मंगलबार, भाद्र ०२, २०७७ || 1077  पटक पढिएको

महान् कम्युनिस्ट नेता माओले भनेका छन् ‘इमानदार छोराछोरीहरू आमाको गर्भबाट हैन, सङ्घर्ष को भट्टीबाट जन्मने गर्दछन् ।’ आज भाद्र २ गते, एक ऐतिहासिक दिन । सङ्घर्षको भट्टीबाट जन्मिएका एक वीर क्रान्तिकारी योद्धालाई स्मरण गर्दैछौँ । वर्गसङ्घर्षले नयाँ विचारको जन्म दिन्छ र त्यो नयाँ विचारले नयाँ जीवन दिन्छ । तिनै नयाँ मान्छे र नयाँ विचारको मार्गदर्शनमा अग्रसर वर्गसङ्घर्षको भट्टीबाट महान् नेता जन्मन्छ र उनको वैचारिक नेतृत्वमा निरन्तर जारी रहने वर्गसङ्घर्षले नयाँ मुक्त समाजको जन्म दिन्छ । त्यो मुक्त समाजले शोषित, उत्पीडित जनतालाई सुखद् भविष्यको साथै सहज एवं स्वतन्त्र श्वास फेर्न वातावरण दिन्छ । त्यही वर्गसङ्घर्षको भट्टीबाट जन्मेका धर्तीपुत्र हुन् शहिद क. रामवृक्ष यादव ।

रत् रह सङ्घर्षमें, जीवन सङ्घर्ष है ।
कुर्बान हो जा देश पे, यही तो उत्कर्ष है ।।
दबके ना रहना कभी, यही तो निष्कर्ष है ।
वह वक्त ही महान है, जहाँ कि उत्सर्ग है ।।

महान् गीतकार एवं गायक क. रामवृक्ष यादवले २०४७ सालमा सिरहा जेलबाट आफ्नै ज्वाइँको नाममा प्रेषित चिट्ठीमा लेखेको उपरोक्त पङ्क्तिको सार्थकता उहाँले देश र जनताको मुक्तिपथमा आफ्नो प्राण उत्सर्ग गरेर प्रमाणित गर्नुभयो । नेपाली कम्युनिस्ट आन्दोलन चम्किलो र प्रेरक नक्षत्रको रूपमा स्थापित तथा ‘मास्टर साहेब’को उपनामले लोकप्रिय क. रामवृक्ष यादव शासक जातिको शासकीय अहंकारवादको चपेटामा परी वीरगति प्राप्त गर्नुभयो । ‘पेरुमे लाल झण्डा फहराइ रे’ क. रामवृक्ष यादवद्वारा रचित यो मैथिली लोकप्रिय गीत अझै पनि नेपाली जनसमुदायको कानमा गुन्जिरहेको छ । नेपाली सर्वहारावर्गका महान् नेता तथा मधेसी समुदायका लोकप्रिय व्यक्तित्व क. यादव अन्तर्राष्ट्रियवादी व्यक्तित्व बन्नुभयो । विश्व सर्वहारा वर्गको एक टुक्रा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्यको हैसियतले उहाँले संसारकै शोषित, उत्पीडित जनताको मुक्तिको पक्षमा लड्दा लड्दै उच्च सहादत प्राप्त गर्नुभयो । वैचारिक हतियारले सुसज्जित क. यादव मुक्तिकामी नेपाली जनताको र विश्व सर्वहारा वर्गको मुक्तिपथमा महान् प्रेरक आलोक बन्न पुगेका हुन् । दुःखमा नआत्तिने र सुखमा नमात्तिने क. यादव सदैव हँसमुख, शान्त र शालीन व्यक्तित्वका धनी एवं गीतकारदेखि जनगायक हुनुहुन्थ्यो ।

