समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि संसद सचिवालयमा पेश गरेको संशोधन फिर्ता नलिने अडान पार्टी संसदीय दलको बैठकमा लिएको पाइएको छ ।
आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले संशोधन फिर्ता लिन आग्रह गरेपछि उनले फिर्ता नलिने अडान दोहोर्याएको सांसद प्रदीप यादवले बताए ।
संविधानको अनुसूची ३ को बारेमा संसदमा छलफल भयो भने मात्र फिर्ता लिने नत्र नलिने उनले बैठकमा कुरा राखेकी थिइन् ।
लगत्तै नयाँ नक्सा अनुसार निशान छाप परिमार्जनका लागि प्रतिनिधिसभामा प्रस्तुत गरिएको संविधान संशोधन विधेयकमा मतदान गर्न संसदीय दलले ह्रीप जारी गरेपछि सरिता गिरी बैठक छाडेर हिँडेकी थिइन् । उनी आफ्नो संशोधनको बारेमा संसदमै जवाफ दिने भन्दै बैठकबाट बाहिरिएकी थिइन् ।
तर, बैठकमा सरकारले ल्याएको विधेयकको पक्षमा मतदान गरिएन भने पार्टीप्रति नराम्रो सन्देश जाने भन्दै राष्ट्रिय अखण्डताका लागि एकजुट भएर मतदान गर्न उपेन्द्र यादवले बैठकमा आग्रह गरेका थिए । उनले राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा पार्टीलाई एकजुट हुन आह्वान गर्दा सांसद सरिता गिरीले फेरि पनि संविधानको अनुसूची ३ मा बहसको माग गरेकी थिइन् ।
सरिता गिरी उठेर गएपछि समाजवादी पार्टी संसदीय दलले सभामुखलाई पत्र लेखेर सांसद गिरीले संसद सचिवालयमा पेस गरेको विधेयक अस्वीकृत गर्न आग्रह गरेको थियो । सोहीअनुसार उनको संशोधन प्रस्ताव अस्वीकृत भइसकेको छ।