जनता समाजवादी पार्टीकी नेतृ (समाजवादी पार्टीकी सांसद) सरिता गिरीलाई कारवाही गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीमा विवाद देखिएको छ ।

तत्कालीन समाजवादी पार्टीका केही नेताले सरिता गिरीलाई कारवाही गर्नुपर्ने दबाब नेतृत्वलाई दिइरहेका छन् भने अर्को पक्षले उनको बचाउ गरेका छन् । उनीमाथिको कारवाहीका बारेमा पार्टीभित्र देखिएको मतविभाजनमा खासगरी पहाडी समुदाय र मधेसी समुदायका नेताबीच ध्रुवीकरण भएको हो ।

सो पार्टीमा रहेका अधिकांश पहाडी समुदायका नेताले सरिता गिरीद्वारा राष्ट्रिय एकताको विरुद्धमा अभिव्यक्ति दिनुको साथै पार्टीको अनुशासन उल्लंघन भएको तर्क गर्दै उनलाई सांसद पदबाट निलम्बन गर्नुको साथै पार्टीको साधारण सदस्यबाट पनि निष्काशन गर्नुपर्ने दबाब दिइरहेका छन् । तर मधेसी समुदायका नेताहरुले सरिता गिरीबाट गल्ती भए पनि सांसदबाटै निलम्बन गर्नुपर्ने खालको गल्ती नगरेको जिकिर गर्दै पार्टीमा छलफल गरेरमात्र कारवाहीको प्रकृया अगाडि बढाउन नेतृत्व तहमा दबाब दिइरहेका छन् ।

तत्कालीन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा राजेन्द्र श्रेष्ठले सरिता गिरीलाई सांसद पदबाट निलम्बन गर्ने पत्र तयार गरी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाको हस्ताक्षर गराउन गएका थिए ।
तर, सो पार्टीका सांसदहरु रेणु यादव, प्रदीप यादवलगायतकाले गिरीमाथि त्यतिकै कारवाही गर्न नहुने भन्दै रोक लगाएको स्रोतले जनाएको छ ।

तत्कालीन समाजवादी पार्टीका दुवैजना अध्यक्ष उपत्यका बाहिर भएको हुनाले हाललाई कारवाही प्रकृया स्थगित गरी उनीहरु फर्केपछि बैठक बसेरमात्र त्यसबारे निर्णय लिनुपर्ने भन्दै राजेन्द्र श्रेष्ठलाई रोकेका थिए ।

तैपनि श्रेष्ठले पत्रमा हस्ताक्षर गराउने प्रयास जारी नै राखे । त्यही बीचमा उमाशंकर अरगरिया आफ्नो मोवाइल अफ गरी सम्पर्कविहीन भए । अरगरिया सम्पर्कमा नआएपछि उक्त पत्रमा हस्ताक्षर भएन र सरिता गिरी कारवाहीबाट जोगिएकी थिइन् ।

अध्यक्ष यादव आफ्नो छोराको विवाहका लागि विराटनगर गएका छन् । उनको छोराको विवाह बुधबार सम्पन्न भयो । उनी शुक्रबारसम्म काठमाडौं आउने र उनी आइपुगेपछि संसदीय दलको बैठक बसेर सरिता गिरीको कारवाहीको बारेमा निर्णय गर्ने बताइएको छ ।

सरिता गिरीलाई कारवाही गरेकोबारे सञ्चारमाध्यममा समाचार आउन थालेपछि समाजवादी पार्टीकी सांसद रेणु यादवले आफ्नो फेसबुकमा लेखिन्, ‘मा.सरिता गिरीलाई अहिले कुनै कारवाही नभएको जानकारी गराउन चाहन्छु ।

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवजी काठमाडौं बाहिर हुनहुन्छ । आएपछि संसदीय दलको बैठक बसी छलफल हुनेछ । पार्टीको आन्तरिक कुरामा धेरै मिडियाबाजी नगरिदिनु हुन आग्रह छ ।’
तत्कालीन समाजवादी पार्टीका केही मधेसी सांसदहरुले तत्कालीन राजपा नेपालका नेता तथा सांसदहरुसँग पनि यसबारे कुरा गरेका छन् ।

समाजवादी पार्टी र राजपा नेपाल एक भएर जनता समाजवादी पार्टी बनिसकेको छ, अब कुनै पनि निर्णयमा जनता समाजवादी पार्टीले चासो लिनुपर्ने उनीहरुको भनाइ रहेको स्रोतले जनाएको छ । अहिलेको अवस्थामा सरिता गिरीलाई कारवाही भयो भने मधेसमा राम्रो सन्देश नजाने भएकाले तत्कालीन राजपा नेपालका नेताहरुलाई पनि यसमा चासो लिन ती नेताहरुले आग्रह गरेको स्रोतले जनाएको छ ।

सांसदबाट निलम्बन गर्नुबाहेक अरु कारवाही गरे केही फरक पर्दैन तर संसदबाटै निलम्बन गरियो भने मधेसका एकजना सांसद कम हुने तर्क मधेसी सांसदहरुको छ ।

सांसद सरिता गिरी खस आर्यको कोटामा समानुपातिक सांसद भएकी हुन् । उनलाई संसदबाट हटाइयो भने रिक्त सिटमा उनको पछि नाम रहेको लिला सिटौला सांसद बन्नेछिन् । र, समाजवादी पार्टीका पहाडी समुदायका नेताहरुले लिला सिटौलालाई सांसद बनाउनकै लागि सरिता गिरीलाई कारवाही हुनुपर्ने दबाब पार्टीमा बढाइरहेको स्रातेको दावी छ ।

सरकारले जारी गरेको नक्साको विपक्षमा रहेकी सरिता गिरीको पक्षमा मधेसको माहोल रहेको र गिरीलाई कारवाही भयो भने तराई मधेसमा राम्रो सन्देश नजाने तथा पार्टीलाई असर गर्ने मधेसी नेताहरुको दावी छ । सरिता गिरीको विपक्षमा हिमाल र पहाड देखिएको छ भने तराई मधेसमा गिरीकै पक्षमा माहोल देखिएको हुनाले तत्कालीन समाजवादी पार्टीका मधेसी सांसदहरुले गिरीमाथि कारवाही हुनबाट जोगाउन पहल गरेका छन् । गिरीले पार्टीको लाइनविपरित संविधान संशोधन विधेयकमा संशोधन हालकी थिइन् भने सो फिर्ता नलिएपछि उनीमाथि कारबाहीको प्रसंग चलेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!