मंगलबार, साउन १३, २०७७ || 1741  पटक पढिएको

सोमबार साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा केही बालबालिका खेल्न गएका थिए। नजिकैको ‘केयर बाल गृह’ मा बस्ने उनीहरूले चउरमा साँझ अनौठो कुरा देखे।

छेउको झाडीमा एउटा बक्सा थियो। बक्साभित्र न्याना कपडाले शरीर पूरै बेरिएको बच्चा थियो। घरमा ओछ्यानमै पल्टिएजसरी बच्चा हाई हाई गरिरहेको थियो।

कार्टुनभित्र बच्चा देखेपछि केटाकेटी झुम्मिए। उनीहरूले ती बालिकाको तस्बिर र भिडिओसमेत खिचे।

भिडिओमा बालिकाहरूले ‘हाम्रो घरमा लगम् न दिदी प्लिज। कस्तो क्युट छ हामीलाई मनपर्‍यो। हाम्रो बहिनी बनाउने नि प्लिज,’ भनेको सुनिन्छ।

त्यतिन्जेल बालिकासँग गएकी निष्मा बोहोराले ‘मामु’लाई खबर गरिसकेकी थिइन्।

उनीहरूकी ‘मामु’ पुष्पा अधिकारी हुन्।

पुष्पाले ‘केयर बाल गृह’ मा १५ बालिका र एक बालकको हेरचाह गर्दै आएकी छिन्।

‘नानीहरूले मामु छिटो आउनुस् न भन्दै मलाई फोन गरिरहेका थिए,’ पुष्पाले सेतोपाटीसँग भनिन्,’उनीहरूलाई पनि मैले सानोदेखि नै पालेकी थिए। बच्चाहरू एकदम मन पराउँछन्।’

बाल गृहका ती बालिकाहरू घरमा खेल्न अप्ठ्यारो भएपछि बाहिर गएर खेल्न जान्थे। त्यही क्रममा उनीहरूले त्यो कार्टुनमा भएकी बच्ची देखेका थिए।

‘पढाइ बन्द भएदेखि हाम्रा बच्चाहरू चौरमा खेल्न जान्छन्। घरमा धेरै बच्चाहरू खेल्न अप्ठ्यारो भएपछि केही घन्टा बाहिर खेल्न पठाउने गर्छौं,’ पुष्पाले भनिन्,’हिजो पनि बच्चाहरू खेल्न जाँदा नानीलाई फेला पारेका हुन्।’

बालिकाले फोन गरेपछि पुष्पा पनि चौरमा पुगिन्।

‘ म पुग्दा ६ बजेको थियो होला। त्यो बच्चालाई दिउँसै ल्याएर छाडेको हुनुपर्छ,’ उनले भनिन्,’अवस्था हेर्दा कसैले पाल्न नसकेर नै यसरी छाडेको हुनुपर्छ भन्ने लाग्यो। मै लगेर पाल्छु भनेर घरमा ल्याएँ।’

उनले बच्ची भेटिएको र आफूले पाल्न लागेको प्रहरीलाई पनि खबर गरेकी थिइन्।

‘मैले प्रहरीलाई पनि खबर गरें। पहिल्यैदेखि मैले यस्तै काम गरिरहेकी छु भन्ने थाहा भएको भएर उहाँहरूले पनि ‘हुन्छ’ भन्नु भयो,’ पुष्पाले भनिन्।

घरमा ल्याइसकेपछि उनले ती बालिकाको नाम राखेकी छन्- प्राप्तिका अधिकारी।

‘मैले हिजो नै आफ्नै थरसँग मिल्नेगरी ती बालिकाको नाम प्राप्तिका राखिसकें,’ उनले भनिन्।

महानगरीय प्रहरी प्रभाग, कपनले बच्चा कसको हो भन्ने खोजी गर्न थालेको छ।

‘हामीले कसको हो भन्ने सोधीखोजी गर्न थालेका छौं,’ प्रहरी निरीक्षक शेखरजंग मल्लले भने।

बाल गृहकी सञ्चालक अधिकारीले कुनै परिवारले दाबी गरे उनीहरूसँग भएका कागजात हेरेर बच्चा उनीहरूकै भएको प्रमाणित भए फिर्ता गरिदिने बताइन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!