काठमाडौं – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेपाल–भारत सीमा विवाद समाधानका लागि वार्ताको सहजीकरण गर्न आफू तयार रहेको बताएका छन् ।

गोरखा जिल्ला सदरमुकाममा सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा वार्ताको वातावरण निर्माणका लागि भारतीय नेतासँग आफूले छलफल गरिरहेको नेता भट्टराईले बताए ।

नेता भट्टराईले भारतीय नेताहरूले वार्ताको वातावरण बनाउन आफूलाई पटक–पटक आग्रह गरेको समेत जानकारी दिएका छन् । ‘भारतका विदेशमन्त्री जयशंकर, अर्थमन्त्री निर्मला सीतारमन जेएनयुकै सहपाठी हुुनुहुन्छ,’ पूर्व प्रधानमन्त्री डा. भट्टराईले भने, ‘उहाँहरूसँग भावनात्मक सम्बन्ध पनि भएकाले बेला–बेलामा सम्पर्क भइरहेको छ । अब त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवार ढंगले लाग्नुपर्छ ।’

वार्ताको नेतृत्व सरकारले गर्नुपर्ने भन्दै डा. भट्टराईले आफू सहजीकरण गर्न सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् । पूर्व प्रधानमन्त्री डा. भट्टराईले वार्ता र संवादकै माध्यमबाट दुई देशबीचको वर्तमान सीमा विवादको समाधान खोजिनुपर्नेमा जोड दिएका छन् ।

देशको खोसिएको भूमि प्राप्त गर्न फौजी ढंगले अघि बढ्नु अहिलेको सन्दर्भमा असान्दर्भिक हुने डा. भट्टराईले बताए । ‘कालापानी क्षेत्रका विषयमा जुन कुरा उठेको छ, त्यो हाम्रो भूमि हो, हाम्रो भूमि कसैले खोसेर लान त सक्दैन,’ डा भट्टराईले भने, ‘अब अत्यन्त जिम्मेवार ढंगले राजनीतिक र कूटनीतिक वार्तामार्फत समाधानको बाटो खोज्नु उपयुक्त हुन्छ ।’

भट्टराईले आफ्नो देशको मिचिएको भूमिमा भोगाधिकार स्थापित गर्न फौजी ढंगको बल प्रयोग गरेर भारतीय सेनालाई निष्कासित गर्नु एउटा बाटो भए पनि अहिलेको विश्वमा त्यो बुद्धिमानी र व्यावहारिक नहुने बताए । पूर्व प्रधानमन्त्री डा. भट्टराईले वार्ताको पहल नगरी गरिएका वक्तव्यबाजीले मात्र समस्याको समाधान नहुने समेत दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!