शनिबार, आषाढ ०६, २०७७ || 770  पटक पढिएको

दाङस्थित घोराही उपमहानगरपालिकाले चार विद्यालयलाई नजीकैको अर्को विद्यालयमा समायोजन गरेको छ । विद्यार्थी संख्या न्यून रहेकाले ती विद्यालयलाई समायोजन गरिएको उपमहानगरपालिका, शिक्षा, युवा तथा खेलकूद महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख विनोद गौतमले नगरपालिका बैठकको निर्णयानुसार घोराही –६को प्रावि गुरुवा गाउँलाई सोही वडाको मावि जजरागाउँ र प्रावि पक्वैलाई जयशेर माविमा समायोजन गरिएको जानकारी दिनुभयो । त्यस्तै वडा नं १८ को प्रावि मसिनालाई सोही वडाको मावि रझेना, वडा नं ७ को प्रावि घुस्रालाई सोही वडाको मावि सौडियार र वडा नं १२ को प्रावि पेदाको कक्षा ४ लाई मावि हापुर विजौरीमा समायोजन गरिएको गौतमले जानकारी दिनुभयो । विद्यालयको समायोजन पत्रानुसार उपमहानगरले निर्णय लिएको महाशाखाले जनाएको छ । महाशाखाले विद्यालयमा रहेका विद्यार्थी सङ्ख्याका आधारमा गत पुसमा उपमहानगरपालिकाभित्र शिक्षक दरबन्दी मिलान गरिसकेको छ । पाठ्यपुस्तक वितरण बन्दाबन्दी खुकुलो बन्दै गएपछि दाङका सामुदायिक विद्यालयले सामाजिक दूूरी कायम गर्दै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्न शुरु गरेका छन् । विद्यालय नखुले पनि स्वाध्ययनका लागि पाठ्यपुस्तक वितरण शुरु गरिएको विद्यालयले जनाएका छन् । जिल्लाका १० स्थानीय तहका कक्षा १० सम्मका ४२३ सामुदायिक विद्यालयमा पुस्तक वितरणशुरु गरिएको छ । विद्यालय क्वारेन्टिन बनाइएका कारण कतै विद्यार्थीको घरमै पुगेर पुस्तक उपलब्ध गराइएको छ भने कतै सम्पर्क शिक्षक वा कर्मचारी तोकी उनीहरुसँग सम्पर्क गरेर पुस्तक लिन विद्यार्थीलाई भनिएको छ । क्वारेन्टिन नराखिएका विद्यालयमा भने विद्यालयबाटै सामाजिक दूूरी कायम गरी पुस्तक वितरण गरिएको स्थानीय पालिकाका शिक्षा शाखा प्रमुखले जानकारी दिएका छन् । जिल्लाका सामुदायिक विद्यालयले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यम प्रयोग गरी पुस्तक वितरणको काम अघि बढाएको जनाएका छन् । जिल्लाकै जेठो पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालय भरतपुरले जेठको अन्तिम सातादेखि पुस्तक वितरण गरिरहेको प्रधानाध्यापक रामप्रसाद जैसीले जानकारी दिनुभयो । प्रभावकारी बन्दै रेडियो स्कूल कक्षा राजापुर– बर्दियामा एक महिनादेखि रेडियो स्कूल कक्षा शिक्षा कार्यक्रममार्फत विद्यार्थी घरमै बसेर अध्ययन गरिरहेका छन् । कोरोना भाइरसको जोखिम बढेपछि सञ्चालन गरिएको रेडियो स्कूल कक्षा कार्यक्रमबाट विद्यालय खुल्न नसक्दा घरमै बसेका विद्यार्थीलाई फाइदा भएको छ । बर्दियाका स्थानीय तहको समन्वयमा रेडियो स्कूल कक्षा कार्यक्रम निर्माण गरी विद्यार्थीका लागि स्थानीय एफएम रेडियोबाट स्कूल नमूना कक्षा शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । कक्षा ४ देखि १० सम्मका बिद्यार्थीका लागि सञ्चालन गरिएको रेडियो स्कूल कक्षाले सबै तहका विद्यार्थीलाई घरमै बसेर अध्ययन गर्न सहयोग पु¥याएको बारबर्दिया नगरपालिकास्थित युवक मावि जोगीगाउँका विद्यार्थी राकेश चौधरीले बताउनुभयो । रेडियोबाट कक्षा सञ्चालन भएपछि सुनेर पढिरहेको मधुवन नगरपालिकास्थित आनन्द आधारभूत विद्यालयका कक्षा ८ उत्तीर्ण विद्यार्थी बमबहादुर शाहीले बताउनुभयो । पढ्ने बानी हराउन थालेका बेला रेडियोबाट कक्षा सञ्चालन हुँदा विद्यार्थी पढाइप्रति उत्प्रेरित भएको मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर क्षेत्रीको भनाइ थियो । विद्यार्थीको पढाइ अवरुद्ध भएका कारण अध्ययन गर्ने क्रम नरोकियोस् भनेर शुरु गरिएको रेडियो स्कूल कक्षा कार्यक्रम प्रभावकारी भएको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो । बर्दिया, मधुवनमा रहेको रामज्ञानु एफएम ८९ मेगााहर्ज, गुलरियामा रहेको रेडियो बबई १०६ मेगाहर्ज, भुरीगाउँको रेडियो टाइगर एफएम ९९.२ मेगााहर्ज र बाँसगढीमा रहेको रेडियो गुरुबाबा एफएम १०६.४ मेगाहर्जबाट रेडियो कक्षा कार्यक्रम सञ्चालन गरिएको हो । नमूना माविमा छात्रावास भवन बन्दै रुकुमपूर्व– सिस्ने गाउँपालिका वडा नं ५ मा रहेको रुक्मिणी माविमा छात्रावास भवन निर्माणको काम शुरु भएको छ । कूल रु ९८ लाख बजेटमा निर्माण हुन लागेको छात्रावास भवन निर्माणको काम बन्दाबन्दीका कारण दुई साताअघि मात्र शुरु गरी असार मसान्तमा सक्ने लक्ष्य राखिएको छ । यस वर्ष रु ९८ लाख बजेटबाट एक तलाको १० कोठे भवन निर्माण गर्न लागिएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द्र समालले जानकारी दिनुभयो । विद्यालयको लक्ष्य तीन तलाको बनाउने छ । चालु आर्थिक वर्षमा एकतलाको काम सक्ने र अर्को वर्ष अर्को तला थप्ने गरी काम हुने छ । छात्रावास भवन नमूना विद्यालयअन्तर्गतको हो । देशभरिका २२० नमूना विद्यालयमध्ये रुक्मिणी मावि पनि एउटा हो । नमूना विद्यालयमा छनोट भएका सबै विद्यालयलाई केन्द्र सरकारले प्रत्येक वर्ष रु डेढ करोड बजेट पठाउने गरेको छ । पहिलो वर्ष विद्यालयमा आएको रु डेढ करोड बजेटबाट माविले एउटा बस किनेको विव्यसका अध्यक्ष समालले बताउनुभयो । उहाँका अनुसार सेनेटरी प्याड राख्ने यन्त्र र विद्यार्थीलाई दिवा खाजाको समेत व्यवस्था गरिएको छ । चालु वर्षमा छात्रावास भवन निर्माणसँगै बिदाका समयमा पठनपाठन सञ्चालन गरी शिक्षकलाई भत्ता, फर्निचर खरीद, थप शिक्षक व्यवस्थापनलगायत काम गरिएको छ । रुक्मिणी मावि जिल्लाकै पुरानो विद्यालय मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!