मंगलबार, आषाढ ३०, २०७७ || 662  पटक पढिएको

अमेरिकी अभिनेत्री नाया रिभेरा बेपत्ता भएको खबर गत बुधबार डढेलोझैं फैलियो। ‘फक्स’ च्यानलको म्युजिकल–कमेडी शृंखला ‘ग्ली’ की ३३ वर्षीया अभिनेत्री रिभेरा आफ्नो चार वर्षे छोरासहित एकाएक हराएकी थिइन्। त्यसै रात लस एन्जल्सबाट उत्तर–पश्चिम पर्ने पिरू तालको उत्तरी कुनामा एउटा डुंगा बेवारिसे अवस्थामा तैरिरहेको छ भन्ने खबर आयो। खबर पाएको झन्डै तीन घन्टामा अनुसन्धान टोली घटनास्थल पुग्यो। प्रहरी टोली पुग्दा बेवारिसे भनिएको डुंगा ढलपल तैरिरहेको थियो। डुंगामा रिभेराका छोरा झन्डै–झन्डै बेहोसी हालतमा थिए। उनको शरीरमा लाइफ ज्याकेट पनि थियो। प्रहरीले तत्काल उनलाई उद्धार गरेर अस्पताल लग्यो। पौडीबाजहरू तालमा हाम्फालेर रिभेराको खोजी गर्न थाले।

डुंगा फेला परेकै ठाउँ वरिपरि निकै बेर खोज्दा पनि कुनै संकेत फेला परेन। तालमुनि बाक्लो झाडी झांगिएको थियो। यसले खोजीमा समस्या ल्याएको अनुसन्धान अधिकृत शेरिफ बिल अयुबले पत्रकार सम्मेलनमा जानकारी दिए।

पौडीबाजहरूले तालको विभिन्न कुनामा पाँच दिन धुइँपत्ताल खोजेपछि सोमबार रिभेराको शव फेला परेको अयुबले बताए। उनले लाइफ ज्याकेट लगाएकी थिइनन्। ‘आत्महत्या वा अरू कसैको हात रहेको संकेत देखिएको छैन,’ उनले भने।

रिभेराका छोरा जोशे होलिस डोर्सेले प्रहरीलाई बताएअनुसार यो घटना कसरी भयो भन्ने खुलेको छ।

दक्षिणी क्यालिफोर्नियाको पिरू तालमा रिभेराको खोजी गर्दै हेलिकप्टर। तस्बिर स्रोत: बिबिसी
उनी आफ्नो छोरालाई लिएर गत बुधबार दक्षिणी क्यालिफोर्नियाको त्यो तालमा डुंगा खियाउन र पौडी खेल्न गएकी थिइन्। तालको बीचतिर पुगेपछि उनीहरू पौडी खेल्न हाम्फाले। अलि बेर पौडेपछि सायद रिभेरालाई केही असहज अनुभव भयो।

उनले भएभरको बल लगाएर छोरालाई डुंगामा चढाइन्। त्यति बेलासम्म सायद उनको शरीरको बल निख्रिसकेको थियो।

छोरालाई बल्लबल्ल डुंगामा चढाएर ज्यान जोगाएकी रिभेराले आफैंलाई भने डुब्नबाट बचाउन सकिनन्।

उनी छोराको आँखैअगाडि विस्तारै पानीमुनि डुब्दै गइन्। र, एकैछिनमा अलप भइन्।

‘सायद उनको खुट्टा तालमुनि फैलिएको झाडीमा अड्किन पुग्यो। खुट्टा अड्किएर चलमलाउन नसकेपछि उनलाई पानीमा तैरिन गाह्रो भयो होला,’ अनुसन्धान अधिकृत अयुबले रिभेराका छोरासँगको कुराकानीका आधारमा सञ्चारकर्मीहरूलाई भने, ‘उनले पक्कै पनि सक्दो बल लगाएर छोरालाई डुंगामा चढाउन सफल भइन्। तर, त्यसपछि आफ्नो ज्यान जोगाउन उनीसँग कुनै ऊर्जा बाँकी थिएन।’

झाडीको जालोबाट खुट्टा फुस्काउन नसकेपछि पानीमा डुबेर उनको मृत्यु भएको अनुसन्धान अधिकृतहरूको अनुमान छ।

रिभेराले तालमा डुंगा खियाउँदा खियाउँदै ‘फेसटाइम’ बाट परिवारका सदस्यहरूसँग कुरा गरेकी थिइन्। उनी हराएको रिपोर्ट पाएपछि प्रहरीले अनुसन्धान क्रममा उक्त भिडियो पनि हेरेका थिए।

ताल किनारको सिसिटिभी फुटेजअनुसार त्यस दिन रिभेराले पार्किङमा गाडी राखेपछि डुंगा भाडामा लिएकी थिइन्। उनले दिउँसो करिब १ बजेबाट डुंगा खियाउन सुरू गरिन्।

बेलुकी निर्धारित समयसम्म डुंगा फर्काउन नआएपछि त्यसका मालिक खोजीमा निस्केका थिए। उनले तालको उत्तरी कुनामा आफ्नो डुंगा तैरिरहेको परैबाट देखे। नजिक गएर हेर्दा रिभेराको छोरा पानीमा लुछुप्पै भिजेर थरथर काम्दै थिए भने रिभेराको अत्तोपत्तो थिएन।

रिभेरा सानै उमेरबाट कला क्षेत्रमा प्रवेश गरेकी हुन्। उनले सानैमा अमेरिकी टिभी विज्ञापनहरू खेलेकी थिइन्। फक्स च्यानलबाट प्रसारित ‘ग्ली’ शृंखलामा उनको भूमिका सबैले रुचाएका थिए। उक्त शृंखलाको सन् २००९ देखि २०१५ सम्म छवटा सिजन चलेको थियो। त्यसमा सान्तना लोपेजको भूमिकाले उनलाई रातारात ‘स्टार’ बनायो।

सन् २०१४ मा उनले हरर फिल्म ‘एट् द डेभिल्स डोर’ मा पनि खेलेकी थिइन्। त्यसै वर्ष अभिनेता रियान डोर्सेसँग उनको विवाह भयो। सन् २०१८ मा डिभोर्स भएपछि दुवैले संयुक्त रूपमा छोराको लालनपालन गर्दै आएका थिए।

यो घटनाको एक दिनअघि मात्र रिभेराले आफू र छोराको फोटो ट्वीट गर्दै लेखेकी थिइन्, ‘जस्ट द टु अफ अस (हामी दुई मात्र)।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!