नेपालको भौगोलिक रूपले अत्यन्तै सुगम जिल्ला धनुषाको गाविस बरमझिया–६ का मध्यम किसान परिवारका पिता रामलखन यादव र आमा सम्पत्तिदेवी यादवको कोखबाट वि.सं. २००३ सालमा प्रथम सुपुत्रको रूपमा क. यादव (प्रशान्त) को जन्म भयो । बाल्यकालदेखि नै अभाव, अशिक्षा एवं रुढिवादी सामाजिक परम्परा र सामन्ती उत्पीडनविरुद्ध निरन्तर सङ्घर्ष गर्दै आउनुभयो । सामन्तवर्गप्रति तीव्र घृणाकै कारण युवावस्थादेखि जीवनभर क. रामवृक्ष यादवले दुस्मन वर्गविरुद्धको सङ्घर्षमा लगातार नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । क. यादवको जन्म मध्यमवर्गीय किसान परिवारमा भए पनि राजनीतिक एवं सामाजिक सङ्घर्षको क्रममा आर्थिक समस्याका कारण आफ्नो पैतृक सम्पत्ति बेच्दै गएकाले निम्न मध्यम वर्गीय गरिब किसान परिवारमा झर्नुभयो । २०२२ सालमा मेट्रिक पास गरी आफ्नै गाउँ बरमझियाको प्राथमिक विद्यालयमा शिक्षण पेसामा लाग्नुभयो र पछि बल्लतल्ल प्रमाणपत्र तहसम्म उत्तीर्ण हुने अवसर पाउनुभएको थियो । विद्यार्थी जीवनदेखि नै समाज सेवाप्रति चाख राख्ने उहाँ शिक्षण जीवनमा आफ्नो जिम्मेवारीप्रति बफादार रही समाजका गरिब गुरुवाहरूप्रति गहिरो सहानुभूति राख्दै उनीहरूलाई उनका हक अधिकारबारे वैचारिक ज्ञान प्रदान गराउनु हुन्थ्यो । जनताको पक्षधर भएकै कारणले शासक प्रशासकको आँखाका कसिङ्गर बनेको र पटकपटक झुट्टा मुद्दामा जेल जीवन बिताउनुपरेको थियो । आफ्नो जीवनको विपरीत एवं निराशापूर्ण परिस्थितिमा पनि असीम धैर्य एवं साहस अख्तियार गर्नहुन्थ्यो ।

यादवका सपना आजको नेकपाको अभिभारा हो । सामन्तवादविरुद्धको त्यो लडाइँलाई अन्तिम निष्कर्ष दिन मुलुकमा समाजवादी व्यवस्था कायम हुनुपर्छ । अन्तर्राष्ट्रिय स्तरमै सफलताको नयाँ उचाइ हासिल गर्न सफल नेपाली कम्युनिस्ट आन्दोलनले अब समाजवादी दिशा लिनैपर्छ । आज पार्टीमा देखिएको विवादले निश्चित रूपमा अन्योलता थपेको र कार्यकर्ता निराश भएको स्थिति भए पनि यस्तै सङ्कट र बहसले नयाँ विचारको विकास हुने भएकाले छिट्टै पार्टी विवादले सही निष्कर्ष दिनेछ ।

राजनीतिक जीवनमा प्रवेश गर्नुपूर्व सुरुमा २०२५ सालमा आफ्नै गाउँ बरमझियाको प्रा.वि.मा प्रधानाध्यापक भई अध्यापन पेसा अपनाइरहनु भएको समयमा हिन्दुवादी संस्कृति एवं चिन्तनमा आधारित कीर्तनमण्डली (सांस्कृतिक टिम)को गठन गरी आफू व्यासजी (मुख्य गायक एवं हार्मोनियम वादक) बनी सञ्चालन गर्नुभयो । २०२९ सालमा धनुषा जिल्लाकै कुसुम विछौना गाउँमा क. ऋषिराज देवकोटासँग जीवन्त सम्पर्क भएपछि क. यादव कम्युनिस्ट विचारधाराबाट प्रभावित एवं प्रेरित हुनुभयो । उहाँ भौतिकवादी विश्वदृष्टिकोण र मार्क्सवादी विचारबाट अभिप्रेरित भएकोले पहिले गठन गर्नुभएको हिन्दुवादी सङ्कीर्तन मण्डलीलाई नै गाउँस्तरको पार्टी सङ्गठनमा रूपान्तरण गरी पूर्वमण्डलीका सबै सदस्यलाई राजनीतिक विचारले प्रशिक्षण पार्नुभयो र सामन्ती फटाहा विरोधी सङ्घर्षको बिगुल फुक्न थाल्नुभयो । २०३० सालमा तत्कालीन स्थानीय सुदखोर, सामन्तहरू एक सेर अन्नको बनी (ज्याला)मा कृषि मजदुरहरूलाई दिनभरि काममा जोताउने गर्दथे । ७० प्रतिशतभन्दा पनि बढी गरिब जनता अर्धदासको अवस्थामा थिए । सामन्तहरूको मोजमस्ती एवं रजाइँको विरोधमा निम्न मध्यमवर्गीय जनतासमेतको सहयोगमा बनी आन्दोलन (ज्यालादारी आन्दोलन) सञ्चालन गरी सफल पार्नुभयो ।

