जसले कोरोना लागेको पत्तै नपाई ज्यान गुमाए
कोरोनाको रिपोर्ट नहुँदा अस्पतालले भर्ना गरेन, घर फर्किंदा बाटोमै मृत्यु
अर्घाखाँची- क्वारेन्टाइनमा बस्दा बिरामी भएपछि अस्पताल भर्ना हुन गएका अर्घाखाँचीका एकजनाको बुधबार बाटोमै मृत्यु भएको छ । अस्पतालले भर्ना नगरेपछि क्वारेन्टाइनमा फर्किंदा मृत्यु भएका मालारानी गाउँपालिका निवासी ५७ वर्षीय पुरूषलाई कोरोना संक्रमण भएको बिहीबार रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय विकले बताए ।

पिसिआर रिपोर्ट पोजेटिभ आएपछि व्यवस्थापनको टुंगो नलाग्दा शुक्रबार विहानसम्म शव पौवामै अलपत्र अवस्थामा छ । उनका आफन्त र स्थानीय तीन दिनदेखि शवलाई पौवामा राखेर कुर्दै बसेका छन् । शव व्यवस्थापनका लागि स्थानीय र प्रशासनबीच छलफल भइरहेको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए ।

१५ जेठमा भारतको मुम्बईबाट आएका उनी मालारानी गाउँपालिका– ४ को क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बसेको एक सातापछि छाती दुख्ने, सास फेर्न गाह्रो हुने समस्या देखिएको थियो । त्यसपछि उनको कोरोना परीक्षणका लागि २३ जेठमा स्वाब संकलन गरेर भैरहवा प्रादेशिक अस्पताल पठाएको थियो ।

एक सातासम्म रिपोर्ट नआएपछि उनी २७ जेठमा उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क गएका थिए । जिल्ला अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो । त्यही दिन बुटवल पुगेका उनलाई अस्पतालले भर्ना गरेन । कोरोनाको रिपोर्ट आएपछि मात्रै भर्ना गर्ने भन्दै अस्पतालले भर्ना नगरेको उनका छोराले बताए ।

अस्पतालले भर्ना नगरेपछि उनी २८ जेठमा औषधि बोकेर फेरि क्वारेन्टाइनतर्फ फर्केका थिए । तर, क्वारेन्टाइनमा नपुग्दै बुधबार साँझ उनको बाटोमै मृत्यु भएको थियाे ।

यसअघि प्रादेशिक अस्पताल पठाएको उनको स्वाबको नमुना पनि हराएको खबर आयो । त्यसपछि पुनः मृत्यु भएपछि बुधबार स्वाब संकलन गरिएको मालारानी स्वास्थ्य संयोजक भविश्वर खनालले बताए ।

यसअघि पनि अर्घाखाँचीका ३७ वर्षीय युवकको मृत्यु भएपछि मात्रै कोरोना पुष्टि भएको थियो । भारतबाट फर्केका युवकको १० जेठमा कपिलवस्तुको कृष्णनगरनजिक बसभित्रै मृत्यु भएको थियो । उनको कपिलवस्तुमै स्वाब संकलन गरिएको थियो ।

उनको शव कपिलवस्तुबाट अर्घाखाँची ल्याएर अन्त्येष्टि गरिएको थियो । अन्त्येष्टि गरेको ६ दिनपछि कोरोना संक्रमण भएको रिपोर्ट आयो । त्यसपछि अन्त्येष्टिमा सहभागी सबैको कोरोना परीक्षण गरियो । उनको सम्पर्कमा आएका एकजना उपप्रमुखसहित ३१ जनालाई कोरोना देखिएको छ । उनीहरू सबैको अहिले आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

अन्तिम संस्कारपछि कोरोना भएको रिपोर्ट, सम्पर्कमा आएकाको एक सातासम्म स्वाब संकलन भएन

