बल्वा नगरपालिका– ११ रौजास्थित क्वारेन्टाइनमा बसेकाहरू शौचालय अभावमा बिहान झिसमिसेमै खेत र बगरतिर कुद्ने गर्छन् । क्वारेन्टाइनले गाँस र वासको व्यवस्था गरे पनि शौचालय नबनाउँदा उनीहरू खेत र बगरमा कुद्न बाध्य भएका हुन् ।
गत मंगलबार भारतबाट आएका एक सय चारजनामध्ये रौजास्थित क्वारेन्टाइनमा अहिले ३२ जना छन् । आरडिटी परीक्षणमा अन्यलाई नेगेटिभ देखिएपछि घर पठाइएको थियो । पोजेटिभ देखिएका ३२ जनालाई क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ । भारतका विभिन्न प्रान्तबाट आएका उनीहरू गाँस र वास जसोतसो भेटिए पनि निकास (शौचालय) को व्यवस्थापन नहुँदा बगर र खेत धाउनुपरेको गुनासो गर्छन् ।
पुरुष मात्रै होइनन्, क्वारेन्टाइनमा रहेका महिला पनि शौच गर्न खुला चौर र खेतमै जान्छन् । एसियाकै पहिलो खुला दिसामुक्त देश घोषणा भए पनि एउटा शौचालयसमेत बनाउन कुनै तहका सरकारले नसकेकोमा क्वारेन्टाइनमा बस्नेहरू व्यंग्य गर्छन् । यति मात्रै होइन, क्वारेन्टाइनमा सामान्य सुरक्षाका उपायसमेत अपनाइएको छैन । बल्वा भगवतिपुरका सन्तोषकुमार मिश्रले क्वारेन्टाइनमा बस्नेलाई मास्क र स्यानिटाइजरसमेत नदिएको बताए । उनले जनप्रतिनिधिहरूलाई एक दिन मात्रै भए पनि क्वारेन्टाइनमा बसेर देखाइदिन आग्रह गरेका छन् । क्वारेन्टाइनमा बस्नेलाई दिने खानासमेत खान अयोग्य रहेको उनी बताउँछन् ।
हतारमा शौचालय बनाउन सकेनौँ : नगरपालिका
बल्वा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यमुनाप्रसाद यादवले क्वारेन्टाइनमा शौचालयको अभाव भएको स्वीकार गरे । क्वारेन्टाइन राख्ने स्थान अभावका कारण यही ठाउँमा राख्न बाध्य भएको र हतारमा शौचालय बनाउन नसकेको उनले बताए । उनले पिसिआर परीक्षणका लागि दुई साताअघि पठाएका नमुनाको समेत रिपाेर्ट नआएको बताए ।
बल्वा नगरपालिकामा– ५ स्थित क्वारेन्टाइनमा पनि अहिले ४१ जना आरडिटीमा पोजेटिभ देखिएकासहित एक सय ११ जना छन् । यो खबर आजको नया पत्रिकामा प्रकाशित ।