्दा बढी मैथिल ब्राह्मण कुनै न कुनै रुपमा यस संस्था संग आबद्घ भई सकेका छन् र वांकीका बीस प्रतिशत पनि निकट भविष्यमा जुड्ने निश्चित छ । हामी दुई चार जनालाई पदीय प्रतिष्ठा दिनको लागि संस्था खोलेको होईन । अप्पन ब्राह्मण समाज वैधानिक रुपमा उद्देश्य निर्धारण गरी नेपाल सरकारको गृह मंत्रालयमा दर्ता भएको संस्था हो । हामी हाम्रो उद्देश्य प्राप्तिका लागि सतत क्रियाशील छौं । वास्तवमा ”क्रिया सिद्घिः सत्वे भवति महताम नोपकरणे” ।
मोरंग जिल्लामा मैथिल ब्राह्मणको अवस्था कस्तो छ ?
राम्रो छैन । यस जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने मैथिल ब्राह्मणहरु को मुख्य पेशा पुरोहिति कर्म हो । पूजा पाठ गराएर हुने आम्दानीवाट दुई छाक टार्नु नै कठिन भएको अवस्थामा वाल वच्चाहरुलाई उचित शिक्षा, स्वास्थ्योपचार र आधुनिक युग अनुसार अन्य सुविधाहरुको कल्पना गर्नु मुश्किल छ । विराटनगर महानगरपालिकामा वसोवास गर्नेहरुको तुलनात्मक रुपमा शैक्षिक आर्थिक स्तर राम्रो छ तर, यहाँ पनि छरिएर बसेका कारण एक अर्का बीचको सम्बन्ध, सहयोग र सहकार्यको अभावमा सामाजिक र राजनैतिक हैसियत अत्यन्त न्यून रहेको छ । संख्यात्मक र बौद्घिक रुपमा प्रजातान्त्रिक व्यवस्थामा महत्वपूर्ण भूमिका खेल्न सक्ने क्षमता भएपनि कमजोर अवस्थामा रहनु भएको छ ।
मोरंग भित्रका ब्राह्मण समाजलाई मात्र एकत्रित गर्नेहो कि जिल्ला वाहिरका ब्राह्मणलाई पनि समेटन हो ?
ब्राह्मण जातिको लागि साझा मञ्च तयार गर्ने हाम्रो लक्ष्य छ । यस समाजमा कुनै पनि गाउँ, नगर, जिल्ला, क्षेत्र वा राष्ट्रमा वसोवास गर्ने ब्राह्मण जातिको स्वागत छ । समाजको स्थापना भर्खर भएको हो तसर्थ हामीले प्रारम्भिक अवस्थामा प्रदेश नं.१ मा कार्यक्षेत्र सीमित राखेका छौं । विस्तारै यसको विस्तार अन्य प्रदेशहरुमा पनि गरिनेछ । यसका अतिरिक्त भारत लगायतका अन्य देशहरुमा बसोबास गर्ने मैथिल ब्राह्मणहरु संग समन्वय गरी कार्यक्रमहरु अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तार गर्ने हाम्रो दीर्घकालीन योजना छ ।
वाहुनवाद त निकै विवादित विषय हो नि ?
यो वाहुनवाद भनेको के हो, म आज सम्म बूझेको छैन । अन्य कुनै जातिले संगठित भई आफ्नो हक हितको लागि कुरा गर्छन भने प्रजातान्त्रिक अधिकारको उपभोग हुन्छ तर यही काम वाहुनले गर्यो भने वाहुनवाद भई हाल्यो । ब्राह्मण वंशमा जन्मेका संतानहरु लाई कुन अपराधको सजाय हो यो ? निष्पक्ष रुपमा ब्राह्मण जातिको आर्थिक शैक्षिक स्तर, राजनैतिक र प्रशासनिक पहुंचको अवस्था माथि छलफल होस किनभने समाजलाई वास्तविकताको जानकारी लिने हक छ । कुनै एक दुईवटा प्रतीकको उदाहरण दिएर समग्र समुदाय संग अन्याय गर्नु हुदैन । नेपालको परिपेक्ष्यमा हेर्ने हो भने सत्य हो कि यहा“को राज्य व्यवस्था संचालनमा एउटा खास समुदायका वाहुनहरुको वर्चस्व कायम रहेको छ तर, उक्त समुदाय मात्र समग्र ब्राह्मण जाति होइन । मैथिल, कान्यकुब्ज, भूमिहार आदि पनि ब्राह्मण हुन् । के छ यिनिहरुको सामाजिक, राजनैतिक, प्रशासनिक हैसियत ?
नेपालको राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा मैथिल ब्राह्मणहरुको भूमिकालाई कसरी लिनु भएको छ ?
नेपालको राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रमा मैथिल ब्राह्मणको महत्वपूर्ण भूमिका रहेको छ । तर दुर्भाग्य, राज्यले उक्त योगदानको उचित मूल्यांकन कहिले पनि गरेको छैन । मल्ल कालदेखि गणतंत्र कालसम्म हरेक कालखण्डमा नेपालको शैक्षिक उन्नति, सामाजिक प्रगति, आर्थिक विकास, राजनैतिक न्याय र परिवर्तनमा मैथिल ब्राह्मणले आफ्नो ज्यानको बाजी समेत लगाएर योगदान गरेका प्रशस्त उदाहरणहरु छन् । दुर्गम स्थानहरुमा गएर शिक्षा प्रदान गर्ने, तराईमा स्थायी बसोबास गरी अन्न उत्पादन गर्ने, राजनैतिक क्रान्तिका अग्रपंक्तिमा रहेर बलिदानी दिने, समाजमा भाईचारा स्थापित गर्ने जस्ता महत्वपूर्ण कार्यहरुमा मैथिल ब्राह्मणको नेतृत्वदायी भूमिका रहेको छ ।
तपाईहरुको समुदाय भित्र राजनीतिक आर्थिक र शैक्षिक हिसावले एउटा पक्ष सम्पन्न छ भने अर्को त्यतिकै विपन्न यो खाईलाई कसरी मिलाउनु हुन्छ ?
एक अर्का बीच सुमधुर सम्बन्ध, सहयोग र सहकार्यको भावना विकसित गरेर ।
अन्त्यमा के भन्न चाहनु हुन्छ ?
हामी समाजमा रहेका सबै धार्मिक, संस्कृतिक, आर्थिक, राजनैतिक एवं जातीय संघ संस्था संगठन संग समन्वय, सहयोग र सहकार्यको अपेक्षा राख्दछौं । आउनुस सबै मिलि एउटा सुन्दर, शान्त, सुसभ्य र समृद्घ समाजको निर्माण गरौं । अन्त्यमा प्रकाशजीलाई धेरै धेरै धन्यवाद अन्तरवार्ता लिईदिनु भएकोमा र प्रकाशनको लागि हिपमत प्रति आभार प्रकट गर्न चाहन्छु ।