विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट आइतबारसम्म ६० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो पटक ब्राजिलमा दैनिक संक्रमितको संख्या निकै बढी देखिएको छ । दक्षिण अमेरिकी मुलुकहरुमा आउँदो सप्ताह पनि निकै सकसपूर्ण हुने अनुमान गरिएको छ । कोरोनाभाइरस संक्रमितको संख्या वा मृत्यु हुने व्यक्तिको संख्यामा कमी आउने कुनै लक्षण देखिएका छैनन् । खासगरी ब्राजिलमा राष्ट्रपति जेयर बोल्सोनारो र अरु प्रमुख नेताहरुबीच नै भाइरसलाई लिएर मतभिन्नता कायमै छ ।

ब्राजिलमा संयुक्तराज्य अमेरिकापछि सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित छन् । यहाँ संक्रमितको संख्या पाँच लाख नाघिसकेको छ भने मृत्यु हुने व्यक्तिको संख्या ३० हजार पुग्न लागेको छ । कोरोना प्रसार रोक्न जारी लकडाउन यथावत राख्ने वा हटाउने भन्नेमा नेताहरुबीच मतैक्य हुन सकेको छैन । राष्ट्रपति जेयर बोल्सोनारोको विचारमा लकडाउनबाट अर्थतन्त्रमा पुग्ने असर भाइरस भन्दा खतरनाक हुनेछ । उहाँले मुलुकका गभर्नर र मेयरहरुलाई लकडाउनको विकल्प खोज्न निरन्तर आग्रह गरिरहनु भएको छ ।

विश्वभर कोरोनाका कारण तीन लाख ६८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएसँगै संयुक्तराज्य अमेरिका, युरोप र एसियाका धेरै मुलुकले लकडाउन हटाउने वा जनजीवनलाई खुकुलो बनाउनेतिर ध्यान दिन थालेका छन् । युरोपेली युनियनले एक विज्ञप्ति प्रकाशन गरी देशहरुबीच थप सहयोग बढाई सामूहिक समाधान खोज्न आग्रह गरेको छ । जर्मनीका स्वास्थ्य मन्त्री हेन्स स्पाहनले विश्व स्वास्थ्य संगठनको सहयोग कटौती गर्ने अमेरिकी प्रशासनको निर्णय निकै निराशाजनक रहेको प्रतिक्रिया दिनु भएको छ । यसैबीच राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा अर्को महिनाका लागि डाक्नु भएको जी७ को बैठकमा जर्मन चान्सलर एन्जेला मर्केल सहभागी नहुने घोषणाले पनि विश्व जनमत अझै विभाजित रहेको देखाउँछ ।

कोरोनाभाइरसको प्रसार रोक्ने प्रयासस्वरुप जारी लकडाउनले जनजीवन र अर्थव्यवस्था तहसनहस हुन लागेको भन्दै धेरै मुलुकले लकडाउनलाई खुकुलो बनाउन थालेका छन् । केही विज्ञहरुले लकडाउन खोल्नासाथ दोस्रो चरणको भाइरस प्रसार हुने खतरा औंल्याएका छन् । सोमबार लकडाउन हटाउने तयारी गरेको बेलायतमा सरकारका वरिष्ट सल्लाहकारहरुले लकडाउन खोल्न हतारिनु नहुने प्रतिक्रिया दिएका छन् । कोरोनाभाइरसका संक्रमितको संख्या डरलाग्दो गरी बढेको देखिए पनि भारतले शनिबार आगामी जुनको पहिलो सातासम्ममा लकडाउन खोल्नेगरी तयारी गरेको घोषणा गरेको छ ।

इरानमा पनि मस्जिदहरुमा सामूहिक प्रार्थनाका लागि खुला गर्न सकिने घोषणा गरेको छ । जेरुसेलमको अल–अक्सा मस्जिदको परिसर पनि प्रार्थनाका लागि आइतबार पुनः खुला गरिएको छ । संयुक्तराज्य अमेरिकी राजधानी वासिङ्टनमा रेस्टुराँहरु खुल्न थालेका छन् भने लस एन्जलसमा पनि रेस्टुराँ र सैलुनहरु खुलेका छन् । करिब २१ हजार ५०० व्यक्तिको मृत्यु भएको न्यूयोर्क शहर अगामी जुन ८ तारिखदेखि खुला हुँदैछ । अमेरिकामा कोरोनाभाइरसबाट एक लाख ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने झण्डै १७ लाख मानिस संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!