आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु साढे ५८ करोड बजेट सार्वजनिक गरेको म्याग्दीको एकमात्र बेनी नगरपालिकाले बेनीलाई स्मार्ट सिटी, नगरपालिकाभित्र रामायण पार्क र २०६० सालमा तत्कालीन नेकपा माओवादीले बेनी आक्रमण गर्दा गोली लागेर छियाछिया भएको विद्युत् पोललाई राख्न सङ्ग्रहालय बनाउने महत्वपूर्ण योजना बनाएको छ । बेनी नगरपालिकाको सातौँ नगरसभामा सार्वजनिक गरिएको नीति तथा कार्यक्रम र बजेटमा उक्त कुराको जानकारी गराइएको हो । बेनी नगरपालिकालाई ‘स्मार्ट सिटी’का रूपमा विकास गर्न आवधिक योजना, क्षेत्रगत गुरुयोजना तयार पार्ने नीति लिएको नगरले बेनीदेखि वडाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरी बाह्रै महिना नियमित सवारी सञ्चालन गर्न सडक स्तरोन्नतिलाई प्राथमिकता दिने घोषणा गरेको छ । त्यसैगरी खरका छाना र काठका विद्युत्का पोल विस्थापित गर्ने कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । त्यसैगरी नगरको महत्वकांक्षी योजना मानिएको रामायण पार्कको डिपिआर कार्यान्वयन गरी रामायण पार्क निर्माणको प्रक्रिया शुर गर्ने र बेनी आक्रमणमा गोली लागेर छियाछिया भएको विद्युत् पोललाई ल्याएर सङ्ग्रहालयमा राख्ने बेनी नगरपालिकाको योजना रहेको छ । पर्यटकीय क्षेत्रको पूर्वाधार विकास तथा प्रवद्र्धन गर्न गलेश्वरधाम, पुलाश्रम, जगन्नाथ, कपिलाश्रम स्वर्गाश्रम, ज्यामरुककोट, बेनीकोट भण्डार, गुफाराम मन्दिर, शिवालय मन्दिर समेटेर धार्मिक सर्किट बनाउने, तातोपानीलाई प्राकृतिक उपचारस्थलका साथै पर्यटकीयस्थल बनाउन जोड दिइएको छ । आन्तरिक स्रोतको पहिचान तथा परिचालन, करदातालाई सम्मान, बेरुजु फछ्र्योटमा प्राथमिकता, घर बहाल करलाई व्यवस्थित बनाउने, कृषि बीमा गर्ने कृषकको प्रिमियम शुल्कमा २५ प्रतिशत अनुदान दिने, ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई निरन्तरता दिने, अण्डा, दूध र मासुमा नगरलाई आत्मनिर्भर बनाउने नीतिमा उल्लेख छ । सिँचाइ सुविधा विस्तार, चौतारी पोखरीको संरक्षण, भूमि बैंक स्थापना गर्ने, सार्वजनिक जग्गाको संरक्षण, स्थानीय कच्चा पदार्थमा आधारित उद्यमको प्रवद्र्धन गर्ने नीति नगरले लिएको छ । सामाजिक क्षेत्रतर्फ विद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलान, अङ्ग्रेजी माध्यमबाट पढाउने विद्यालयलाई प्रोत्साहन, बालमैत्री शिक्षण विधि, ‘एक वडा, एक नमूना विद्यालय’ कार्यक्रम चलाउने, विपन्न जेहेन्दार दलित विद्यार्थीलाई छात्रवृत्ति दिने, निजी छात्रावासलाई नियमन गर्ने, ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम चलाइने भएको छ । ‘एक विद्यालय, एक नर्स’, खानेपानी सुविधा विस्तार गर्न ‘एक घर, एक धारा’ अभियान चलाउने, छाडा पशुको व्यवस्थापन, सडक छेउछाउका पाखोमा बिरुवा रोप्ने, नयाँ ट्र्याक खोल्नेभन्दा स्तरोन्नतिमा जोड दिने, बेनीको ढल निकास र फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने, नदी नियन्त्रणका लागि अन्य निकायसँग समन्वय गर्ने, आमा समूह र युवा क्लबलाई एकीकृत गर्ने नीति नगरले लिएको छ । कोरोना नियन्त्रणका साथै विकास र सेवा प्रवाहलाई निरन्तरता दिने नीति लिइएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । नगरले निजी, सहकारी र सार्वजनिक निकायको साझेदारीमा विकास योजना सञ्चालन गर्ने, रोजगारी सिर्जना गराउने, कृषिको आधुनिकीकरण र विविधीकरण गर्ने, ‘एक वडा, एक युवा क्लब र एक खेलमैदान’को नीति अघि सारेको छ । नगरसभामा उपप्रमुख सञ्जु बरुवालले रु ५८ करोड ५५ लाख ४३ हजार २६४ को बजेट प्रस्तुत गर्नुभएको थियो । बेनीको कूल बजेटमध्ये आन्तरिक आम्दानी रु चार करोड तीन लाख २५ हजार हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!