शनिबार, जेठ ३१, २०७७ || 700  पटक पढिएको

मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ९ भौडाहस्थित इटहरा स्वास्थ्य चौकीलाई स्तरउन्नति गरी मदन भण्डारी अस्पतालका रुपमा विकास गर्न पहल सुरु गरिएको छ । जनप्रतिनिधि र स्थानीय राजनैतिक अगुवासहित शनिबार भएको आम भेलाले उक्त स्वास्थ्य चौकीलाई मदन भण्डारी अस्पताल बनाउन आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।

१० नम्बर वडा अध्यक्ष टंक ढकालको अध्यक्षतामा भएको भेलाले अस्पताल स्थापनाको प्रक्रिया अगाडी बढाउन मदन भण्डारी अस्पताल स्थापना पहल समिति समेत गठन गरेको छ । १५ सदस्सीय पहल समितिमा नेकपा मोरङ जिल्ला कमिटी सदस्य मेघनाथ शर्मा कट्टेल अध्यक्ष र ८ नम्बर वडा अध्यक्ष नन्दकुमार चापागाई (गोपी) सचिव रहनु भएको छ ।

पहल समितिको सदस्यहरुमा वडा नम्बर ९ का वडा अध्यक्ष इन्द्रबहादुर चोङवाङ, वडा नम्बर १० का वडा अध्यक्ष टंक ढकाल र ९ नम्बर वडा सदस्य देवी गौतम हुनुहुन्छ । त्यसैगरी देवीप्रसाद दाहल, डगेन्द्रकेश्वर ढकाल, टुकबहादुर कार्की, सागर पौडेल, रञ्जना अधिकारी, ठगेन्द्रप्रसाद न्यौपाने, बालकृष्ण ढकाल, अनिश कार्की, समिर सुवेदी र भित्रलाल मिश्र पनि पहल समिति सदस्यमा रहनु भएको छ ।

आम भेलालाई सम्बोधन गर्दै पूर्व मोरङ जिविस सदस्य एवम् नेकपा प्रदेश कमिटी सदस्य चन्द्रवीर राईले मुलुकको लोकतान्त्रिक आन्दोलनमा इटहराको बिशिष्ट योगदान रहेको भन्दै नेकपाको सरकारले यस क्षेत्रको न्यूनतम आवश्यकता परिपूर्तिमा ध्यान दिनुपर्ने बताउनुभयो । जननेता मदन भण्डारीको कर्म क्षेत्रका रुपमा रहेको इटहरामा उहाँकै नामबाट अस्पताल स्थापना गर्न आफूहरुले विगत केही वर्षदेखि निरन्तर पहल गरिरहेको पनि जानकारी दिनुभयो ।

औपचारिकरुपमा स्थानीयबासीका तर्फबाट २०७५ सालमा केन्द्र सरकार र प्रदेश सरकारमा अस्पताल स्थापनाका लागि प्रस्ताव पत्र पेश गरिएको नेता राईले बताउनुभयो । यी सबै पहलकदमी र प्रक्रियाहरुको बिषयहरु उल्लेख गरी राष्ट्रपति बिद्यादेवी भण्डारीलाई समेत ज्ञापन पत्र बुझाइएको उहाँले बताउनुभयो ।
पहल समितिका अध्यक्ष मेघनाथ शर्मा कट्टेलले अस्पताल स्थापनाका लागि आफूहरुले गरेको पहलमा पटकपटक सरकारी आश्वासन प्राप्त भएर पनि योजना स्विकृत नभएको भन्दै आफ्नै पार्टीको सरकारप्रति गुनासो व्यक्त गर्नुभयो । मुलुकको राजनैतिक इतिहाससँग जोडिएका स्थलहरुको संरक्षण–सर्वधन र विकासमा सरकारले महत्व दिनुपर्ने उहाँको भनाई छ ।

नेपाल कम्युनिष्ट पार्टीको मार्गदर्शक सिद्यान्त जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र उहाँकी धर्मपत्नी एवम् नेपालकी प्रथम महिला राष्ट्रपति बिद्यादेवी भण्डारीको कर्मथलोका रुपमा रहेको ऐतिहासिक गाँउ इटहराको पहिचानलाई थप प्रकाशित गर्न मदन भण्डारी अस्पतालको स्थापना गर्न खोजिएको उहाँले उल्लेख गर्नुभयो ।

भेलाका अध्यक्ष तथा १० नम्बर वडा अध्यक्ष टंक ढकालले मदन भण्डारी अस्पताल स्थापनाको पहल कसैको देखासिकी र सिको नभएको बताउनुभयो । उर्लाबारीको मंगलबारस्थित प्राथामिक स्वास्थ्य केन्द्रलाई सरकारले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने सरकारको निर्णयको विरोध गर्दै भइरहेको आन्दोलनको प्रसंग उल्लेख गर्दै वडा अध्यक्ष ढकालले आफूहरुले त्यसको फाइदा लिन नखोजेको जिकिर गर्नुभयो ।

इटहरामा मदन भण्डारीका नाममा अस्पताल सञ्चालन गर्न संविधान जारी भएदेखि नै पहल भइरहेको स्मरण गराउँदै उहाँले भन्नुभयो, “हामीले मदन भण्डारीको कर्मथलो मै मदन भण्डारी अस्पताल बनाउन खोजेका हौँ । निरन्तर पहल गरिरहेका छौ । योे योजना हाम्रो पहिचानसँग जोडिएको विषय हो । ”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!