विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौँ जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध कडारुपमा प्रस्तुत हुन थालेको छ । तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग नगरी कोरोनालाई सामान्ने ढङ्गले हेर्न थालिएकाले कारवाहीको दायरा फराकिलो बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । “कोरोना सकिए झै गरेर लापरवाही गर्ने बढेको पाइयो, अहिलेसम्म जरिवानालाई प्राथमिकता दिइएको थियो, अब कैद नै गर्ने मनस्थितिमा पुगेका छौँ”, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भन्नुभयो ।

सङ्क्रामक रोग ऐन, २०२० अनुसार राज्यको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । उक्त ऐनमा सरकारले खटाएका अधिकृतको काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा रु ६०० सम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यो अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ ।

आज मात्रै मुलुकभर २५९ जनाका कोभिड–१९ देखियो । त्यसमा उपत्यकाको मात्रै ६२ जना छन् । दैनिक जसो नै काठमाडौँमा सङ्क्रमण देखिन थालेको छ । उपत्यकाको नाका प्रवेश गर्नेहरुको परीक्षणमा बढी सङ्क्रमण देखिएको छ । अहिलेसम्म मुलुकमा भयावह भइसकेको छैन तर परीक्षणको नतिजाले जोखिम बढ्दै गएको स्थिति प्रष्ट छ ।

पछिल्लो समयमा मानिसको लापरवाही बढ्दो छ । मास्क नलगाई हिँड्ने जमात देखिन थालेको छ । काठमाडौँ प्रशासनले सुरक्षा मापदण्ड अपनाएको छ छैन भन्ने बारेमा नियमित अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा व्यवसाय सञ्चालकले मापदण्ड प्रयोग गरेको पाइएको छैन । नागरिक पनि कोरोना सकिएको जसरी खुलमखुला हिँडिरहेका छन् । सामान्य रुघाखोकी जसरी मानिसले कोभिड–१९ लाई हेल्चेक्र्याइँ गरेको पाइएको प्रजिअ दाहालले बताउनुभयो । उहाँले अब प्रशासन चुप लागेर नबस्ने भन्दै मापदण्ड नमान्ने व्यावसायिक प्रतिष्ठान बन्द गराउने निष्कर्षमा पुगेको बताउनुभयो । अनुगमनमा भाटभटेनीले पनि मापदण्ड नमानेको पाइएको छ ।

सङ्क्रामक रोग ऐन, २०२० अनुसार नेपाल सरकारले मानिसमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै सङ्क्रामक रोग नेपालभर वा त्यसको कुनै भागमा रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा त्यसको रोकथाम गर्न आवश्यक कारवाही गर्न सक्ने व्यवस्था छ । ऐनमा सर्वसाधारण जनता वा कुनै व्यक्तिको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने उल्लेख छ । निर्मूल गर्न वा रोग रोकथाम गर्नको लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन सक्ने व्यवस्था पनि छ ।

ऐनमा सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी नेपाल सरकारले पैदल वा जुनसुकै सवारीको साधनबाट लगिने वा ल्याइने यात्रुको जाँचबुझ गर्न र त्यस्ता पशुपंक्षी वा यात्रुलाई कुनै सङ्क्रामक रोग लागेको छ भन्ने शङ्का लागेमा अस्पताल तथा अन्य स्थानमा अलग गरी राख्न वा कुनै किसिमबाट ल्याउन लैजान आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार सरकारले गत चैत ११ गतेदेखि मुलुकभर लागू हुने गरी बन्दाबन्दीको आदेश जारी गरेको थियो । झण्डै चार महिनापछि साउन ५ गतेदेखि सरकारले बन्दाबन्दी हटाएको थियो । बन्दाबन्दीको अन्त्य भएको जानकारी गराउँदै गर्दा सरकारका प्रवक्ता डा युवराज खतिवडाले जोखिम घटेर नभई दैनिक जनजीवन सामान्य पार्नका लागि मात्रै बन्दाबन्दी हटाएको बताउनुभयो । अहिले सरकारले जनजीवनलाई सामान्यीकरण गर्दा त्यसको दुरुपयोग बढ्दै गएको पाइएको छ । त्यसैले अहिले उपत्यकालगायत केही स्थानमा कोभिड–१९ को सङ्क्रमण बढिरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम आफूबाहेक अरु सबै कोभिड–१९का बिरामी हुन् भन्ने सोचेर आवश्यक स्वास्थ्य मापदण्ड अपनाए यसबाट जोगिन सक्ने बताउनुहुन्छ । अफिस मै काम गर्दा पनि मापदण्ड अनुशरण गर्नुपर्छ । एकै कोठामा धेरै मानिस नबस्ने, टेबल टाढाटाढा राख्ने, अफिसमा बसिरहेका बेला मास्क अनिवार्य लगाउने, कम जनशक्ति प्रयोग गर्ने, नियमित साबुन पानीले हात धोइराख्ने, आवश्यक सरसफाइ गर्ने सेनिटाइजर लगाउनेजस्ता स्वास्थ्य मापदण्डका काम छाड्न नहुने चिकित्सको सुझाव छ ।