त्यही अभियोगमा सामन्तहरूको उक्साहटमा स्थानीय जिल्ला प्रशासनले शान्ति सुरक्षा ऐनअन्तर्गत जनकपुरबाट गिरफ्तार गरी ६ महिनासम्म जलेश्वर जेलमा बन्दी बनाइराख्यो । जेलबाट रिहा भएपछि फेरि जनताका विविध समस्याहरूको विरोधमा स्थानीय सङ्घर्ष चलाइरहनु भयो र नेकपा (चौ.म.) उनको कामबाट प्रभावित भई २०३१ सालमा पार्टी सदस्यता प्रदान गर्यो । क. रामवृक्ष यादवको कामकारबाहीका कारण बाध्य भएर स्थानीय प्रशासनले उनलाई २०३४ सालमा कुसुम बिछौना गाविसको विद्यालयमा सरुवा गर्यो । त्यही बेला कमला नदी छेउको १२ बिघा ऐलानी जग्गा सुकुम्बासी किसानलाई वितरण गर्नुभयो र फेरि शान्ति सुरक्षा ऐनअन्तर्गत जेल पर्नुभयो । जेलमुक्त भएपछि बहेराबेला विद्यालयमा सरुवा भई गए र त्यहाँ पनि किसान सङ्घर्ष जारी नै राखेकोले २०३५ सालतिर सिन्धुली जिल्लाको सिमानामा पर्ने लोटा, दूधपानी प्राविमा सरुवा गर्यो । यसरी पटक पटकको गिरफ्तारी र विद्यालय सरुवाका कारण उहाँले उक्त विद्यालयमा एक दिन मात्र हाजिरी गरी २०३५ सालमा शिक्षक पेसाबाट राजीनामा दिई पार्टी सङ्गठनमा पूर्णकालीन कार्यकर्ताको रूपमा सक्रिय हुनुभयो । उहाँको राजनीतिक पृष्ठभूमिको आधारमा प्रशासनले राजकाज अपराधअन्तर्गत २०३५ पौष १ गतेदेखि २०३७ वैशाख ५ गतेसम्म जेलमा राख्यो । देशव्यापी राजबन्दी रिहा हुँदा उहाँलाई जेलमुक्त गर्याे । २०३७ सालमा सम्पन जनमत सङ्ग्रहमा पार्टीको निर्देशित योजना एवं कार्यक्रमअनुसार बहुदलको पक्षमा सक्रिय भूमिका खेल्नुभयो तर उहाँलाई रघुनाथपुर बुथबाट दुई दिनसम्म पक्राउ गरी बेपत्ता पारिराखेकाले आफ्नो मत पनि खसाल्न पाउनु भएन ।

जनमत सङ्ग्रहमा कथित निर्दल पक्षको जित घोषणापछि मल्लका लठैतहरूको जुलुसले क. यादव लगायतका अन्य साथीहरूको घरमा गई जहान परिवारलाई कुटपिट गरी बिसौँ हजारको सम्पत्ति लुटी लगेकाले बाध्य भई उहाँ भूमिगत हुनुभयो । २०४० सालमा नेकपा (चौ.म.) विभाजन हुँदा क. यादव नेकपा (मसाल) केन्द्रीय समितिको सदस्य बन्नुभयो । २०४२ सालमा बरमझियामा विष खाएर एकजना मान्छे मर्दा त्यसको हत्या आरोपमा फँसाउन तत्कालीन प्र.पं. रमेन्द्रदीपका गुन्डाहरूले उहाँलाई समाती खुट्टा भाँची रातभरि प्र.पं.को घरमा थुनियो । प्रशासनको निगरानीमा जनकपुर हस्पिटलमा उपचार भइरहेको बेला उहाँ भाग्न सफल हुनुभयो । भागेर भारतमा गई उपचार गराउनुभयो । २०४५ सालको किसान आन्दोलनमा उहाँले सक्रिय भूमिका खेलेकाले २०४६ जेठमा गिरफ्तार भई लगातार तीन वर्ष जेल जीवन बिताउनुभयो । २०४७ सालमा पार्टी एकता भयो र क. रामवृक्षको रिहाइका लागि बाहिर र जेलभित्र सङ्घर्ष हुँदाहुँदै पनि दुस्मनहरू त्रसित भएको कारणले संसदको चुनावपछि २०४९ सालमा मात्र उहाँलाई जेलबाट मुक्त गरियो । जेलमुक्तपछि पार्टी योजना बमोजिम उहाँले पटेरवा गाउँमा करिब अढाइ सय बिघा जग्गा गरिब किसानलाई वितरण गर्नुभयो ।

