काठमाडौं उपत्यकाभित्रै कम्युनिस्ट निकट वडाध्यक्षले जितेको वडामा ९६ वर्षीया वृद्ध महिलाको वृद्ध भत्ता किर्ते गरेर झ्वाम पारिदिएको खुलासा भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको क्षेत्रमा उनकै दलका वडाध्यक्ष मोहन विष्टले वृद्धाको भत्ता हिनामिना गरिदिएका हुन् । वडा नम्बर ४ को गीताञ्जली मार्ग बस्ने ९६ वर्षीया चिजमाया लिम्बूका आफन्तले ‘वरिष्ठ ज्येष्ठ नागरिक महानगर भत्ता’का लागि वडा कार्यालयलाई सोमबार आग्रह गरेका थिए ।

भत्ता दिनुको साटो वडाध्यक्ष र सदस्यहरू मिलेर प्रहरी लगाएर भत्ता माग्ने वृद्धाका नातीद्वय सुमन लिम्बू र सुरज गुरुङलाई नै दुई दिनदेखि थुनाएर राखेका छन् । भत्ता माग्ने क्रममा वृद्धाका आफन्त र वडाध्यक्ष विष्टबीच भनाभन र धकेलाधकेल भएको थियो । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल निकट मानिने वडाध्यक्ष विष्टले राजनीतिक दवाव लगाएर भत्ता माग्नेलाई नै थुनाएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने यो वडामा मन्त्री पोखरेल नै प्रतिनिधि सभामा निर्वाचित भएका छन् । वडा कार्यालयले भत्ता वितरण भइसकेको भनेर दिन अस्वीकार गरेपछि वृद्धालाई नै लिएर उनीहरू सोमबार वडा कार्यालयमा गएका थिए । वडा कार्यालयमा भत्ता दिइसकेको बताएपछि उनीहरूले आफ्नो नाममा अरूलाई दिएको आरोप लगाएका थिए । वडा कार्यालयमा वृद्धाका आफन्त र पदाधिकारी तथा कर्मचारीबीच विवाद हुँदा कुटाकुट भएको छ ।

आफ्नो भत्ता गायब बनाएर खाएको भन्दै चिजमाया लिम्बूले मंगलबार वडाध्यक्ष विष्ट, वडा सदस्य दिनेश महर्जन र ध्रुवप्रसाद त्रिपाठीविरुद्ध किर्ते मुद्दामा प्रहरीमा जाहेरी दिएकी छिन् । आफ्नो १२ हजार वृद्ध भत्ता किर्ते गरेर कर्मचारीले लिएको भन्दै उनले जाहेरी दिएकी हुन् । वडाध्यक्ष विष्टले भत्ता वितरण गर्ने क्रममा एउटा व्यक्तिको नाममा अर्काेले हस्ताक्षर गर्दा समस्या भएको बताएका छन् ।

उनले भने, ‘भत्ता खाएका छैनौँ । हस्ताक्षर गर्दा समस्या देखिएको छ ।’ वृद्धाको भत्ता यसरी किर्ते गरेर लिन मिल्छ र ? भन्ने जिज्ञासामा वडाध्यक्ष विष्टले भत्ता किर्ते गरेर नखाएको दाबी गरे । प्रहरीमा उजुरी परेपछि वडा कार्यालयले लिम्बूको नाममा भत्ता लिएर हस्ताक्षर गरेको विवरण च्यातेको छ । किर्ते मुद्दा दर्ता नगर्न प्रहरीमाथि वडाध्यक्ष विष्टले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलमार्फत दबाब दिएका छन् ।

महाराजगञ्जका प्रहरी प्रमुख डीएसपी रोशन खड्काले दुई जना युवालाई पक्राउ गरेर अभद्र गरेको विषयमा अनुसन्धान गरिरहेको बताए । ९६ वर्षीया वृद्धाको भत्ता किर्ते गरेर खाएको विषयमा किटानी जाहेरी परेका व्यक्तिहरूलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ कि पर्दैन भनेर सोधिएको प्रश्नमा डीएसपी खड्काले अनुसन्धान भइरहेको भन्दै पन्छिन खोजे ।

उनले आफूलाई यो विषयमा कुनै पनि दवाव नआएको बताए । वृद्धाको भत्ता किर्ते गरेर खाएको विरोधमा नेपाल तरुण दलले वडा कार्यालयविरुद्ध आन्दोलन शुरु गरेको छ । वडा कार्यालयविरुद्ध बृद्धाको परिवारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!