कोरोना संक्रमणबाट जोगाउन स्थानीय प्रशासनले रौतहटको दुई नगरपालिका सिल गरेको छ ।
जिल्लाको बौधीमाई नगरपालिका र ईशनाथ नगरपालिका अर्को आदेश नहुन्जेलसम्मका लागि सिल गर्ने निर्णय भएको हो।
कोरोना भाईरसको संक्रमण समुदायमा गइसकेको देखिएकाले संक्रमणको जोखिम न्युनीकरण गर्न दुबै नगरपालिकामा सिल गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।
आइतवारको सुरक्षा समितिको निर्णय अनुसार दुबै नगरपालिकाका नागरिकलाई बाहिर जान अथवा बाहिरका मानिसलाई उक्त नगरपालिकामा प्रवेश निषेध गरिएको छ ।
त्यसैगरी बौधीमाई नगरपालिकाका केही कर्मचारीमा समेत संक्रमण देखिएकाले नगरपालिकाको अत्यावश्यक आन्तरिक काम बाहेक नगरपालिकाको सम्पूर्ण सेवा अर्को आदेश नहुन्जेल बन्द गरिएको छ ।
बौधीमाई नगरपालिकाको दुई वटा वडाका अध्यक्षका साथै केही सदस्य तथा कर्मचारी गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसको संक्रमण रौतहटमा दिन प्रतिदिन बढ्दै गएको छ । रौतहटमा संक्रमितको संख्या १२ सय नजिक पुगेको छ । आइतवार थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ११ सय ८९ पुगेको जिल्ला स्वास्थ कार्यालयका प्रमुख महेश साहले जानकारी दिए ।
रौतहटमा कुल ७ सय ७१ जना कोरोना जितेर घर फर्किसकेका छन् ।