शुक्रबार, आषाढ ०५, २०७७ || 1889  पटक पढिएको

बसुन्धराका फर्निचर व्यवसायी राजु सापकोटा असार लागेदेखि यति धेरै व्यस्त छन् कि, कोरोना संक्रमणपछि जारी भएको लडकडाउनभरिको फुर्सद बिर्सिसके ।

बसुन्धरामात्रै हैन, चावहिल, जोरपाटी, डिल्लीबजार, बागबजारतिरका फर्निचर व्यवसायी यतिबेला आम्दानीसँगै तनाव पनि थपिरहेका छन् ।

यस्तो हुनुको कारण विचित्रको छ ।

सिंगो घर भाडामा लिएर बनेका होटल तथा गेष्ट हाउसहरु अहिले धमाधम खालि गरिँदैछ ।

बिनाव्यापार महिनैपिच्छे लाखौँ घरभाडा तिर्नुको सट्टा घर खालि गर्‍यो, टण्टै साफ । घर खालि गर्दा गेष्ट हाउसका कोठैपिच्छेका खाट, दराज के गर्ने ?

घरबेटीलाई ती खाट र दराजको पैसा तिर्नुपर्ने भाडामा काट्न अनुरोध त गरिन्छ ।

तर, नगद छोडेर जिन्सीमा चित्त बुझाउने घरबेटी पाउनै मुस्किल ।

अनि, ती सामान त्यत्तिकै फालेर हिँड्नुभन्दा फर्निचर–रिकण्डिसनलाई सस्तोमा बेच्ने लहर चलेको छ ।

होटल, गेष्ट हाउसमात्र हैन, सानातिना शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी), तालिम केन्द्र, विभिन्न देशका भाषा पढाउने ठाउँहरु पनि यस्तो मारमा परेका हुन् ।

लकडाउन खुलिहालेछ भने पनि कम्तिमा अर्को ६ महिना मानिसहरु हत्तपत्त होटल, गेष्ट हाउस छिर्दैनन् ।

च्याम्बर अफ कमर्शका सन्तोष पाण्डेका अनुसार, वैदेशिक रोजगारीमा जानका निम्ति देशका विभिन्न भागबाट काठमाडौं आई बसोबास गरिने निम्नस्तरका होटल तथा गेष्ट हाउसहरु मारमा पर्न थालिसकेका छन् ।

विशेषतः गोंगबु बसपार्कका ८० प्रतिशत होटल यस्तो स्थितिमा पुगेका छन् ।

एउटै घरमा तीनवटा गेष्ट हाउस र पाँचवटासम्म दोहोरी चल्थे।

ती चल्ने भनेको विदेश जान काठमाडौं आएका र विदेशबाट घर जान काठमाडौं उत्रिएर बसपार्कमा केही दिन रमाइलो गर्न बस्नेहरुका कारण हो ।

तर, अब यो क्रम ठप्प छ । कोरोनाबाट पूर्णतः उन्मुक्ति मिलेछ भने पनि यो व्यवसाय तंग्रिन अर्को डेढ–दुई वर्ष लाग्छ ।

त्यसैले ती गेष्ट हाउस र दोहोरीले एउटा कुनामा सामान पोको पारेर घर खालि गरिदिएका छन् ।

तर, यसो गर्दा पनि घरधनी र भाडामा व्यवसाय चलाउनेबीच समस्या आउन थालेको छ ।

कतिपय घरधनीहरु घर भाडामा लिएर गेष्ट हाउस चलाउने मानिसको खोजी गर्न प्रहरीकहाँ पुगेका छन् ।

प्रहरीले भाडामा घर लिएर व्यवसाय सञ्चालन गरेका ती मानिससँग सम्पर्क गर्छ । जवाफ पाउँछ, ‘तीन महिनाको भाडा तिर्न सक्दिनँ । एक महिनाको पैसा तिरेर कोठा खालि गरिदिन्छु भन्दा घरबेटीले मान्दैनन् । अनि, हामी किन उसको सम्पर्कमा आउने ?’

यससँगै, त्यसक्षेत्रका विभिन्न सटरहरु पनि खालि गर्न थालिएका छन् ।

चोरीमा नयाँपन

बसुन्धरा, सामाखुशीतिरको अर्को अचम्म देखिन्छ, चोरीका घटनामा ।

नगद, गरगहना चोरीका दैनिक घटना अहिले शून्यमा झरेको छ । तर, चोरीका सूचना प्रहरीकहाँ पुग्ने क्रम जारी छ ।

तर, चोरीका विषयहरु सुन्दा पनि अचम्मलाग्दा छन् ।

‘सुकाएर राखेको लुगा, भर्खर किनेर ल्याएको तरकारी, टायर, मोटरसाइकलको हेल्मेटजस्ता प्रायः चोरी नहुने, भए पनि खबर नआउने सामानहरु हराएको कुराले हामीलाई हैरान पारिसक्यो’, नयाँबसपार्क प्रहरी प्रभागका इन्स्पेक्टर सन्तोषकुमार दाहालले बताए ।

इन्स्पेक्टर दाहालले संकेत गरेका चोरीका प्रबृत्तिलाई हेर्ने हो भने राजधानीका अति विपन्न क्षेत्र र समुदायमा चाँडै भोकमरी शुरु हुने खतरा छ ।

किनभने, मान्छे जब सुकाएको लुगा र अरुले किनेर ल्याएको तरकारीसमेत चोर्ने अवस्थामा पुग्छ, यसको हुन्छ कि, खाने समस्या बढ्यो ।

चोरीका यस्तै घटना आजकल सुन्धारा, खुशीबु टाउन प्लानिङ, नयाँबजार, नील सरस्वतीस्थान (लाजिम्पाट) तिर पनि देखिन थालेका छन् ।

संकटमा श्रमिक महिला

शहरका रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायमा आधारित भई श्रम गर्ने महिनाहरु जटिल समस्यामा छन् ।

तलबभन्दा ग्राहकबाट पाइने टिप्सका भरमा गुजारा गर्ने ती महिलाहरु अहिले न्युनतम आवश्यकताको अभावमा छन् ।

ठमेलकेन्द्रित श्रमिक महिला रक्षा संघकी अध्यक्ष सविना तामाङका अनुसार समयमै ती महिलालाई अरु क्षेत्रमा पुनस्र्थापित गर्न नसकिए विकराल सामाजिक विसंगति सिर्जना हुने सम्भावना छ ।

बाध्यत्मक यौन क्रियाकलापबाट पुनस्र्थापित भएर मनोरञ्जनात्मक क्षेत्रको रोजगारीमा गएका महिलाहरु पुरानै काममा फर्किन थाले भने त्यसले गम्भीर सामाजिक समस्या सिर्जना गर्ने तामाङको दावी छ ।

त्यसो त क्षेत्रपाटी, नयाँबजारको खोला किनारातिर चलाइएका कतिपय खाजाघरभित्र अहिले पनि यौन व्यवसाय फस्टाएको सूचना सोह्रखुट्टे प्रहरीले पाइरहेको छ । तर, प्रहरी टोली पुग्दा उनीहरु पहिल्यै तितरवितर हुने गरेका छन् ।

सोह्रखुट्टे प्रहरीका डिएसपी दीपक खड्का भन्छन्, ‘कुनै खाजा घरको ढोका अगाडिबाट खोलेको भए हामी बन्द गराउने नाममा त्यहाँ पुग्न सक्छौँ । तर, ढोका पूरै बन्द छ भने ढोका फोडेर भित्र जाने अधिकार हामीसँग पनि हुँदैन ।’ श्रमिक महिला रक्षा संघकी अध्यक्ष तामाङ भने त्यस्तो क्षेत्रमा आधारित श्रमिक महिलालाई मास्क सिलाउने र सेनिटाइजर बनाउने विधिको तालिम शुरु गर्न लागेको बताउँछिन् ।

तर, मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुमा मेहेनत कम, आर्थिक उपार्जन बढी गर्ने बानी लागेका कारण तामाङले भनेजस्तो वैकल्पिक पेशामा उनीहरु सजिलै पुग्न भने गाह्रो छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!