प्रजिअ दाहाल केही दिनदेखि उपत्यकामा सङ्क्रमण देखिन थालेकाले प्रशासनको तर्फबाट उपत्यकामा कडाइ गरिएको बताउनुहुन्छ । उहाँका अनुसार पास प्रणालीमा थप कडाइ गरी अत्यावश्यकलाई मात्रै प्रवेश दिइएको छ । रातिमा प्रवेश रोकिएको छ । मास्क नलगाउनेलाई कारवाही गर्न थालिएको छ ।

प्रहरीमार्फत माईकिङ गरेर सचेतनामूलक प्रचारप्रसार गर्न थालिएको छ । जात्रा पर्व नगर्र्न अनुरोध गरिएको छ तर पनि मानिसको हेपाहा प्रवृत्ति कायमै छ । अनुगमनमा डिपार्टमेन्टल स्टोर्समा समेत सुरक्षा मापदण्ड नअपनाएकाले प्रशासनले मापदण्ड पूरा नगर्नेलाई बन्द गर्ने योजना बनाइएको छ । भाटभटेनीमा अनुगमन गर्दा पनि मापदण्ड पूरा गरेको देखिएन । “कोभिड सकियो भन्ने ढङ्गले आवागमन र व्यापार व्यवसाय गरेको देखियो, सबैले के बुझ्नु पु¥यो भने कोभिड हाम्रो अगाडि छ, सबैलाई दुःख दिइरहेको छ”, प्रजिअ दाहालले थप्नुभयो, “प्रशासनले कारवाही गरेन भनेर खुसी नहुनुस्, कोभिडले कारवाही गर्न सक्छ ।”

स्वास्थ्य विज्ञका अनुसार भौतिक (सामाजिक) दूरी कायम गर्ने, साबुन पानीले हात धुने र मास्क लगाउनु नै त्यसको अचुक दबाइ हो । पछिल्लो समयमा उपत्यकामा प्रहरीसहित स्थानीयलाई कोभिड–१९ देखिन थालेकाले अहिले उपत्यका भित्रिने नाकामा समेत थप कडाइ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतले बताउनुभयो । प्रहरीको आँखा छलेर भित्रिने क्रम भने रोकिएको छैन । नाकामा गाडीमा ओर्लिएर पैदल हिँड्न र नाका कटेपछि पुनः गाडी चढेर जाने यात्रुको सङ्ख्या बढी देखिएको छ । आज दिउँसो सयौँ मानिस त्यसैगरी नागढुङ्गा नाका पार गरिरहेका देखिन्थ्यो ।

काठमाण्डौ उपत्यका जाँदै हुनुहुन्छ ?

कोरोना भाइरसको सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा उपत्यका प्रवेश गर्ने नाका अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा हुने सवारी चाप कम गर्न दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुखबीचमा छलफल भएको छ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्य र दुवै जिल्लाका प्रहरी प्रमुखलगायतको काभ्रेपलाञ्चोकको साँगामा मङ्गलबार भएको बैठकले साँगा नाकालाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर छलफल भएको काभ्रेपलाञ्चोक जिल्लाका प्रजिअ तिमिल्सिनाले बताउनुभयो ।

“साँगा नाकामा देखिने भीडभाड सहजरूपमा व्यवस्थापन गर्ने विषयमा छलफल ग¥यौँ”, उहाँले भन्नुभयो, “सवारी साधन जाँचका क्रममा हुने गरेको भीडका कारण साँगा क्षेत्रका नागरिकलाई जोखिमबाट कसरी मुक्त गर्ने भन्ने विषयमा गहन छलफल भएको छ ।” बैठकमा साँगामा भएको सुरक्षा जाँचको विषयमा जानकारी गराइएको थियो ।

विषेशगरी तराई जिल्लाबाट आएका सवारीसाधन उपत्यका प्रवेश नाका साँगामा कडाइ गर्दा स्थानीय बासिन्दा जोखिममा रहेको भन्दै त्यहाँका बासिन्दाले दुवै जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका थिए । त्यसका लागि काभ्रेपलाञ्चोक जिल्लाको सीमा नाका बिपी राजमार्ग भएर सिन्धुलीबाट आउने सवारी साधनलाई काभ्रेपलाञ्चोकको मङ्गलटारमै रोकिने र अरनिको राजमार्ग भएर सिन्धुपाल्चोकबाट आउने सवारी साधनलाई दोलालघाटमै रोकेर जाँचपास गरी आवश्यकताका आधारमा मात्रै प्रवेश गराउने विषयमा निर्णय भएको जनाइएको छ । बैठकमा बिनापास अन्तर जिल्ला आएका सवारी साधनलाई ती ठाउँमै रोकेर राख्ने कुरालाई अझ कडाइ गर्ने निर्णय भएको प्रजिअ तिमिल्सिनाले बताउनुभयो ।

