खबर ठुलो छ

महाकाली नगरपालिका–४ का रामजती बोहराले बन्दाबन्दी भएपछि झण्डै दुई साता घरमा आराम गर्नुभयो । शुरुमा बन्दाबन्दी कमै होला केही विकल्प भइहाल्छ नि भन्ने सोच्नुभएको थियो, तर बन्दाबन्दीको समय थपिएको थपियै भएपछि उहाँलाई दैनिकी गुजार्न धौधौ हुन थाल्यो । अरु बन्दाबन्दी भयो भनेर कोही घरमै बसे । कोही गाउँको घरतिर लागे तर बोहराको दैनिकी बन्दाबन्दीमा पनि उस्तै छ । बोहराको पुख्र्यौली घर बैतडी हो । विसं २०५४ मा परिवारसहित बोहरा दार्चुलामा मजदुरी गर्न आएका हुन् । त्यो बेलादेखि उहाँको परिवार खलङ्गामै छ । दुई छोरी, एक छोरा र बूढाबूढीको परिवारको जागिर केही छैन । छ त केवल महाकाली नदीको बालुवा । बन्दाबन्दीले बैतडी जान पनि सकेको छैन । उहाँले बैतडीको सबथोक छाडेर आएको दुई दशक बढी भयो । आजकल बोहराका श्रीमान् बिसनसिंह र राजमती महाकाली नदी किनारमै हुन्छन् । बन्दाबन्दी भएपछि बोहरा परिवारमा झन् बढी कामको बोझ बढेको छ । नदीको मध्यभागसम्म पुगेरै अहिले पनि बालुवा सङ्कलन गर्ने काम भइरहेको राजमतीले बताउनुभयो । अहिले त हामी १०÷१५ जना दैनिक नदीबाट बालुवा निकाल्छौँ, तर बन्दाबन्दी अघि झण्डै दुई÷तीन सय परिवारले बालुवा निकाल्दै आएका थिए । “बालुवा न निकाल्ने हो भने छोराछोरीको पढाइ खर्च, घरभाडा र दैनिक चुलो केबाट बाल्नु ?”, उहाँले भन्नुभयो, “मासिक रु दुई हजार भाडा तिर्ने गरी दुई कोठा भाडामा लिएका छौँ ।”, शुरुमा रु दुई प्रतिकट्टा बालुवा बिक्री हुन्थ्यो, अहिले नदीबाट निकाल्ने बित्तिकै रु ६० प्रतिकट्टा पुगेको छ । रामजतीले भन्नुभयो, “कहिलेकाहीँ भारी बोकेर पनि गुजारा हुन्थ्यो, अहिले बन्दाबन्दीले भारी बोक्न नपाइने भएपछि सपरिवार बिहान–बेलुकी यही महाकाली बगरमा बालुला निकाल्छौँ ।” बगर क्षेत्रमा सङ्कलन गर्न रोक लगाइएको छ । तटबन्धको संरचना भत्किने भन्दै बगर क्षेत्रमा बालुला निकाल्न नदिएपछि नदीको बीच भागसम्म पुगेर बालुवा निकाल्नुपरेको उहाँले बताउनुभयो । केही वर्ष यता धेरै मानिस गिट्टीबालुवामै निर्भर भएपछि बालुवा पनि कम हुँदै गएको छ । अहिले बन्दाबन्दीका करणले महाकाली किनारमा बालुवा सङ्कलन गर्नेहरु सङ्ख्या केही कम भएको छ । कुनै दिन बिहान ४ बजे उठेर महाकाली नदीबाट बालुवा निकाल्ने गरेको रामजती बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो हाम्रो बाध्यता हो । काम नगरे बन्दाबन्दीमा के खानु ? राहतको नाममा झण्डै यो तीन महिनाभित्र २५ किलो चामल पाएको रामजतीले बताउनुभयो । उहाँ भन्नुहुन्छ– यही बालुवामा काम नगर्ने हो भने त्यो राहतले कहाँ पुग्नु ? दोस्रोपटक राहत दिने सुरसार केही छैन ।” उहाँको मात्र होइन, महाकाली नगरपालिका–१ का ६० वर्षीया द्रोपती धामीको पनि कथा उस्तै छ । उमेर ढल्के पनि महाकाली नदीमा गएर एक–एक कट्टा बालुवाको भारी थुपार्दै बालुवा बिक्री गर्नुहुन्छ । विसं २०७० को बाढीले १६ कोठा भएको घर बगाएपछि धामी अहिले बालुवा बोकेर परिवारको जोहो गर्नुहुन्छ । “बाढीले घर बगायो रु ३५ हजार राहत पाइयो । अहिले बन्दाबन्दीको तीन महिना हुनथाल्यो, २५ किलो राहत पाएका छौँ । यो राहतले पाँच जनाको परिवार कसरी चल्छ”, धामीले भन्नुभयो, “वर्षौँको मेहेनतले बनाएको घर क्षणभरमै महाकालीमा विलय भयो । बाढीले घर बगाएदेखि माथि उठ्न सकेका छैनौँ । धनीले महल बनाइसके, अरुबाट पनि राहत लिए, हामी गरिबलाई कसले हेथ्र्यो ।” “त्यही बालुवा बिक्री गरेको पैसाले छोराछोरी पढाउँछु, घर खर्च चलाएको छु । छोरा काठमाडौँ पढाउँदैछु । छोराले पैसा पठाइदेऊ भन्छ”, उहाँले भन्नुभयो, “अहिले बन्दाबन्दीले खर्च कसरी पठाउनु । घर बगायो केही पाएनौँ, भएको सम्पत्ति महाकालीले बगायो, अहिले त्यही महाकालीको बालुवा सङ्कलन गरी घरपरिवारको जोहो चलेको छ ।” जिल्लाभरि सयौँ व्यक्तिको अहिले बन्दाबन्दीले घरमा चुलो बाल्न समस्या भएको छ । बालुवा–गिट्टी गर्ने, भारी बोकेर परिवारको आर्थिक जोहो गर्ने परिवारलाई अहिलेको बन्दाबन्दीले समस्या पार्न थालेको छ । लामो समयसम्म पनि बजार नखुल्दा मजदुरी गरी खाने परिवार समस्यामा रहेका हुन् । स्थानीय तहले एक चरणमा मात्रै राहत वितरण गर्दा गरिब घरमा अहिले गुजारा चलाउन समस्या भएको छ ।

बिहिबार, जेठ २२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया