खबर ठुलो छ

कोरोना भाइरसविरूद्ध औषधि तयार गरेको दाबी गरेपछि त्रिभुवन विश्वविद्यालय, वन विज्ञान तथा अध्ययन संस्थानका प्राध्यापक डा. ललितकुमार दास अहिले चर्चामा छन्।

यसबारे राष्ट्रिय समाचार समिति (रासस) द्वारा सम्प्रेषित दुई समाचार सेतोपाटीले पनि छापेको थियो।नेपालमा तयार भएको कोरोना भाइरसविरुद्धको औषधिकाे परीक्षण प्रक्रिया सुरूविश्व स्वास्थ्य संगठनको चासो कोरोनाविरुद्ध नेपालको खोपमा

समाचारमा डा. दासले औषधि बनाएको र विश्व स्वास्थ्य संगठनले यसबारे चासो दिएको उल्लेख थियो। यसकै फलोअप स्टोरीमा डा. दासले यसको परीक्षण प्रक्रिया पनि सुरू गरेको राससले लेखेको थियो।यो कुरालाई लिएर कतिपय विज्ञहरूले परीक्षण भएर प्रमाणीकरण नगरी औषधि बन्यो भनेर प्रचार गर्दा भ्रमसँगै खतरा निम्त्याउने मत राखेका थिए।हामीले यसबारे थप बुझ्न डा. दाससँग कुराकानी गर्‍यौं।डा. दासले आफूले कोरोनाविरूद्ध औषधि नभएर यसको ‘मोडलिङ’ मात्र गरेको बताएका छन्।

‘मैले कोरोनाविरूद्ध औषधि बनाएको होइन। सुरूआती मोडलिङ तयार गरेको हुँ,’ डा. दासले सेतोपाटीसँग भने, ‘परीक्षण नभई औषधि भन्न मिल्दैन।’
उनले भाइरसको प्रकृतिबारे अध्ययन गरेर औषधिका दुइटा ‘मोडल’ तयार पारेको जनाए। मोडलको परीक्षण सफल भए यसलाई कोरोना उपचारको औषधिका रूपमा प्रयोग गर्न सकिने उनको दाबी छ।डा. दास भन्छन्, ‘एउटा औषधिलाई संक्रमणको उपचारमा र अर्कोलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रयोग गर्न सकिन्छ।’

दुईमध्ये पहिलो मोडलको औषधिले भाइरसको पहिलो तहमा रहेको बोसो पातलो बनाउने र भाइरसलाई परास्त गर्ने उनको दाबी छ। उनले औषधिको नमूना तरल पदार्थका रूपमा तयार पारेको पनि बताए।दासका अनुसार उनले यो काम सबै अनलाइनमा भएका लेखहरू अध्ययन र आफूमा भएको विज्ञता प्रयोग गरेर गरेका हुन्। ती लेखको सूक्ष्म अध्ययनलाई नै उनले औषधिको मोडल तयार पार्नुको वैज्ञानिक आधार मानेका छन्।उसो भए उनी औषधि निर्माणको कुन चरणमा छन् त?

डा. दासको काम र यसका प्रक्रिया केलाउँदा उनी एकदमै सुरूआती चरणमा छन्। अर्थात् अनुसन्धानकै चरणमा। अनुसन्धान सकेर यसमा थप काम गर्न दासले नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट अनुमति लिनुपर्छ। अहिलेसम्म उनले परिषदबाट अनुमति लिएका छैनन्।परिषदको अनुसन्धानमा काम गरिरहेका मेघनाथ धिमाल भन्छन्, ‘उहाँले प्रस्ताव गरेपछि सबै कुरा हेरेर स्वीकृति दिने काम हुन्छ। तर परिषदले उहाँलाई सघाउने मात्र हो। बाँकी यसको क्लिनिकल टेस्टदेखि सबै कुरा उहाँले नै गर्नुपर्छ।’

यो प्रक्रियाबारे दास भने अलमल छन्। आफू थप प्रक्रियाबारे त्यति जानकार नभएको बताउँदै दासले भने, ‘मैले उहाँहरूलाई अहिले तयार पारेको नमूना दिने हो। थप यसको परीक्षण प्रमाणीकरण गर्ने काम सरकारको हो।’औषधिको मोडललाई थप परीक्षण चरणमा लाने हो भने क्लिनिकल टेस्ट गर्नुपर्छ। त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजीका प्रध्यापक डा. प्रकाश घिमिरेका अनुसार क्लिनिकल टेस्ट गर्दा सुरूमा जनावर र पछि मान्छेमा गर्नुपर्छ।

