सुशान्त सिंह राजपूतको मामिलामा सर्वोच्च अदालतको निर्णय आएपछि बिहारका प्रहरी महानिर्देशक गुप्तेश्वर पाण्डेको रिया चक्रवर्तीमाथिको टिप्पणीले चर्चा बटुलिरहेको छ । सर्वोच्च अदालतले यो मामिला सिबिआईलाई सुम्पिएको छ र बिहार सरकारले सिबिआई जाँचको जुन सिफारिस गरेको छ त्यो ठिक भएको पनि बताएको छ । अदालतले पटनामा दर्ता गरिएको एफआइआरमा पनि केही गलत नभएको बताएको छ ।
सर्वोच्च अदालतको निर्णयपछि बिहारका डिजिपीले एक प्रश्नको जवाफमा बिहार मुख्यमन्त्रीमाथि टिप्पणी गर्नका लागि रिया चक्रवर्तीको औकात नभएको बताएका थिए । डिजिपी गुप्तेश्वर पाण्डेले सर्वोच्च अदाmतको निर्णयमाथि खुसी व्यक्त गर्दै बिहार प्रहरीले जे गरेको छ त्यो सही छ र कानूनमा दायरामा रहेर नै गरेको बताएका छन्
पत्रकारले गुप्तेश्वर पाण्डेसँग रिया चक्रवर्तीको त्यो बयानबारे सोधपुछ गरेका थिए जसमा रियाले बिहार प्रहरीको अनुसन्धानमा राजनीतिको कुरा गर्दै मुख्यमन्त्री नितिश कुमारको पनि कुरा निकालेकी थिइन् । रियाले बिहारी प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा याचिका दर्ता गरेकी थिइन् ।
यद्यपि, अब बिहारका डिजिपी गुप्तेश्वर पाण्डेले यो मामिलामा माफी मागेका छन् । एक समाचार च्यानलसँगको कुराकानीमा उनले आफ्नो कुराले कसैलाई समस्यामा पारेको छ भने आफूले माफी मागेको बताएका छन् ।
गुप्तेश्वर पाण्डेले भने, ‘मलाई कसैले बुझाइदेओस् कि यसमा के अभद्र छ, के अमर्यादित छ र के गैर कानूनी छ । मैले बिहारका माननीय मुख्यमन्त्रीमाथि रिया चक्रवर्तीले कुनै अभद्र, अशोभनीय टिप्पणी गर्नका लागि उनको औकात नभएको बताएको थिएँ । यदि यसमा उनलाई केही समस्या छ र यदि उनलाई मैले प्रयोग गरेको औकात शब्दले उनको गरिमालाई ठेस् पुर्याएको छ भने मलाई यसमा माफी माग्न कुनै संकोच छैन । तर इमान्दारिता र न्यायप्रेमका रुपमा परिचित कुनै पनि प्रान्तका मुख्यमन्त्रीलाई अशोभनीय र अमर्यादित टिप्पणी गर्न सक्नुहुन्नँ । यदि मेरो कुराले केही समस्या निम्तिएको छ भने माफी माग्छु ।’
डिजिपीको औकातयुक्त बयान सोसल मिडियामा निकै चर्चा भइरहेको छ । यसमा कतिले डिजिपीलाई कारवाही गर्नुपर्ने माग राखेका छन् ।