खबर ठुलो छ

तीन दिनदेखि पखाला चलेर शिथिल भएका चारमहिने शिशु शिवम् सदा आमाको काखमा लमतन्न छन् । उनकी १७ वर्षीया आमा राधादेवी घरि शिवम्को अनुहार हेर्छिन् घरि आगो नबलेको चुलो हेरेर टोलाउँछिन् । अघिल्लो रात भोकै सुतेकी राधाको पेटमा बुधबार साँझ हामीसँग भेट हुने बेलासम्म एक–दुई टुक्रा आँप र अलिकति नुनमात्रै परेको छ र यसको सीधा असर शिवम्‌मा देखिन्छ ।  कैयौं दिनदेखि आगो नबलेको आँगनछेउको चुलो ओसिएको छ, हावाले उडाइदिएपछि चुलोमा खरानीसमेत बाँकी छैन । राधादेवीले डेढ वर्षअघि सप्तरी छिन्नमस्ता गाउँपालिका–३ का लखन सदासँग बिहे गरिन् । चार महिनाअघि उनका छोरा जन्मिए । राधा गर्भवती भएकै बेला पति लखन कमाउन भारतको पन्जाब गए । वृद्ध सासूससुरासँग उनी यतै छुटिन् । साढे दुई महिनाअघि देशमा लकडाउन सुरु भएपछि उनीहरूले गुजारा चलाउन गर्ने सबैतिरका काम ठप्प भए, साथमा पेट भर्ने उपाय पनि रोकियो । लकडाउन लम्बिँदै जाँदा संकट चुलिँदै गयो । पेटभरी खाना नहुँदा राधादेवीले आफ्नो शिशुलाई दूध खुवाउन सकेकी छैनन् । ‘दूध आउनै छोड्यो,’ उनले भनिन्, ‘लकडाउन भएपछि एक दिन पनि पेटभरी खान पाइएन, अहिले त झन् खाने कुरा केही छैन ।’

आमाको दूध नवजात शिशुका लागि सबभन्दा पोसिलो आहार हो । जनस्वाथ्यविद्हरू ६ महिनासम्म आमाको मात्र दूध खुवाउन सुझाव दिइरहेका हुन्छन् । त्यसका लागि सुत्केरी आमाले नै पोसिलो खानेकुरा खानुपर्ने हो, तर राधादेवीले पोसिलो त के पेट भर्नका लागि रुख्खासुख्खा खानसमेत पाएकी छैनन् ।‘घरमा चुलो त बलेको छैन, कहाँबाट बच्चालाई दूध खुवाउनु ?’ उनले दुखेसो पोखिन् । दूध खान नपाउँदा शिवम् सदामा कुपोषणको लक्षण देखा पर्न थालेको छ । ‘बच्चा हेर्दा कुपोषणको लक्षण सुरु भइसकेको जस्तो देखिन्छ,’ पोषण पुन:स्थापना गृह राजविराजकी प्रमुख रश्मि झाले भनिन्, ‘यो बच्चालाई आमाको दूध र पोसिलो खानेकुरा भएन भने गम्भीर असर पर्दै जान्छ ।’ १० दिनअघि कान्तिपुर राधादेवीको घरमा पुग्दा उनी बुधबारभन्दा केही ह्ष्टपुष्ट थिइन् । ‘हाम्रा लागि कोरोना होइन, यो लकडाउनमा भोक नै काल बनेर आएको छ,’ उनले भनिन्, ‘यो बेलामा हामी भोकले छटपटाउँदा कसैले पनि हेरेनन् । ’छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुरमा रहेको नेपाल–भारत सीमा स्तम्भछेउ उनको घर छ । राधादेवीसहित दशगजामा बसिरहेका १५ परिवार लकडाउनअघिसम्म सीमासँगै जोडिएको भारतीय बस्ती न्योरमा गएर ज्याला मजदुरी गर्थे । अहिले लकडाउन छ, पारिपट्टि पाइला राख्न पाउँदैनन्, यताका जनप्रतिनिधिले फर्किएर पनि हेर्दैनन् । यस्तोमा भोकसँग सम्झौता गर्नुको अर्काे विकल्प राधासँग छैन । थाहा छैन, यो लडाइँमा राधा र उनका छोरा शिवम्‌ले जित्छन् या भोकले !

छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलका अनुसार उनी त्यो बस्तीका नागरिकको हालखबर बुझ्न साताअघि दशगजा पुगेकी थिइन् । आफ्ना मतदाताको घरमा चुलो नबलेको उनले देखेकी पनि हुन् । ‘मैले हेरेर आएकी छु,’ मण्डलले कान्तिपुरसँग भनिन्, ‘अब केही दिनमा राहत पुर्‍याइदिन्छु ।’ पटकपटक नाम लेख्नमात्र आउने तर खाना या कामको उपाय लिएर नआउने जनप्रतिनिधि देखेर यी नागरिकको मन असाध्यै दुखेको छ । ‘पटकपटक नाम लेखेर लगे, तर अहिलेसम्म कोही राहत दिन आएका छैनन्,’ सोही ठाउँकी विन्दादेवी सदाले भनिन्, ‘कति छाक भोकै बस्यांै, कति छाक त अरूको बगैंचाबाट ल्याएको काँचो आँप र नुन खाएर दिन काट्यौं, आजै पनि काँचो आँप र नुनबाहेक पेटमा केही परेको छैन ।’ ‘बालबच्चा भोक लाग्यो भनेर रुन्छन्, उनीहरूभन्दा धेरै मेरै मन रुन्छ,’ विन्दादेवीले भनिन् । चार सन्तानकी आमा विन्दादेवीको पनि आँगनमा रहेको चुलो नबलेको साता बढी भयो । ‘नजिकको बस्तीमा गएर मागेर केही पाए खाने हो,’ उनले भनिन्, ‘अहिले त कसैले आँगनमा टेक्न पनि दिन्नन, हात जोडेर बिन्ती गरेपछि कसैले दिए भने ल्याएर छोराछोरीलाई खुवाउने हो ।’ तर उनीहरूको बिन्ती सबैले सधैं सुन्छन् भन्ने छैन । त्यसैले माग्न जाँदा अन्नभन्दा धेरै अपमान बोकेर फर्किन्छन् विन्दाहरू । ‘तपाईं सरकारलाई केही भन्न चाहनुहुन्छ ?’ कान्तिपुरको यो प्रश्नमा विन्दाले उल्टै प्रश्न गरिन्, ‘हाम्रा लागि खोइ कहाँ छ र सरकार ?’

मुसहर र चमार टोलको अवस्था पनि फरक छैन । छिन्नमस्ता–५ का लुचाई सदा बिरामी भएर थला परेको दुई महिना भएको छ । तातो तेल आँखामा परेपछि दुवै आँखा देख्न नसक्ने भएका ६० वर्षीय लुचाई सदालाई घरमा सुताएर छाक टार्ने जोहो गर्न काममा जाने गरेकी उनकी श्रीमती गीतादेवी लकडाउनका कारण घरमै थुनिएकी छन् । ६ सन्तान र बिरामी पतिको भोजनको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी अहिले गीतादेवीको काँधमा छ । तर कतै पनि काम नपाउने र सरकारीस्तरबाट राहत पनि नपाउँदा यो परिवार पनि भोकले पिरोलिएको छ ।

‘हामीलाई हेर्ने कोही छैन,’ गीतादेवीले भनिन्, ‘हाम्रा बालबच्चा भोकका कारण बिरामी पर्दै गएका छन्, यस्तो दु:ख दिनुभन्दा बरु हामीलाई गोली हानेर मारिदेऊ ।’ यो टोलमा मात्र मुसहरका सयभन्दा बढी घर छन् । अधिकांश स्थानीय तहले दोस्रो चरणको राहत बाँड्न सुरु गरिसक्दा छिन्नमस्ता गाउँपालिकामा पहिलो चरणको राहत दिनसमेत सुरु गरिएको छैन । मजदुरीबाहेक बाँच्नका लागि अरू कुनै उपाय नभएका नागरिक छटपटाएको स्थानीय जनप्रतिनिधिले देखे/नदेखेझैं गरिरहेछन् । उपप्रमुख मण्डलले त आफ्नो गाउँपालिकामा कोही पनि भोकै नरहेको दाबी गरिन् ।

मुसहर बस्तीका यी नागरिकले अलि हुनेखानेसँग ऋणपान गरेर गुजारा चलाउने उपाय नसोचेका होइनन् । सुरुसुरुमा ऋण पत्याउने मान्छे पनि भेटिन्थे, अहिले त्यो पनि छैन ।
स्थानीय मन्झादेवी सदाले भनिन्, ‘अब त ऋण पनि कसैले विश्वास गर्दैनन्, सरकारले पाल्न सक्दैन भने हामीलाई काम गर्ने ठाउँ मिलाइदिए हुन्थ्यो ।’

गाउँपालिकामा प्रदेश सरकारले राहतका लागि भनेर पठाएको १० लाख रुपैयाँ आएको थियो । त्यो रकमबाट किनेको खाद्यान्न सबैभन्दा गरिब बस्तीमा भने पुग्दै पुगेन । उपाध्यक्ष मण्डलका अनुसार राहत बुझ्ने उनीहरूको पालो आएकै छैन । उनले भनिन्, ‘१० लाख रुपैयाँको राहत आएको छ, पालोअनुसार बाँडिन्छ, अहिले वडा नम्बर १ मा बाँड्ने योजना बनाउँदैछौं, रोलक्रमअनुसार बाँड्दै गइन्छ नि ।’ उनै मण्डलका अनुसार गाउँपालिकामा सबैभन्दा धेरै गरिब भने यही मुसहर बस्ती रहेको वडा नम्बर ३ र ५ मा छन् ।