धनगढी- सेती प्रादेशिक अस्पतालको डायलाइसिस सेन्टरमा डायलाइसिस गराउने क्रममा २३ जेठमा धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीयाको मृत्यु भयो । त्यो दिन ढिलाइ भएकाले अर्को दिन बिहान अन्तिम संस्कार गरे । ६१ जना मलामी घर फर्केपछि २४ गते दिउँसो कोरोना संक्रमण भएको रिपोर्ट आयो ।

कन्ट्याक्ट टे«सिङको टोलीमा सहभागी धनगढी उपमहानगरमा कार्यरत हेल्थ असिस्टेन्ट भूपेन्द्र महराका अनुसार मलामीमध्ये २० जना प्रत्यक्ष शवको सम्पर्कमा रहेको देखिएको छ । परिवारका सदस्य र मलामीको थ्रोट स्वाबको नमुना अहिले पनि संकलन हुन सकेको छैन । प्रयोगशालामै जाँच हुन बाँकी थ्रोट स्वाबका नमुनाको चाप रहेकाले संकलन हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । ‘अहिले प्रयोगशालामा नमुनाको चाप बढी छ, त्यही भएर मृतक महिलाको सम्पर्कमा रहेकाहरूको स्वाब संकलन हुन नसकेको हो । भिटिएमको पनि अभाव छ,’ धामीले भने, ‘शवको सम्पर्कमा रहेकाहरूलाई पिसिआर जाँच नभएसम्म होम क्वारेन्टाइनमै बस्न आग्रह गरेका छौँ ।’ मिर्गौला रोगबाट पीडित ती महिलाको डायलाइसिस गर्नुअघि आरडिटी जाँच गर्दा एन्टिबडी नेगेटिभ देखिएको थियो ।

यस्तै बाजुरामा १८ जेठमा कोरोनाको आशंकामा आइसोलेसनमा राखिएकी दुई वर्षीया बालिकाको मृत्यु भयो । मृत्यु भएको एक दिनपछि मात्रै बालिकामा कोरोना रहेको पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि नेपाली सेनाको टिमले सुरक्षित तरिकाले शवको अन्त्येष्टि गरेको थियो । मृतक बालिका आमाबुबासँगै भारतबाट फर्केकी थिइन् । उनकी आमामा पनि संक्रमण देखिएको छ ।

सुदूरपश्चिममा हालसम्म आठ हजार दुई सय ५२ जनाको थ्रोट स्वाबको नमुना जाँच गरिएकोमा एक सय ८८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार एक हजार ६ सय ७२ वटा थ्रोट स्वाबका नमुना जाँच हुन बाँकी छ । प्रदेशभर सेती प्रादेशिक अस्पतालमातहतको प्रयोगशालामा मात्रै पिसिआर जाँचको सुविधा छ । प्रयोगशालामा दैनिक साढे दुई सय नमुना जाँच हुने गरेको छ । थ्रोट स्वाबको नमुना थुप्रिएर भण्डारण गर्न समस्या भएपछि पाँच दिनदेखि थ्रोट स्वाबको नमुना संकलन नै रोकिएको छ । प्रदेशभर एउटै प्रयोगशाला भएकाले नमुनाहरू थुप्रिन थालेपछि स्वाब संकलन रोक्नुपरेको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताएका छन् ।

थ्रोट स्वाबको जाँच सुस्त हुँदा कोरोनाको लक्षण देखिएका र आरडिटी पोजेटिभ देखिएकाहरूको पिसिआर जाँच हुन सकेको छैन । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आरडिटी पोजेटिभ देखिएका ढेड हजारभन्दा बढीको पिसिआर जाँच हुन बाँकी रहेको छ । कोरोनाको लक्षण देखिएकालाई पनि पिसिआरबाट परीक्षण गर्न नपाएको स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ । ‘पिसिआरका लागि प्रदेशले किट छैन भन्छ । जाँच नभएकाले क्वारेन्टाइनमा बस्ने अवधि पुगेर उनीहरूलाई घर पठाउन सकेका छैनौँ,’ कैलालीको चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकाले भने ।

