बाँकेमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन गरिएको छ । बुधबार दिउँसो नेपाली सेनाको भैरवप्रसाद गणको विशेष तालिम प्राप्त टोलीले शव व्यवस्थापन गरेको हो । नेपाली सेनाको टोलीले सङ्क्रमित महिलाको शवलाई कोहलपुरस्थित मेडिकल कलेजको शिक्षण अस्पतालबाट प्लाष्टिकमा बेरेर मानखोला नजिकैको जंगलमा लगेर गाडेको छ ।

सङ्क्रमितको शवलाई बोक्न सवारी साधनको समस्या भएपछि बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले आफूले प्रयोग गर्ने पिकअप गाडी उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । सङ्क्रमित महिलाको शवलाई मानखोलाको जंगलमा जेसीबीबाट खाल्डो खनेर गाडिएको थियो । गत जेठ ३० गते दिउँसो कोहलपुर शिक्षण अस्पतालको आपतकालिन कक्षमा भर्ना भएकी बाँकेको बैजनाथ गाउँपालिका ६ का ४६ वर्षीया महिलाको सोमबार बेलुका साँढे ६ बजे मृत्यु भएको थियो ।

दायाँ फोक्सामा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलाको सोही दिन स्वाब सङ्कलन गरिएको थियो । मंगलबार बेलुका आएको रिपोर्टमा ती महिलामा कोरोना सङ्क्रमण देखिएको थियो । कोरोना परीक्षणको रिपोर्ट आउनुभन्दा एक दिन पहिलेनै ती महिलाको ज्यान गएको हो । मृत्यु भएपछि महिलाको शव अस्पतालकै शवगृहमा राखिएको थियो ।

ती महिलाको आइसियुमा राखेर उपचार गरिएकोले आइसियुलाई अहिले सिल गरिएको छ भने महिलाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभएको छ ।

बैजनाथकी ती महिलाको मृत्युुसँगै बाँकेमा कोरोनाबाट मर्नेको संख्या दुई पुगेको छ । यसअघि जिल्लाको नरैनापुरमा भारतको मुम्बईबाट आएका एक युवकको क्वारेन्टाइनमा मृत्यु भएको थियोे । झाडा पखाला लागेर नरैनापुर नयाँबस्तीका ती युवकको मृत्युपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
उनको शवलाई पनि सेनाको टोलीले राप्ती नदीको किनारमा जेसीबीले खाल्डो खनेर गाडेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!