सोमबार, जेठ १९, २०७७ || 631  पटक पढिएको

युरोपेली मुलुकहरूले कोरोना भाइरस (कोभिड–१९) बाट बच्नको लागि जारी लकडाउन सोमबारदेखि खुकुलो बनाउने तयारी गरेका छन् ।युरोपका सबैजसो मुलुकले लकडाउन हटाउने वा खुकुलो पार्ने काम तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।युरोपेली मुलुकहरूमध्ये केहीले लकडाउनको अन्त्य नै गर्ने तयारी गरेका छन् भने केहीले खुकुलो बनाएर लकडाउन जारी राख्ने निर्णय गरेका छन् । लकडाउन खुकुलो बनाउने र हटाउने मुलुकहरू निम्नानुसार छन् ।

ग्रिस

मे २५ देखि रेस्टुरेन्ट र क्याफेहरू खुला गरिसकेको ग्रिसले सोमबारदेखि सीमित अन्तर्राष्ट्रिय उडानका लागि अनुमति दिने भएको छ । जुन १५ बाट २९ मुलुकबाट आउने पर्यटकलाई मुलुकमा प्रवेश गर्न अनुमति दिने तयारी गरेको छ । ग्रिसले जुलाई १ देखि अन्तर्राष्ट्रिय उडान थप खुकुलो बनाउने भएको छ । तर, मुलुकमा आउने पर्यटकको अनिवार्यरुपमा कोरोना परीक्षण गराउनुपर्नेछ । कोरोना भाइरसको संक्रमण नदेखिएका पर्यटकले पनि सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ ।

फ्रान्स

क्याफे, बार र रेस्टुरेन्टहरू मंगलबारदेखि खुल्नेछन् । यद्यपि १० जनाभन्दा धेरै मानिसहरू भेला हुन भने पाइने छैन । कुनै पनि स्थानमा पाँच हजारभन्दा बढी मानिसलाई राख्न पाइने छैन र भौतिक दुरीको नियम अनिवार्यरुपमा पालना गराइनुपर्नेछ । फ्रान्समा शनिबारदेखि नै पार्कहरू खुलिसकेका छन् ।

इटाली

बुधबारदेखि इटालीमा लगाइएको अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध हटाइने छ । मानिसहरूलाई मुलुकका विभिन्न क्षेत्रहरूको बीचमा भ्रमण गर्न अनुमति मिल्नेछ । इटालीमा पनि यसअघि नै आंशिकरुपमा लकडाउन खुकुलो बनाइएको थियो ।

स्पेन

स्पेनमा सोमबारदेखि करिब ७० प्रतिशत मानिसहरूको लागि लगाइएको लकडाउन खुकुलो हुनेछ । यससँगै उनीहरूले फरक–फरक परिवारमा बढीमा १५ जनासम्म मानिसको भेलामा सामेल हुन पाउनेछन् । केही रेस्टुरेन्ट, स्टोर, सिनेमा र संग्रहालय पनि खुल्नेछन् । तर यस्ता क्षेत्रमा निकै कम संख्यामा मात्र मानिसहरू जान पाउनेछन् । राजधानी सहर रहेको मेड्रिड क्षेत्रको लकडाउनको लागि भने पहिलो चरणअनुसारकै व्यवस्था कायम रहनेछ ।

डेनमार्क

जर्मनी, नर्वे र आइसल्याण्डबाट आउने पर्यटकलाई डेनमार्कमा जुन १५ देखि प्रवेश गर्ने अनुमति दिइनेछ ।

इङ्गल्याण्ड

इङ्गल्याण्डमा त्यहाँको सरकारले सोमबारदेखि ६ जनासम्मलाई भेला हुन दिने भएको छ । यद्यपि भौतिक दुरी कायम राख्ने नियम भने कडाइका साथ पालना गर्नुपर्ने हुन्छ । भर्खरै नर्सरी वा विद्यालय जान थालेका साना बालबालिकाका लागि विद्यालय पनि खुल्नेछन् । साथै जिम, पुल र खेलकुदका गतिविधिहरू पनि सञ्चालनको लागि अनुमति दिइएको छ । बाहिरी बजार र कार सोरुमलाई पनि खोल्न दिइनेछ ।

वेल्स

वेल्समा सोमबारदेखि दुई फरक परिवारका मानिसहरूले बाहिर भेट्न पाउने व्यवस्था गरिएको छ ।

स्कटल्याण्ड

स्कटल्याण्डमा सोमबारदेखि फोहोर प्रशोधन केन्द्रहरू खोल्ने तयारी भइरहेको छ । साथै शिक्षकहरूलाई अगष्ट ११ देखि विद्यालय सञ्चालनको तयारी गर्न विद्यालय जाने अनुमति दिइएको छ । बुधबारदेखि बाल स्याहार केन्द्रहरू खुल्नेछन् । यद्यपि बालबालिकाको संख्या भने सीमित हुनुपर्नेछ ।

नेदरल्याण्ड्स

सोमबारदेखि नेदरल्याण्ड्समा पनि आंशिकरुपमा लकडाउन खुला गरिएको छ । संग्रहालय, क्याफे, रेस्टुरेन्टलगायतका क्षेत्रहरू पनि खुल्नेछन् । यद्यपि भौतिक दुरीको नियम पूर्णरुपमा पालना गर्नुपर्नेछ । त्यस्तै, कुनै पनि भवनभित्र ३० जनाभन्दा बढी ग्राहकलाई राख्न पाइने छैन । सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

स्रोत : सीएनएन, बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!