जमिन्दार मोहन दासको जग्गामा घर बनाएर बस्दै आएका लोखरमका मुसहरहरू भोकसँगको लडाइँ अब आफूहरूले जित्न नसक्ने अवस्थामा पुगेको बताउँछन् । पहिलेदेखि नै अनेकन समस्याले पीडित मुसहर समुदायमा कुपोषण र मृत्युदर यसै पनि उच्च छ । मजदुरी गर्ने बाहेक माछा मार्ने, मंसिरको महिनामा दुलो खोज्दै मुसा मारेर मासुको स्वाद चाख्न अझै पनि यो समुदाय बाध्य छ । ‘तर अहिले मुसा खोज्ने अवस्था पनि छैन,’ स्थानीय बुदीलाल सदाले भने ।

सप्तरी, सिरहा, धनुषा र मोरङमा मुख्य बसोबास रहेको मुसहर समुदायको जनसंख्या ०६८ सालको राष्ट्रिय जनगणनाअनुसार २ लाख ३४ हजार ४ सय ९० रहेको छ । तीमध्ये सहरी क्षेत्रमा ११ हजार ६५ र ग्रामीण क्षेत्रमा २ लाख २३ हजार ४ सय २५ मुसहर बसोबास गर्छन् । उक्त जातिका अगुवाहरू भने आफूहरूको जनसंख्या १० लाखभन्दा बढी रहेको बताउँछन् ।

बास न गाँस हुने पीर

छिन्नमस्ता–५ लोखरमकै चमार टोलमा लकडाउनका बेला दोहोरो पीडा छ । स्थानीय जमिन्दार मोहन दासकै जग्गामा घर बनाएका उनीहरूले चार पुस्ता अगाडि नै जमिन्दारको घरमा नोकर बसी पैसा तिरेका थिए । लकडाउनभन्दा केहीअघि तिनै जमिन्दार मोहन दासकी बुहारीले मुद्दा हालेपछि स्थानीय चमारहरू उठिबास हुने चिन्तामा छन् । ‘एकातर्फ लकडाउनले भोको पेट छ, अर्कातिर घरको छत पनि गुम्ने अवस्था आएको छ,’ ७० वर्षीय खुसीलाल रामले भने, ‘चार पुस्ताअघि नै हाम्रा पुर्खाले पैसा तिरे, त्यति बेला हामीलाई पास गरिदिएनन्, अहिले जमिन्दारकी बुहारीले अदालतमा मुद्दा हालेर हाम्रो उठिबास गराउँदै छिन् ।’ ९ कट्ठा जग्गामा त्यहाँ चमार जातिको बस्ती छ । सिनो बहिष्कार आन्दोलनपछि फेरिएको चमार जातिको जीवनशैलीका कारण अहिले उनीहरू वैदेशिक रोजगारीसँगै मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । ‘हाम्रो त उद्धार गर्नुपर्ने बेला आएको छ,’ वृद्ध खुसीलालले भने, ‘लकडाउनका बीच पेट पाल्नै गाह्रो भयो ।’ ‘लकडाउन सुरु भएपछि ऋणको भार हामीमाथि थपिँदै गएको छ,’ स्थानीय जोगिन्दर रामले भने । बस्तीमा २ हजारदेखि १० हजारसम्म ऋण थपिएका परिवार धेरै भएको उनले बताए । ‘पानी खाएर ज्यान जोगाइरहेको छु,’ उनले थपे, ‘मलाई पेटभरी खान मन छ ।’

कहाँ जान्छ राहत ?

सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना नियन्त्रण र राहतका लागि केन्द्र सरकारको झन्डै १० अर्ब रुपैयाँ खर्च भइसकेको छ । प्रदेश २ ले पनि दुई चरणमा राहत वितरण सकिसकेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले विपन्न र गरिबलाई पहिलो चरणमा राहत वितरण गर्ने भनेर प्रत्येक गाउँपालिकालाई १० लाख, नगरपालिकालाई १५ लाख, उपमहानगरपालिकालाई २० लाख र महानगरपालिकालाई २५ लाख रुपैयाँ वितरण गरिसकेको छ ।

त्यसपछि फेरि दोस्रो चरणमा प्रत्येक वडाका ६० जना अति विपन्न परिवारलाई २५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल, आधा किलो सोयाबिन दिनुपर्ने भन्दै प्रत्येक जिल्लालाई २ करोडका दरले रकम विनियोजन गरी राहत वितरण भइसकेको मन्त्री साहले बताए । तर सप्तरीका अति विपन्न परिवार पहिलो चरणकै राहत नपाउँदा भोकभोकै छटपटाइरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाटै ‘अब देशमा कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भनेर घोषणा गरेको जानकारी यी बस्तीका नागरिकलाई पनि छ ।

शुक्रबार, जेठ २३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया