आइतबार, साउन ११, २०७७ || 511  पटक पढिएको

आगामी सोमबारदेखि पुनः मौसम सक्रिय हुने भएको छ। वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। यस वर्ष नेपालमा गतजेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो। त्यसै दिन मुलुकका विभिन्न क्षेत्रमा वर्षा भएको थियो भने पर्वतलगायत केही स्थानमा बाढी पहिरोले जनधनको समेत क्षति भएको थियो। त्यसयता पटक/पटक ठाउँ/ठाउँमा भारी वर्षा भयो। गत असार २५ देखि २९ सम्म न्यून चापीय रेखा नेपाल नजिक आउँदा मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको थियो। सोही वर्षाका कारण म्याग्दी, कास्की, जाजरकोट र सिन्धुपाल्चोकमा ठूलाठूला पहिरो खसेर जनधनको क्षति भएको थियो। यही साउन ४ देखि ६ गतेसम्म पुनः न्यून चापीय रेखा नेपाल नजिक पर्दा मनसुनी वर्षा भएको थियो। यसले मुलुकका धेरै ठूला नदीहरूमा बहाव ह्वात्तै बढ्न गई नारायणी, कोशीलगायत नदी खतराको तहसमेत पार गर्दा ठाउँ/ठाउँमा डुबानसमेत भएको थियो भने कतिपय स्थानमा पहिरो खसेर जनजीवन प्रभावित बनाएको थियो। सबै मनसुनी वर्षा आउनुपूर्व नै सरकारले जोखिमको चेतावनी दिँदै सतर्कता अपनाउन भने पछि अकस्मात् खसेको पहिरोले धेरै मानिसको ज्यान लियो। यसपटक आगामी सोमबारदेखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको र न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सोदिनको रातिदेखि सक्रिय हुने मनसुन केही दिन रहने जनाइएको छ। त्यसले मुलुकका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा गराउने सम्भावना छ ।

नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने जनाइएको छ। विगतको घटनासमेतलाई मध्यनजर गरी आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए। प्रिमनसुनको समयदेखि नै भारी वर्षा भएकाले यसपटक जमिन पूर्णरूपमा गलेको, भूकम्पका कारण धाँजा फाटेको ठाउँबाट पानी पसेर भित्र चलायमान गराएको भूगर्भविदको भनाइ छ। भूगर्भविद् शिव बाँस्कोटा पहिले गएका पहिरो सक्रिय हुनसक्ने तथा जमिन गलिसकेकाले थोरै पानी पर्दासमेत अन्य क्षेत्रमा समेत पहिरो खस्नसक्ने तथा नदीमा एक्कासि बाढी बढ्ने भएकाले थप सतर्कता अपनाउनुपर्ने बताए। मनसुन सक्रिय भएपछि मुलुकमा बाढी, पहिरो र चट्याङका कारण १४१ जनाको मृत्यु भइसकेको छ। तीमध्ये सबभन्दा बढी पहिरोले मात्रै १२६ जनाको ज्यान लियो भने ४४ अझै बेपत्ता छन्। उक्त अवधिमा पहिरोमा परेर ११३ घाइते भएका प्राधिकरणले जनाएको छ। यस्तै, बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन्। चट्याङ परेर १७ जनाले ज्यान गुमाए भने ४२ घाइते भएका छन्। यसपटक भने पहिचान भएका जोखिम क्षेत्रमा अगाडि नै उद्धारकर्मी तथा सचेतनाका लागि जनशक्ति परिचालन गर्ने तयारी गरिएको र आजदेखि सम्बद्ध सरोकारवालालाई पूर्वतयारीमा जुट्न भनिएको प्राधिकरण प्रमुख पोखरेलले बताए। यसपटकको मनसुन सक्रिय भएपछि अहिलेसम औषतभन्दा निकै धेरै पानी परिसकेको छ। त्यसैले बाढीपहिरो र डुबानको जोखिम धेरै छ। रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!