सिरहा जिल्लाको बङ्गठिया गाविसमा करिब २०११ सालमा जन्मेकी कमरेड रामकुमारी यादव (शिला)सँग २०१८ सालमा क. रामवृक्षको विवाह भएको थियो । वैवाहिक सम्बन्ध भएपछि क. शिला पनि उहाँको सन्निकटता पाएर कुशल क्रान्तिकारी बन्नुभयो । पार्टीको हरेक काम एवं सङ्घर्षमा मास्टर साहेबलाई सुरुदेखि नै सहयोग एवं प्रोत्साहन दिँदै आउनु भयो । गिरफ्तार परेको बेला पनि स्थानीय कार्यकर्तालाई जनतासँग संयोजन गरेर सङ्घर्षलाई निरन्तरता दिइरहन हमेशा प्रेरित गरिरहनुभयो । स्थानीय फटाहाद्वारा हुने अत्याचारविरुद्ध र पटक पटकको प्रहरीद्वारा हुने घर छापामारीविरुद्ध महिला साथीहरूसँग मिलेर अनेकौँ सङ्घर्ष गर्नुभयो । सङ्घर्षकै क्रममा क. रामकुमारी थुनामा पर्नुभयो र दुई दिनपछि तारिखमा छुट्नुभयो । पछि पार्टी सदस्यता प्राप्त गरी २०४६ सालमा पार्टी जिल्ला समितिमा निर्वाचित र २०५१ सालमा वैधानिक मोर्चा सं.ज.मो. नेपालको केन्द्रीय समितिमा निर्वाचित हुनुभयो । क. रामकुमारी महिला सङ्घको केन्द्रीय समितिमा रहे निरन्तर महिला मुक्ति आन्दोलनमा सहभागी हुँदै नेकपा माओवादीको केन्द्रीय सल्लाहकार समेत हुनुभएको थियो । क. रामवृक्ष यादवका चार छोरी र एक छोरामध्ये क. शेखर यादवको पार्टी कामकै सिलसिलामा क. रामवृक्षका हत्याराहरूको संलग्नतामा प्रहरीद्वारा गृहजिल्ला धनुषाको खजुरी इलाकामा हत्या गरियो ।

पार्टी केन्द्रीय समितिको आह्वानमा भएको २०५१ भदौ १ गतेको नेपाल बन्द कार्यक्रमलाई आफ्नो कार्यक्षेत्र जनकपुरमा सफल पारी भोलिपल्ट घर फर्कने क्रममा २०५१ साल भदौ २ गतेका दिन ‘सबैला’ भन्ने ठाउँमा प्रहरी प्रशासन र काँग्रेसी गुण्डाहरूको योजना बमोजिम बरमझियाका हत्याराहरूले क. रामवृक्ष यादवको निर्मम तरिकाले हत्या गरे । यसरी क. रामवृक्ष यादव (प्रशान्त) सङ्घर्षकै युद्धमैदानमा आफ्नो अमूल्य भौतिक शरीर उत्सर्ग गरेर सदासदाका लागि अमर हुनुभयो ।
क. यादवका सपना आजको नेकपाको अभिभारा हो । सामन्तवादविरुद्धको त्यो लडाइँलाई अन्तिम निष्कर्ष दिन मुलुकमा समाजवादी व्यवस्था कायम हुनुपर्छ । अन्तर्राष्ट्रिय स्तरमै सफलताको नयाँ उचाइ हासिल गर्न सफल नेपाली कम्युनिस्ट आन्दोलनले अब समाजवादी दिशा लिनैपर्छ । आज पार्टीमा देखिएको विवादले निश्चित रूपमा अन्योलता थपेको र कार्यकर्ता निराश भएको स्थिति भए पनि यस्तै सङ्कट र बहसले नयाँ विचारको विकास हुने भएकाले छिट्टै पार्टी विवादले सही निष्कर्ष दिनेछ । समाधान उन्मुख रहेको पार्टी विवाद अब निष्कर्षमा पुग्ने र पार्टीभित्रको कार्यकर्ता पङ्क्ति एवं सिङ्गो देश नै एकताबद्ध हुने विश्वाससहित क. रामवृक्ष यादवप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!