नेपालले कालापानी, लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय टेलिभिजन पत्रकार अरनव गोस्वामीले एउटा बहस कार्यक्रम चलाएका थिए। उक्त बहसमा अरनवले नेपाली पाहुनाहरूलाई आफ्नो कुरा राख्नै नदिई एकोहोरो नेपालको बदख्वाइँ गरेको भन्दै खुब आलोचना भएको थियो।

निम्तालु पाहुनाहरूलाई आफ्ना धारणा राख्ने मौका दिनुको सट्टा निरन्तर आफैं लेक्चर सुनाउने अरनवको पत्रकारिता शैली भारतभित्रै पनि आलोचित छ। उनका हरेक कार्यक्रम प्रसारणपछि त्यसमा सहभागी पाहुना र दर्शकहरूले सामाजिक सञ्जालमार्फत् आफ्नो असन्तुष्टि व्यक्त गर्ने गरेका छन्।

कतिपय पाहुना भने यस्ता पनि हुन्छन्, जसले अरनवसँगको ‘लाइभ’ कार्यक्रमकै बीचमा विभिन्न तरिकाले उनको शैलीप्रति असन्तुष्टि जाहेर गर्छन्।

यही क्रममा सोमबार एउटा भिडिओ भाइरल भयो, जसमा एक दक्षिण भारतीय अभिनेत्री अरनवको लाइभ कार्यक्रममा खाना खाँदै गरेको देखिइन्।

ती अभिनेत्री हुन्, कस्तुरी शंकर।

तमिल, तेलुगु, मलयालम र कन्नड भाषाका फिल्मकी यी चर्चित अभिनेत्रीलाई अरनवले आइतबारको आफ्नो लाइभ बहसमा डाकेका थिए। बहसमा अरू पाहुना पनि थिए। तर, सधैंझैं कार्यक्रममा अधिकांश समय अरनव एक्लै बोलिरहे। पाहुनाहरूले आफ्नो धारणा राख्ने समय नै पाएनन्।

यसबीच अरनव एकोहोरो बोलिरहेका बेला कस्तुरी शंकर लाइभ कार्यक्रमकै बीचमा मज्जाले खाना खाइरहेको देखिइन्। भारतको संस्थापन पक्षसँग निकट मानिने रिपब्लिक टिभीका सञ्चालक तथा पत्रकार गोस्वामीको उक्त कार्यक्रमको दृश्य तुरून्तै सामाजिक सञ्जालमा भाइरल भयो। धेरैले अभिनेत्री कस्तुरी शंकरको उक्त कदमको प्रशंसा गरे। अरनवको एकात्मक शैलीमा सही ढंगले जवाफ दिएको भन्दै उनको तारिफ भयो।

भिडिओ भाइरल भएपछि अभिनेत्री कस्तुरीले सामाजिक सञ्जालबाटै आफ्नो प्रतिक्रिया दिएकी छन्। उनले लेखेकी छन्, ‘मैले ६० मिनेटसम्म अरनवको ‘हाइपरमोड’ हेरेर बिताएँ। उनी त्यसै पनि मलाई आफ्नो कुरा राख्न दिनेवाला थिएनन्। त्यसैले, मैले कार्यक्रम छाडेर खाना खाएँ। तर, मैले आफ्नो स्काइप बन्द गर्न बिर्सेछु। यसका लागि म क्षमा चाहन्छु। यसबाट कसैको अपमान गर्ने मेरो उद्देश्य थिएन।’

यसअघि तृणमूल कंग्रेसकी सांसद महुआ मोइत्राले पनि कार्यक्रमकै बीचमा अरनवको शैलीप्रति असन्तुष्टि जनाएकी थिइन्।

लाइभ बहसमा लगातार आफ्नो कुरा राख्ने कोशिस गर्दा पनि अरनवले बोल्नै नदिएपछि उनले माझी औंली देखाइदिएकी थिइन्। त्यति बेला पनि महुआको खुब प्रशंसा भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!