शुक्रबार, साउन ०९, २०७७ || 657  पटक पढिएको

अविरल वर्षापछि आएको बाढी पहिराले अरनिको राजमार्गको जुरेबाट तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि बल्लबल्ल खुलेको नेपाल–चीन व्यापारिक नाका तातोपानी फेरि बन्द भएको छ । सडक विभागले चासो नदिँदा अरनिको राजमार्गको कटान भएको सडकखण्ड मर्मत हुनसकेको छैन । चीनमा कोरोनाको सङ्क्रमण बढेपछि विसं २०७६ माघ १३ देखि बन्द नाका गत चैत १६ गतेबाट पुनः सञ्चालनमा आएको थियो । नाका भित्रिसकेका करोडौँ मूल्यका सामग्री तातोपानीमै रोकिएका छन् । तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख लालबहादुर खत्रीले नाकाबाट आयात ठप्प रहेको बताए ।

भन्सार तथ्याङ्कअनुसार नाका चलेको नौ महिनामा तातोपानी भएर रु साढे नौ अर्ब मूल्यको सामग्री आयात भएको थियो । झण्डै रु छ करोडको सामग्री रोकिएको प्रमुख खत्रीले जानकारी दिए । रोकिएका सामग्रीमा कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, तयारी पोशाक र कृषिजन्य सामान छन् ।

केही दिनअघि आएको बाढीपहिराले सडक कटानपछि एम्बुलेन्सलगायत अतिआवश्यक सवारी साधनसमेत सञ्चालन हुन नसकेपछि बाह्रबिसे नगरपालिकाले जुरेमा तत्कालै सडक मर्मत गरेर यातयातका साधन सञ्चालन गरे पनि त्यहाँभन्दा माथि भने समस्या देखिएको छ ।

सडक कार्यालय चरिकोटले सडक मर्मत गर्नका लागि एउटा स्काभेटर ल्याएर काम गरे पनि स्काभेटर बिग्रिएपछि समस्या भएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए । सडक कार्यालयले बिग्रिएको सडक सुधार गर्न प्रभावकारी काम नगरेपछि तातोपानी नाकामा व्यापार व्यवसाय गर्दै आएका व्यापारीले नै स्काभेटर प्रयोग गरिरहेका छन् । त्यस्तै बाह्रबिसे नपाले पनि एउटा स्काभेटर प्रयोग गरेर सडक सुधार गर्न खोजे पनि सडक कार्यालय चरिकोटले सहयोग नगरेको प्रमुख शेर्पाले गुनासो गरे ।

बाढीपहिराले क्षति बनाएको सडक तत्काल सुधार गर्नका लागि एक साताअघि सभामुख अग्नि सापकोटाले सडक विभागका अधिकारीलाई निर्देशन दिए पनि त्यो निर्देशनानुसार कामै नभएको शेर्पाले दुःखेसो गरे । दुई÷तीन दिनमै बाह्रबिसेबाट जम्बुसम्मको बाटो छिचोलिने सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख विजय महतोले बताए । उनका अनुसार बाह्रबिसेबाट जम्बुसम्म चार किलोमिटर दूरी पर्दछ । सडक डिभिजनको स्काभेटर बिग्रेका कारण काममा केही ढिला भएको डिभिजन प्रमुख महतोले बताए । अब निरन्तर बाटो खन्न खटिने उनले जानकारी दिए ।

भोटेकोशी नदीले कटान गरेको खुर्सानीबारी नजिकैको सडक सुधार गरेर सवारी साधन सञ्चालन भइसकेका छन् । खागदलमा पनि सडक मर्मत गरेर अहिले राजमार्गको सबैभन्दा बढी जोखिम रहेको सिरिसेमा सडक कार्यालय, बाह्रविसे नगरपालिका र व्यापारीसहित तीन स्काभेटर लगाएर सडक मर्मत शुरु गरिएको छ । तर सडक कार्यालयको स्काभेटर बिग्रिएपछि दुई स्काभेटरले मात्रै काम गर्दा ढिलाइ भएको प्रमुख शेर्पाले बताए ।

‘जम्बु बजारमा केही थान जाली र ह्युमपाइप हाल्दा अस्थायीरूपमा सडक सुधार गरेर सञ्चालन गर्न सकिन्छ, तर यस्ता सामान्य कुरामा पनि सडक कार्यालयले चासो दिएन, विपत्तिमा पनि सडक कार्यालय कानमा तेल हालेर बस्यो’, प्रमुख शेर्पाले भने, ‘सडक कार्यालयले हामी गर्न सक्दैनौँ भनेर हामीलाई भन्नुप¥यो, हाम्रो स्रोतले सक्ने काम हामी गर्छौं, काम गर्ने हो भने प्रभावकारीरूपमा गर्नुपर्यो ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!