डायलाइसिस गर्न नपाएर मृत्यु, पछिमात्रै कोरोना संक्रमण भएको पुष्टि

पोखरा- मिर्गौलाको उपचारका लागि भारत गएका स्याङ्जाको वालिङ– ३ का ६० वर्षीय वृद्ध २३ जेठमा स्वदेश फर्किएका थिए । उनलाई भारतबाट आएकाले आइसोलेसनमा राखिएको थियो ।

उनको अवस्था गम्भीर भएपछि २५ जेठमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । लामो समयदेखि मिर्गौलापीडित उनलाई प्रेसर र सुगरको पनि समस्या देखिएको थियो । उनको रक्तचापलाई ठीक अवस्थामा ल्याउन नसक्दा डायलाइसिस गर्न सकिएको थिएन । डायलाइसिस गर्न नपाउँदै त्यही दिन राति ११ः२५ बजे मृत्यु भयो । उनको पनि मृत्यु भएपछि मात्रै कोरोना संक्रमण भएको रिपोर्ट आयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार उनलाई सुरुमा प्रि–आइसोलेसन वार्डमा राखेर परीक्षण गरिएको थियो । उनको अन्य बिरामीसँग सम्पर्क नभएको अस्पतालले जनाएको छ ।

सुनौलीमा मृत्युपछि कोरोना पुष्टि

भैरहवा- भारतको मुम्बईबाट फर्केका नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकाका ३५ वर्षीय युवक बुधबार बिहान ४ बजे सुनौली नाका पुगेका थिए । उनको ५ बजे मृत्यु भयो ।

मृत्यु भएपछि उनको स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएको इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर ईश्वरी अधिकारीले बताए । बिहीबार उनको दाहसंस्कार हुन सकेको छैन । त्यसका लागि छलफल भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
उनीसँगै भारतबाट एउटै गाडीमा ४८ जना आएका थिए । उनीहरूसँगै सुनौली नाकाबाट बुधबार बिहान तीन सय ६७ जना नेपाल प्रवेश गरेको प्रहरीको रिकर्ड छ । अहिले उनीसँगै गाडीमा आएका ४८ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरू कसैको पनि ठेगाना खुलेको छैन ।

कर्णालीमा दुई सातामा तीनको मृत्यु, सबैको मृत्युपछि मात्रै कोरोना पुष्टि

सुर्खेत-कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका– ११ का ३५ वर्षीय पुरुषको १७ जेठमा दुल्लुस्थित विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा मृत्यु भयो । मृत्युपछि उनको स्वाब परीक्षण गर्दा १८ जेठमा कोरोना संक्रमण भएको रिपोर्ट आयो ।

सुर्खेतको पञ्चपुरी नगरपालिका– १ खानीडाँडाका २० वर्षीय युवक भारतबाट फर्किएपछि १५ दिनसम्म जनता माविको क्वारेन्टाइनमा बसेका थिए । उनको आरडिटी नेगेटिभ आएपछि घर पठाएको थियो । घर पठाएकै दिन २२ जेठमा मृत्यु भयो । उनको मृत्युपछि स्वाब संकलन गरियो । २३ जेठमा आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भयो ।

त्यस्तै, डोल्पाको जगदुल्ला गाउँपालिका– ३ का ५८ वर्षीय पुरुषको २० जेठमा होम क्वारेन्टाइनमा मृत्यु भयो । उनको मृत्यु भएको चार दिनपछि २४ जेठमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो ।

कर्णालीमा सुर्खेतको पशुपछी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरी दुई प्रयोगशालाबाट कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म कर्णालीका १२ हजार नौ सय सातको परीक्षण गरिएको छ । सुर्खेतमा एक हजार र जुम्लामा नौ सय ७५ गरी जम्मा एक हजार नौ सय ७५ नमुना परीक्षण गर्न बाँकी रहेको कर्णाली स्वास्थ्य निर्देशनालयका निर्देशन रिता भण्डारीले जानकारी दिइन् ।

बाँके र बर्दियामा एक–एकजनाको मृत्यु

बाँके-कोरोनाका कारण दाङ र बाँकेमा एक–एकजनाको मृत्यु भएको छ । दुवैजनाको मृत्युपछि मात्रै कोरोना भएको रिपोर्ट आएको छ ।

बाँकेको नरैनापुर गाउँपालिका–५ नयाँबस्तीका २५ वर्षीय युवकको ४ जेठ बिहान क्वारेन्टाइनमा मृत्यु भयो । भारतको मुम्बईबाट आएका युवालाई ३० वैशाखमा नरैनापुर गाउँपालिका–५ स्थित दीपेन्द्र प्राथमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । मृत्यु भएपछि भेरी अस्पताल नेपालगन्जमा कोरोना जाँच गर्दा उनमा कोरोना देखिएको थियो । उनको मृत्युअघि सोही क्वारेन्टाइनमा रहेका आठजनामा पनि कोरोना पुष्टि भएको थियो ।

यसैगरी, भारतको नयाँदिल्लीमा व्यवसाय गर्दै आएका घोराही उपमहानगरपालिका–१८, दाङका एक व्यक्तिको पनि मृत्युपछि कोरोना पुष्टि भएको छ । लामो समयदेखि दम र सुगर रोगबाट पीडित ५९ वर्षीयको मृत्युपछि कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

नयाँदिल्लीमै उपचारका क्रममा मृत्यु भएका उनको शव २४ जेठमा दाङ ल्याएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो । अन्तिम संस्कारका लागि गृहजिल्लामा ल्याइएको उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

गुल्मीका युवकको मात्रै मृत्युअघि कोरोना पुष्टि

रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा ८ जेठमा मृत्यु भएका गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय युवकको मात्रै मृत्युअघि कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो । उनी १ जेठमा अस्पताल भर्ना भएका थिए ।
सुरुवातमा उनको आकस्मिक कक्षमा उपचार भएको थियो । कोरोनाको लक्षण देखिएपछि २ जेठमा स्वाब संकलन गरिएको थियो । ५ जेठमा आएको रिपोर्टमा कोरोना संक्रमण भएको देखिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै ७ जेठमा मृत्यु भएको थियो ।

पिसिआर मेसिन किन्न वीरगन्जमा चन्दा संकलन

एकातिर स्वास्थ्य सामग्री खरिदमा खर्च अनियन्त्रित छ भने कोरोनाको हटस्पट पर्सामा पिसिआर मेसिन किन्न चन्दा संकलन सुरु भएको छ । वीरगन्ज महानगरपालिकाले किन्न लागेको पिसिआर मेसिनका लागि रकम अपुग हुने भन्दै स्वैछिक चन्दा मागिएको छ । रकम जुटाउनका लागि कोरोना कोष सञ्चालन गरिएको छ ।

कोषमा अहिलेसम्म एक करोड ५७ लाख जम्मा भएको छ । वीरगन्ज उद्योग वाणिज्य संघले ७० लाख सहयोग गरेको छ । पिसिआर मेसिन खरिद गरी नारायणी अस्पतालमा जडान गर्ने महानगरपालिकाको योजना छ । प्रदेश २ को वीरगन्ज, सप्तरी र जनकपुरमा पिसिआर ल्याब छ । तर, परीक्षण निकै सुस्त छ । प्रदेश २ मा बिहीबारसम्म १५ हजार नमुना रिपोर्टको प्रतीक्षामा छन् । जब कि यो प्रदेशमा भएका तीन प्रयोगशालाबाट दिनमा आठ सय ७२ नमुना मात्र परीक्षण हुन्छ । अहिलेको गतिमा परीक्षण भए संकलित नमुनाको रिपोर्ट दिन मात्र १७ दिने लाग्नेछ ।यो खबर आजको नया पत्रिकामा प्रकाशित ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!