जनावरमा परीक्षण सफल भएपछि मात्र मानवमा परीक्षण गर्ने बाटो खुल्छ। मान्छेमा परीक्षण गर्दा पनि तीन चरणमा गर्नुपर्छ।पहिलो चरणमा एक सयभन्दा बढी, दोस्रो चरणमा ५ सय बढी र तेस्रो चरणमा हजारौं संख्यामा परीक्षण गर्नुपर्छ। यसरी परीक्षण प्रमाणीकरण भएपछि त्यसलाई जर्नलमा प्रकाशित गर्ने र विश्व स्वास्थ्य संगठनले मान्यता दिनुपर्छ।

दासले बनाएको औषधि मोडल क्लिनिकल टेस्टमै सफल हुने/नहुने टुंगो छैन। यसमा सफल भएपछि मात्र औषधि उत्पादनको काम सुरू हुन्छ। त्यसअघि पनि औषधिको डोज कति बनाउने, कस्ता बिरामीमा प्रयोग गर्ने, कुन उमेरकालाई कति परिमाणमा दिने लगायत सबै प्रमाणीकरण गर्नुपर्छ।औषधि विकासको सुरूआती चरणमै रहेका दासलाई यी सबै प्रक्रिया पुर्‍याउन सजिलो छैन।

उनले अब दोस्रो चरणको अनुमति पाउने वैज्ञानिक आधार कम देखिन्छ। ‘औषधिजस्तो कुरा हावा तालमा बनाएर हुन्न। अहिले एउटाले गर्ने र भोलि अर्कोले गर्ने होइन। कम्तिमा त्यसको प्रभावकारिता प्रमाणित गर्नुपर्छ,’ परिषदका अर्का सदस्य भन्छन्।अर्को कुरा दासले बनाएको औषधिको क्लिनिकल टेस्ट कसले गर्ने भन्ने टुंगो छैन। दास यो टेस्टको जिम्मा सरकारले लिनुपर्ने बताउँछन्।

‘मैले दिएको नमूना परीक्षण गरेर प्रमाणीकरण गर्ने काम सरकारको हो। सरकारले सक्दैन भने बाहिरी सहायता लिएर आफैं यसको परीक्षण गर्छु,’ उनी भन्छन्।परिषद भने जसले औषधि विकासको काम गरेको हो, उसैले क्लिनिकल टेस्ट गर्नुपर्ने जनाएको छ। केही काममा दाससँग सहकार्य गर्न सकिए पनि मुख्य क्लिनिकल टेस्टको कार्यमा उनी आफैं सक्रिय हुनुपर्ने परिषदको भनाइ छ।

दासले आवश्यक वैज्ञानिक आधार पेस गर्न सके मात्र क्लिनिकल टेस्टको अनुमति पाउन सक्छन्। अहिलेसम्मको अनुसन्धानमा काम गर्न भने उनलाई अनुमतिको आवश्यक पर्दैन।नेपाल स्वास्थ्य परिषद ऐन २०४७ को दफा ११ (१) बमोजिम मानवसम्बन्धी अध्ययन वा अनुसन्धान गर्न परिषदको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था छ। यो स्वीकृति दिनुपूर्व अनुसन्धान र औषधिको मोडल कसरी तयार गरियो भनेर दरिलो वैज्ञानिक आधार खोजिन्छ।

डा. दासले गरेको अनुसन्धानको वैज्ञानिक आधार पुग्ने देखिँदैन। उनले कोरोना भाइरसविरूद्ध औषधि विकास गर्ने कुरामा भाइरसकै नमूना पनि प्रयोग गरेका छैनन्। भाइरसको प्रकृतिबारे लेखहरू अध्ययन गरेर उनले यो मोडल तयार गरेका हुन्। आवश्यक परे दरिलो वैज्ञानिक आधार पेस गर्नसक्ने दासको दाबी छ।

परिषदसँग कुरा भएपछि डा. दास वैज्ञानिक आधारहरू तयार पार्न जुटेका छन्। उनले सेतोपाटीसँग भने, ‘भर्खर परिषदसँग कुरा भयो। उहाँहरूले यो काम गर्न के-के गर्नुभयो सबै कुरा बुझाउनुपर्छ भन्नुभएको छ। म त्यही जुटाउन लागिपरेको छु।’अब दासले अनुमति पाएर दोस्रो चरणको क्लिनिकल टेस्ट गरेपछि मात्र उनले बनाएको औषधिको मोडल सफल भए/नभएको टुंगो लाग्छ। अहिले नै दासले बनाएको कोरोनाविरूद्धको औषधि परीक्षण सुरू भयो भन्नु हतारो हुन्छ। यसले मानिसमा ठूलो भ्रम सिर्जना गर्ने विज्ञहरूको तर्क छ।sourec: setopati

बुधबार, जेठ २८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया