आइतबार, आषाढ १४, २०७७ || 691  पटक पढिएको

हेटौंडाकी एक गर्भवतीले गर्भपरीक्षणका लागि स्वास्थ्यचौकी जान डर लागेको बताइन् । गर्भवती र सुत्केरीको रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकाले कोरोना भाइरस मात्र होइन, जुनसकै रोग पनि चाँडै सर्ने गर्छ भन्ने उनलाई लागेको छ ।

हेटौंडा–१४ कै अर्की गर्भवतीलाई घाँटीको समस्या छ । उनी अस्पताल जान सकेकी छैनन् । अस्पतालमा कोरोना लाग्न सक्ने भएकाले जान डर लागेको उनले बताइन् । गर्भवती भएको बेलामा घरमै बसिरहनुपर्दा मानसिक चिन्ता पनि भएको उनले बताइन् ।

समयमा गर्भजाँच गर्न नपाउने र किनमेलमा कठिनाइ तथा आम्दानी नहुँदा पोषिलो खाना अभावलगायत समस्या झेल्न परेको उनीहरुको गुनासो छ ।

अस्पतालमा सामान्य अबस्थामा सुत्केरी गराएर घर पठाइएका महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो । जेठ १६ गते हेटौंडा–१ की गर्भवतीमा कोरोना भाइरस देखिएपछि यहाँका गर्भवती त्रसित छन् । गर्भवतीहरु गर्भपरीक्षण गराउन स्वास्थ्य संस्थामा कसरी जाने भनेर चिन्तित हुन थालेका छन् ।

सुत्केरी पनि अस्पताल जान डराएका छन् । घरबाहिर निस्कन डराउँदा महिलाहरु नियमित परीक्षण गराउनबाट वञ्चित हुँदै आएका छन् । अस्पताललगायत स्वास्थ्य संस्थाबाट कोरोना भाइरस सरेको चर्चा चलेकाले अधिकांश गर्भवती र सुत्केरी स्वास्थ्य सेवा लिन डराएका छन् ।

लकडाउनबाट उत्पन्न यी समस्या साझा हुन् । तर, गर्भवती अवस्था विशेष अवस्था भएकाले लकडाउनको बढी प्रभाव विपन्न परिवारका गर्भवती र बालबालिकालाई पर्न गएको छ ।

हेटौंडा–१४ स्थित मयूरधापमा रहेको मयूरधाप शहरी स्वास्थ्य केन्द्रमा पहिलाजस्तो गर्भवती गर्भपरीक्षण गर्न आउन छाडेका स्वास्थ्यकर्मी अंशु लामाले बताउनुभयो । ‘गर्भवतीहरु स्वास्थ्यचौकी आउन डराएका छन्,’ उहाँले भन्नुभयो– ‘कोरोना भाइरसका कारण सबभन्दा धेरै समस्यामा गर्भवती र सुत्केरी छन् ।’ यो समाचार आजको नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!