पास लिएर आएकाहरुले पनि तोकिएको सङ्ख्याभन्दा बढी ल्याउने गरेको पाइएका कारण त्यसलाई समेत कडाइ गर्ने उहाँले बताउनुभयो । सो क्रममा उपत्यका केन्द्रित भएर व्यवसाय गर्ने कर्मचारी, विद्यार्थीका लागि सहज बनाउने विषयमा दुवै जिल्लाबीच सहमति गरेर खुकुलो गर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

सो क्रममा मास्कको प्रयोगबिना बाहिर निस्केको पाइएमा सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारवाही गर्नका लागि पहिलोपटक सचेतनासँगै मास्क नलगाई हिँड्नेलाई मास्क बाँड्ने काम गरिएको उहाँले बताउनुभयो । उहाँ नेतृत्वको टोलीले साँगा र बनेपा चारदोबाटोमा सडकमा हिँड्ने सर्वसाधारणलाई मास्क वितरण गरेको थियो ।

उपत्यकामा स्वाब सङ्कलन गर्न १४ स्वाब केन्द्र

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि उपत्यकाका विभिन्न १४ स्थानमा स्बाव सङ्कलन केन्द्र तोकेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले शङ्कास्पद बिरामीको सम्पर्कमा आएका, जोखिमयुक्त स्थानबाट आएका व्यक्तिको नमूना परीक्षणका लागि स्बाव सङ्कलन गर्न १४ वटा अस्पताललाई स्बाव सङ्कलन केन्द्र तोकिएको बताउनुभयो ।

ती स्बाव सङ्कलन केन्द्रमा गई कोभिड–१९ परीक्षण मापदण्डभित्र तोकिएका व्यक्तिको निःशल्क परीक्षण गरिने छ । उहाँका अनुसार पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, काठमाडौँ मेडिकल कलेज, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई स्वाब सङ्कलन केन्द्र तोकिएको छ ।

ती स्बाव सङ्कलन केन्द्रमा बिहान ९ देखि १ बजेसम्म परीक्षणका लागि नमूना सङ्कलन हुने उहाँले बताउनुभयो । यसैगरी मन्त्रालयले तोकिएको कोभिड–१९ हब अस्पताल, कोभिड–१९ क्लिनिक अस्पताल, कोभिड–१९ अस्पताल लेभल १, २ र ३ मा पनि परीक्षणका लागि स्बाव सङ्कलन गरिनेछ । यसअघि मन्त्रालयले उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा, साँगा र फर्पिङमा स्वाब सङ्कलन गरेको छ ।

यसैगरी उपत्यकामा सङ्क्रमित ठाउँमा गएर इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले पनि स्वाब सङ्कलन गरिरहेको छ । महाशाखाले बढी अग्रपङ्क्तिमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालयमा गई पनि स्वाब सङ्कलन गरिरहेको छ । बैंक, मालपोत तथा नापी कार्यालय, अस्पतालका स्वास्थ्यकर्मी, सिंहदरबारका सरसफाइ गर्ने कर्मचारी, कालीमाटी तरकारी बिक्री केन्द्र लगायतका कार्यालयमा गई स्वाब सङ्कलन गरी कोभिड–१९ परीक्षण गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले स्वाब सङ्कलनका लागि अस्पताललाई निर्देशन दिइसकेको समेत जानकारी दिनुभयो । “हामीले ती स्बाव केन्द्रको रुपमा तोकिएका अस्पताललाई स्वाब सङ्कलनका लागि निर्देशन दिइसकेका छौ”, उहाँले भन्नुभयो, “सायद भोलिदेखि स्वाब सङ्कलन गर्नेछन् ।”

उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र अस्पताल, नेपाल पुलिस अस्पताल, स्टार अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, सेन्ट्रल डाइग्नोष्टि ल्याबरोटरी एन्ड रिसर्च सेन्टर, विध ल्याब र सूर्या हेल्थ केयरबाट कोभिड–१९ को परीक्षण गरिन्छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले उपत्यकामा कोभिड–१९ का शङ्कास्पद सङ्क्रमितको खोजपडताललाई पनि तीव्रता दिइएको बताउनुभयो ।

यसैगरी मन्त्रालयले कोभिड–१९ को महामारी सङ्क्रमण बढिरहेकाले हालको अवस्थामा काठमाडाँै उपत्यकामा समेत यसको जोखिम बढिरहेकाले सर्वसाधारण सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालन गर्न, घरबाहिर अत्यावश्यक अवस्थामा बाहेक ननिस्कने र भीडभाड नगर्न तथा चाडपर्व घरमै बसेर मनाउनसमेत अनुरोध गरिएको उहाँले बताउनुभयो ।

नेपालमा अहिलेसम्म २१ हजार ९ जना सङ्क्रमित भइसकेका छन् । तीमध्ये १५ हजार २६ जना पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् भने पाँच हजार ९२५ जना सक्रिय सङ्क्रमित र ५८ जना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ३४ वटा प्रयोगशालाबाट चार लाख छ हजार ४९४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!