नेपाली काँग्रेसभित्र ७० कटेका दुई नेता सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल फेरि पनि पार्टी नेतृत्वका मुख्य दाबेदार हुन् । देउवा र पौडेलले यसपटकको महाधिवेशनलाई आफ्नो राजनीतिक जीवनको सम्भवत अन्तिम प्रतिष्पर्धाका रुपमा लिएका छन् । काँग्रेस सभापति भएर भावी प्रधानमन्त्रीको मार्ग सुनिश्चित गर्ने दाउमा दुवै नेता छन् ।
देउवा पहिलोपटक काँग्रेस पार्टी सभापति बनेका हुन् । उनी चार पटक प्रधानमन्त्री बनिसके । वरिष्ठ नेता पौडेल अहिलेसम्म काँग्रेस सभापति र प्रधानमन्त्री दुवै बन्न सकेका छैनन् । तर, उनी सभामुख, उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका भेट्रान नेता हुन् ।
देउवा र पौडेलको सभापतिमा दाबी देखिएपनि उनीहरुपछिको पुस्ताले नेतृत्व हस्तान्तरणका लागि आग्रह गर्न थालिसकेका छन् । दुवै पक्षका नेताहरुले सवोच्च नेता बनेर नेतृत्व हस्तान्तरणको प्रस्ताव गर्न थालेका छन् । यसरी देउवा र पौडेलभन्दा फरक नेता सभापति बनाउन ठुलो समुह काँग्रेसभित्र सक्रिय भइसकेको छ ।
काँग्रेसमा फेरि विरासतको राजनीति गर्दै आएका नेताहरु नेतृत्वमा पुग्न सक्रिय भएका छन् । काँग्रेसका संस्थापक नेताहरु वीपी कोइरालाका पुत्र सशांक कोइराला, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधि मुख्य प्रतिष्पर्धीका रुपमा देखिनथालेका छन् । कोइराला परिवारका डा. शशांक कोइराला पनि सभापतिका दाबेदार हुन् । यसरी तीनवटा परिवारका सदस्य सभापतिको दाबी गर्दै बढिरहँदा उनीहरुको मिलनको विषय पनि जोडदार रुपमा उठिरहेको छ । तीन परिवार मिलेमा देउवा र पौडेलमाथि दबाब सृजना हुने कतिपय काँग्रेस नेता कार्यकर्ताको बुझाई छ ।
वास्तवमा देउवाको आधा शक्ति विमलेन्द्र निधि हुन् । पौडेलको लगभग ९० प्रतिशत शक्ति डा. सशांक कोइराला, डा. शेखर कोइराला र प्रकाशमान सिंह नै हुन् । उनीहरुले साथ छाडेर तीन परिवारको एकता बनाएर बढेमा देउवा र पौडेलले सभापतिको चुनाव लड्न ठुलै हिम्मत निकाल्नुपर्ने हुनसक्छ । उनीहरुको बेमेलले मात्र देउवा र पौडेलको प्रतिष्पर्धाको माहोल बन्न सक्छ ।
काँग्रेसभित्र कोइराला, सिंह र निधिबीचको सम्भावित एकतालाई लिएर बहस हुन थालेको छ । तीनजना नेताको औपचारिक अनौपचारिक भेटघाट हुन थालेको छ । एक अर्कामा राजनीतिक लेनदेन गरी एकै ठाउँमा आउनेबारे उनीहरुबीच छलफल समेत चलेको छ । यो सम्भव भएमा देउवा र पौडेल सर्वोच्च नेता बन्नेतर्फ लाग्नुपर्ने अवस्था आउनसक्छ । या त भविष्यमा राष्ट्रपतिको दाबेदार बनेर दोस्रो पुस्ताका नेताहरुलाई सहयोग गर्ने अवस्थामा पुग्न सक्छन् ।
कोइराला, सिंह र निधिबीच राजनीतिक लेनदेनबाट सहमति बन्ने सम्भावना सजिलो भने छैन । तीनैजना उस्तै उमेरका हुन् । आफ्नै दाबी प्रस्तुत गरेर महाधिवेशनको तयारीमा छन् । यी तीनबीच पार्टी र सरकार सञ्चालनमा फरक फरक व्यक्तिले गर्ने सहमति बन्ने सम्भावना भने छँदैछ । तर, कस्ले त्याग्ने भन्ने विषय आउन सक्छ । प्रकाशमान सिंह आफ्ना पिता गणेशमान सिंहले प्रधानमन्त्री पद नै त्यागेको बताउँदै सधै आफूहरुले मात्र त्याग्नुपर्ने ? भन्न थालेका छन् । शशांक कोइराला बाबु वीपीको लाइनमा काँग्रेसलाई चलायमान बनाउने एजेन्डाका साथ सक्रिय छन् । निधि मधेशी समुदायबाट पहिलोपटक देशको प्रधानमन्त्री बन्न चाहन्छन् । यसरी तीनैजनाको आफ्नै चाहना र महत्वाकांक्षा छ । तर, तीनैजनाले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन अनिवार्य छ भन्नेमा सहमति जनाएका छन् । यही सहमतिमा उनीहरुबीच मिलनबिन्दु तयार गर्ने सम्भावना बलियो छ । तर, त्यो सजिलो भने छैन ।