नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले लिपुलेक नजिकैको सीमावर्ती क्षेत्रमा सैन्य गतिविधि बढाएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार चीनले ‘पिपुल्स लिबरेसन आर्मी’ (पीएलए) को एउटा बटालियनलाई लिपुलेक नजिकै तैनाथ गरेको छ । नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले एकाएक सो क्षेत्रमा सैन्य गतिविधि बढाएको भारतीय मिडियाको दावी छ । चीनको सो भूमिकालाई भारतीय मिडियाले आशंकाका दृष्टिले हेरेका छन् ।
भारतीय शीर्ष सैन्य कमाण्डरलाई उद्धृत गर्दै केही भारतीय अखबारका अनलाइन संस्करणले शनिबार यसबारे समाचार प्रकाशित गरेका छन् ।
भारतले लिपुलेक हुँदै कैलाश मानसरोवरलाई जोड्ने सडक निर्माण गरेपछि सो क्षेत्र चर्चाको केन्द्रमा आएको हो । नेपालको गम्भीर आपत्तिका बाबजुद भारतले सडक निर्माण गरी उद्घाटनसमेत गरेपछि नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको हो ।
यसअघि भारतले आफ्नो राजनीतिक नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभागलाई समेटेपछि नेपालले आपत्ति जनाएको थियो । सीमा समस्या समाधानका लागि वार्तामा बस्न लगातार नेपालले जोड दिँदै आए पनि भारतले कोरोना संकट समाधान भएपछिमात्र वार्तामा बस्ने जवाफ दिएको थियो । तर त्यसबीचमै भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि भने नेपालले पनि आफ्नो प्रशासनिक र राजनीतिक नक्सा संशोधन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा समेटेपछि नेपाल–भारत सीमा विवादले दुई देशबीच कुटनीतिक सम्वादहीनताको अवस्था सिर्जना गरेको छ ।
पछिल्लो समय नेपालले कालापानी नजिकै सशस्त्र प्रहरी बल तैनाथ गर्न थालेको र चीनले पनि लिपुलेक नजिकै एक हजारको हाराहारीमा सैनिक तैनाथ गरेको अवस्थालाई भारतीय मिडियाले आशंकाको नजरले व्याख्या गरेका छन् ।
उल्लेखनीय छ, भारत र चीनबीच करिब तीन महिनादेखि लद्दाख क्षेत्रमा सैन्य तनाव जारी छ । गत जुन १५ मा सीमा क्षेत्रमा दुई देशका सेनाबीच हिंस्रक झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो । पछिल्लो समय दुई देशबीच भएको कयौं चरणको वार्तापछि उक्त क्षेत्रबाट दुवै मुलुकका सेना पछाडि हटेको भनिए पनि अवस्था सामान्य भइसकेको छैन ।
यही अवस्थामा भारतीय मिडियाले भारतका शीर्ष सैन्य कमाण्डरलाई उद्धृत गर्दै लिपुलेक नजिकै ठूलो संख्यामा चिनियाँ सैनिक देखिएको समाचार प्रकाशमा ल्याएका हुन् ।